अध्यक्ष रिजाल रिजालको वाटर ट्यांक,ग्यास, पीपीभीसी पाइपलगायतका सामाग्री उत्पादनका विविध उद्योगहरु सञ्चालन गर्छन् । मोरङ व्यापार संघका अध्यक्ष रिजालसँग आगामी बजेटलगायतको समसामयिक विषयमा मेराे लगानीका बाबुकृष्ण महर्जनले कुराकानी गरेका छन् ।
आगामी बजेटको लागि तपाईहरुको सुझाव के छ ?
बजेटको लागि हामीले क्षेत्रीय रुपमा प्रदेश नं. १ को लागि भनेर केही सुझावहरु दिएका छौं । कम्बर खोलामा जलविद्युत सञ्चालन गर्ने बुँदा सुझावमा राखेका छौं । त्यहाँको पानी शुद्धीकरण गर्ने विषय राखेका छौं । बराह क्षेत्रको चतरा धामलाई बनारसकै मोडलमा धाममा विकास गर्ने भनेका छाै । पाथीभारा देवी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गर्ने पनि भनेका छाै ।
विराटनगर दोस्रो शहर रहेकोमा अहिले छैटौ शहरको रुपमा रुपान्तरण भइसक्यो । पुरानै दोस्रो शहरको रुपमा फर्काउन, सडकमा देखिएका केवलहरुलाई अन्डरवाइरिङ गर्ने, रिङरोड बनाउने, प्रदर्शनीस्थल निर्माण गर्ने,औद्योगिक क्षेत्रको स्थापना गर्ने, ठूला ठूला होटलहरु, व्यापारिक भवनहरु बनाउँदा करमा छुट दिने, व्याज दरमा छुट दिने जस्ता कुराहरु राखेर यो क्षेत्रको विकास गरिनुपर्छ भनेर हामीले सुझाव दिएका छौं ।
जति पनि आधारभुत आवश्यकताका वस्तुहरु छन्, जस्तै सुती कपडा, मानिसहरुले बोर्डर पारी गएर खरिद गर्ने गरेका छन् । दैनिक ६०–८० करोडको सामान भारततिर गएर खरिद गर्ने गरिएको छ । त्यस्ता वस्तुहरु जुन अति आवश्यकीय वस्तु हुन, त्यसको अन्तःशुल्क घटाइनुपर्छ जसले गर्दा त्यस्ता वस्तुहरु नेपालमा पनि सस्तो रुपमा पाइयोस र यसले नेपालकै पनि राजस्व बढ्न सहयोग गर्छ ।
नेपालको सम्पत्ति भनेका पर्यटकीय क्षेत्र, जलविद्युत क्षेत्र र खनिज तत्वहरु हुन । जलविद्युतको कुरामा हामीले के भनेका छौं भने नेपालभरि जति पनि उत्पादनको लाइसेन्स बोकेर बसेका छन, तिनीहरुको लाइसेन्स खारेज गरेर ओपन मार्केटमा ल्याउनुपर्छ । ओपन मार्केटबाट चाहे पीपीपी मोडलमा जाओस,चाहे सरकारले गरोस, एउटा मेकानिज्मको विकास गरेर तुरुन्त शुरु गरिहाल्नुपर्छ । जुन जुन ठाउँको जलविद्युतलाई अपग्रेड गर्न सकिन्छ, त्यहाँ पनि प्रेसराइज गरेर उत्पादन बढाउनका लागि अपग्रेड गरिहाल्नुपर्छ ।
हामीले नेपालमा जति पनि खनिज पदार्थको पहिचान गरेका छौं, तिनीहरुको चाँडो भन्दा चाँडो उत्खनन शुरु गरेर डलरमा बेच्ने अर्को सुझाव पनि दिएका छौं । त्यस्तै अन्य मिनरल्सहरुको पनि खोजी गर्नुपर्छ । कुनै ठाउँमा युरेनियम भेटिएको भनेको छ भने त्यसलाई उत्खनन गरेर बेच्ने चाँजोपाँजो मिलाउनुपर्छ जसले गर्दा नेपालमा विदेशी मुद्रो यथाशीघ्र भित्र्याउन मद्दत गर्दछ ।
