धेरैकाे जीवनस्तर उकास्दै लघुवित्तहरु, इच्छाशक्ति भएका तर पूँजी नभएकाहरुलाई उद्यमी बनाउँदै

Apr 28, 2022 11:34 AM Merolagani



लघुवित्त वित्तीय संस्थाहरुले न्यून आय भएका सर्वसाधारणहरुलाई उद्यमी बनाउन सहयोग गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बिना धितो थोरै थोरै रकम ऋण दिएर न्यून आय भएकाहरुलाई उद्यमी बनाउन सहयोग गरेका हुन् ।

सुरु गरेको लघु उद्यम व्यवसायलाई विस्तार गर्दै लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले आफ्नो जीवन स्तर समेत उकास्दै छन् । स्याङ्जा, वालिङ २ तिलडाँडाकी हुमकुमारी सार्की लघुवित्त संस्थाबाट कर्जा लिएर उद्यमी बनेकी एक उदाहरण हुन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका चार वर्ष भएपनि उनी कर्जा लिएर व्यवसाय शुरु गरेको भने धेरै भएको छैन् । उनले व्यवसाय विस्तार गरेको करिब दुई वर्ष मात्रै भएको छ ।

शुरुमा १० वटा बंगुर पालन गरेकी उनले अहिले २१ वटा पुर्याएकी छिन् । यस बीचमा उनले ३० वटा बंगुर बेचर आम्दानी समेत गरिसकेकी छिन् । प्रति बंगुर ५० हजार रुपैयाँको दरले १५ लाख रुपैयाँ आम्दानी गरेको उनको भनाई छ ।

‘१० महिनामा मात्रै बंगुर बेचर १५ लाख रुपैयाँ कमाए । दाना पानीको लागि ५ लाख रुपैयाँ खर्च छुट्टाए पनि १० लाख रुपैयाँ चोखो बच्यो,’ उनले भनिन्, ‘बंगुर बेचरै आम्दानी भएको पैसाले बुटवलमा जग्गा किनेको छु ।’

छोटो अवधीमा राम्रो आम्दानी भएपछि उनी उत्साहित छिन् । दश महिनामा नसोचेको रकम आम्दानी भयो । मलाई यसले गर्दा पनि व्यवसाय विस्तार गर्न थप हौसला मिलेको छ । उनले भनिन्, ‘अझै व्यसाय विस्तार गर्ने तयारी छ ।’

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा आवद्ध हुनु अघि आर्थिक अवस्था नाजुक रहेको उनले अहिले राम्रो आम्दानी गरिरहेकी छन् ।

पहिला कर्जा नपाएर भौतारिदै हिडेको क्षण उनलाई सपना जस्तै लाग्छ । विगतको भोगाई सम्झिदै उनी भक्कानीइन् । ‘हाम्रो आर्थिक अवस्था साह्रै नाजुक थियो । श्रीमान विदेशमा भएपनि मासिक १० हजार रुपैयाँ मात्रै कमाई हुन्थ्यो । त्यहि पैसाले घर चलाउनेदेखि बालबच्चा समेत पढाउनु पर्दथ्याे । गाँउ घरमा ऋण माग्न जाँदा कसैले पत्याउदैन् थियो,’ गहभरी आँशु पार्दै उनले भनिन्, ‘ऋण माग्दा अनेक कुरा सुन्नु पथ्र्यो । साहुँ भनाउँदाहरुले होच्चाएर बोल्थे । अनेक बचन सहनु पर्दथ्याे ।’

तर अहिले अवस्था फेरिएको छ । कुनै समय ऋणको लागि हात फैलाउने हिड्ने उनी अहिले उद्यमी बनेकी छन् ।

व्यवसाय फस्टाउँदै गएपछि ऋण दिन खोज्नेहरुको लर्को लागेको उनको भनाई छ । ‘अहिले ऋण दिन खोज्नेहरु धेरै हुनुहुन्छ । १० लाख, १५ लाख, २० लाख कति चाहिन्छ ? लानु भन्छन्,’ उनले भनिन्, ‘तर मैले संस्थाबाट मात्रै संस्थाबाट मात्रै ऋण लिएर लगानी गरिरहेको छु ।’

गाँउ घरमा पाउने भन्दा सस्तो व्याजदर र मासिक किस्ता तिर्न सहज हुने भएपछि लघुवित्त संस्थाबाट मात्रै कर्जा लिने गरेको उनको भनाई छ ।

उनले अझै व्यवसाय विस्तार गर्ने सोचमा रहेको बताउछिन् । उनले थप ऋण लिएर बंगुरको व्यवसाय विस्तार गर्दै एक हजार कुखुरा पालन गर्ने तयारी भइरहेको समेत जानकारी गराइन् ।

यस्तै, उनले नजिकैको बजार (बयरघारी) मा मासु पसल खोल्ने तयारी समेत भइरहेको जानकारी गराइन् । ‘आफ्नै उत्पादनलाई बजारीकरण गर्न बजारमा मासु पसल खोल्ने तयारी गर्दैछौं । एउटा छोरालाई पसलको जिम्मा लगाउनु पर्ला,’ उनले भनिन् ।

बंगुर पालन बाहेक उनले तरकारी खेती, कुखुरा पालन, भैसी पालन समेत गरी रहेकी छिन् । तरकारी खेतीबाट मात्रै सिजनमा ५०/६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाई छ ।

लघुवित्त वित्तीय संस्थाहरुले गामिण क्षेत्रमा सेवा विस्तार गरेर धेरै उद्यमीहरु जन्माएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्याङजा, बयरघारी शाखाका शाखा प्रमुख ओम प्रकाश पंगेनीको भनाई छ ।

'कुनै समय घरको काममा मात्रै सीमित हुने महिला दिदी बहिनीहरु अहिले केही न केही व्यवसाय गरि राख्नु भएकाे छ। यो सब लघुवित्त वित्तीय संस्थाहरुकै कारण हो,' उनले भने ।