लगानीकर्तासँग अर्थमन्त्रीकाे सम्वन्ध मैत्रीपूर्ण देखिएन,शर्माको व्यवहारले निराश भए शेयर लगानीकर्ता

Mar 13, 2022 11:34 AM merolagani



सुवास निरौला

जब जनार्दन शर्मा अर्थमन्त्रीको पदमा आसीन भए त्यस बेला सबैतिरबाट अब केही होला भन्ने अपेक्षा गरिएको थियो। आम सर्वसाधारणदेखि राजनीतिक तहमा समेत उनले केही गर्लान् भन्ने अपेक्षा  थियो।

किनकि यस अघि उनले ऊर्जा मन्त्रालय समाल्दै गर्दा मुलुकले अन्धकारबाट मुक्ति पाएको थियो। उनले १८ घण्टासम्म चल्ने गरेको लोडसेडिङ अन्त्य गराइदिएका कारण पनि उनीप्रति धेरैको अपेक्षा बढेको थियो।

अपेक्षा गर्ने समूह मध्ये एक समूह शेयर लगानीकर्ताहरूको पनि थियो। उनीहरूले पनि शर्माबाट राम्रै अपेक्षा गरेका थिए। भलै कम्युनिस्ट त्यसमाथि पनि माओवादीको पूँजी बजारलाई हेर्ने दृष्टिकोण अलि संकुचित हुन्छ। तर पनि बदलिँदो परिस्थितिकाबीच यो क्षेत्रलाई हेर्ने दृष्टिकोण शर्मामा थोरै फराकिलै होला भन्ने अपेक्षा लगानीकर्ताको थियो।  

हुन पनि अर्थमन्त्री शर्माले सुरूका दिनमा लगानीकर्तालाई दिने गरेको भेटमा राम्रै प्रस्तुति दिने गरेका थिए। जसले गर्दा पनि उनी पूँजी बजार मैत्री नै होलान् भन्ने भान लगानीकर्तालाई पर्‍यो। तर जब मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ४/१२ को नीति अघि सार्‍यो त्यसपछि भने मन्त्री शर्मा प्रति बिस्तारै लगानीकर्ताको विश्वास घट्न थाल्यो। किनकि त्यसपछि भेट गर्न गएका लगानीकर्तालाई उक्त नीति ठिक नभएको र त्यसलाई सच्याउन आफूले पहल गर्ने आश्वासन समेत बाँड्न थाले। तर उनले दिएको आश्वासन अनुसार नै होला भनेर पहिलो मौद्रिक नीतिको समीक्षासम्म आशा गरेका लगानीकर्ताले त्यसमा समेत सम्बोधन नगरिएपछि भने अर्थमन्त्री शर्मालाई पत्याउन छाडे।

यति बेला अर्थ मन्त्री शर्मालाई लगानीकर्ताले हेर्ने दृष्टिकोण पुरै परिवर्तन भएको छ। यति बेला लगानीकर्ताहरू अर्थमन्त्रीलाई भेट्न समेत रुचाउँदैनन्। उनमा देखिएको परिवर्तन र उनले लगानीकर्तालाई भेटमा गर्ने गरेको व्यवहारले उनीहरूले भेट्न नरुचाएका हुन्। पछिल्ला दुई महिनामा शर्माले ठूला शेयर लगानीकर्ता र शेयर बजारका अगुवाहरूलाई गर्ने गरेको व्यवहार भद्दा किसिमको हुने गरेको गुनासाे बढेकाे छ। 

करिव एक महिना अघि लगानीकर्ता दीपेन्द्र अग्रवाल,सुशील लुनिया र उपेन्द्र पाठक अर्थमन्त्री शर्मालाई भेट गर्न गएका थिए। उनीहरूले नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डमा प्रमुख नियुक्ति ढिलाइले पुर्याउदै गएको असर र सरकारले यस अघि गर्ने भनेको ५८ बुँदे माग दोहोर्‍याएका थिए। जसलाई सुनेर अर्थ मन्त्री शर्मा आश्वासन दिनुको सट्टा उनीहरूलाई नै साइजमा ल्याउने गरी चर्किए।

अर्थमन्त्री शर्मा दीपेन्द्र अग्रवालमाथि सोझै खनिए “तपाई जस्तो मानिसको अनुसन्धान हुनु पर्छ। मार्केटबाट अर्बौ रुपैयाँ कमाउनु भएको छ। अझै यहाँ आएर यो भएन त्यो भएन भन्ने ? तपाईहरूले कहाँ कहाँबाट के कति रकम कमाउनु भएको छ,त्यो सबै हामीलाई थाहा छ। त्यसको अनुसन्धान गर्छौ” शर्माको भनाई उद्धृत गर्दै उक्त समयमा उपस्थित तीन मध्ये एक लगानीकर्ताले मेरो लगानी सँग भने।

शर्मा जसरी अग्रवाल माथि खनिए। अग्रवाल पनि चुप लागेर बसेनन्। उनले पनि सहजै रुपमा शर्मालाई जवाफ फर्काइदिए। “हो सर, हाम्रो एक एक पैसाको अनुसन्धान हुनु पर्छ। त्यसैको लागि त राज्य छ। तर त्यसको पनि अनुसन्धान गर्नु होला जो जङ्गलबाट हातीछाप चप्पल लगाएर काठमाडौँ आए। हामीमाथि राज गरे। अहिले महल ठड्याएका छन्। तिनीहरूमाथि पनि अनुसन्धान हुनु पर्छ। हामी मात्र किन ?” अग्रवालको भनाइ उद्धृत गर्तै ती लगानीकर्ताले भने।  

त्यसपछि मन्त्री थोरै लच्किएका थिए। लगानीकर्ताले पनि उक्त भेटमा कुनै पनि लगानीकर्तामाथि जबरजस्ती अनुसन्धान गरे माओवादीको पत्तासाफ हुने चेतावनी थिए। लगानीकर्तालाई यसरी शर्माले भनेको पहिलो पटक थिएनन्। यस अघि ५८ बुँदे कार्यान्वयन गर्न भन्दै शेयर लगानीकर्ताले सुरु गरेको आन्दोलनको अगुवाइ गरिरहेका उद्योग वाणिज्य महासँघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई पनि अर्थमन्त्री शर्माले यसरी नै हताेत्साही बनाएका थिए। 

शर्माले शेयर लगानीकर्तालाई मात्रै नभएर कुनै पनि माग लिएर जाने सबै व्यवसायी कर,अख्तियार, सम्पत्ति शुद्धीकरण कुरा उठाइदिने गरेको ती लगानीकर्ताको भनाई छ। जसले गर्दा अहिले व्यवसायी वा लगानीकर्ता उनलाई भेट्न गएर टाउको दुखाउनु भन्दा उनीसँग कुरै गर्न रुचाउँदैनन्। “अहिले व्यवसायिक वातावरण नै छैन। ठूला लगानीकर्ता व्यवसायीहरू उनीहरूका खिलाफ बोल्न सक्दैनन्। किनभने उनीहरूले ठूला लगानीकर्ताहरुलाई डर देखाउँछन्,धम्काउँछन्। तेरो कम्पनीमा रेड गराइदिन्छु,अख्तियारमा हाल्न लगाइदिन्छु।सम्पत्ति शुद्धीकरणमा हाल्न लगाइदिन्छु। त्यसो भनेपछि उनीहरू चुप लागेर हात जोडेर कुरा गर्न बाध्य भएका छन्” ती लगानीकर्ताले भने। 

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।