पर्यटन क्षेत्रमा देशको सम्भाव्यता धेरै छ । भारतको काश्मिर,स्विजरल्यान्डजस्ता भुभाग नेपालको ११ सय किलोमिटर लम्बाईमा धेरै भेटिन्छन् । हिमाली भेगसम्म पुग्ने १०–१२ वटा ८ लेनको सडक बन्नुपर्छ जसले गर्दा मानिसहरु छिटो भन्दा छिटो त्यो ठाउँमा पुग्न सकुन । नेपालको ११ सय किमी सीमासँग भारतीय सीमा जुन जोडिन्छ, सीमाको १०० किलोमिटर क्षेत्रमा मात्रै २५–३० करोड जनसंख्याको बसोबास छ । त्यति क्षेत्रफलको पर्यटकलाई मात्रै नेपालमा भित्र्याउन सकियो भने पनि हाम्रो कायापलट हुन्छ भन्ने भनाई हाम्रो हो ।
नेपालमा दिन प्रतिदिन मजदुरको संख्या घटिरहेको छ । हामीले कृषि उपज उत्पादन गर्न सकिरहेका छैनौं । यसमा हामीले के भनेका छौं भने हामीले चाालीस रुपियाँ किलोको धान उत्पादन गर्नु जरुरी छैन । हामीले २५ सय –३ हजार किलोमा बिक्री हुने विभिन्न फलफुल एवम अन्य कृषि उपजको हिमाली भेगमा उत्पादन गर्न सक्छौं । हिमाली भेगमा पाइने यार्सागुम्बालाई फेरि रि–प्लान्ट गर्न सक्छौं, यसको उत्पादनमा अझ वृद्धि गर्न अन्य अनु्सन्धानहरु गर्न सक्छौं । त्यसैगरी ३–४ हजार किलोमा बिक्री हुने चियापत्ती पनि हामीसँगै छ । त्यस्तै अलैची छ हामीसँग । त्यस्तै अरु धेरै जडिबुटीहरु छन् । मेरो भनाई भनेको महंगो भन्दा महंगो कृषि सामाग्रीहरुको सम्भाव्यता हेरेर वार्षिक ३–४ बाली उत्पादन गर्नुपर्छ ।
देशमा अझै पनि धान उत्पादन गर्न प्रशस्त खेतीयोग्य जग्गाहरु छन् । आधुनिक तरिकाले धान खेती गर्ने हो भने अहिले पनि अवसर छ ।
हामी वार्षिक ३ खर्ब रुपियाँ बराबरको खाद्यजन्य सामाग्री आयात गर्छौ । यस्तो अवस्थामा हामीले सकेसम्म यही नै उत्पादन हुने वस्तुहरुको उत्पादन शुरु गरि हाल्न हतार भइसकेको छ । आधुनिकीकरण गर्ने,राम्रो बिउ मल ल्याउने काम गर्नुपर्छ जसले गर्दा उत्पादनमा वृद्धि हुन्छ । उत्पादनमा वृद्धि भएर महंगोमा सामान बिक्री हुने वित्तिकै यहाँबाट वैदेशिक रोजगारको लागि जति पनि दाजुभाईहरु विदेश पलायन भएका छन । उहाँहरु फर्केर आएर आफ्नै गाउँमा काम गर्न थाल्छन् । तर त्यो चिजको शुरुवात कुनै गाउँमा मोडलको रुपमा सरकारले ३०–४० करोड घाटा मै सही कृषिको रिफर्म गर्नको लागि उदाहरणको रुपमा शुरु गरियो भने त्यसले राम्रो म्यासेज विदेशमा जान्छ र विदेशमा भएका दाजुभाईहरु फर्केर आएर त्यो बाली लगाउन शुरु गर्छन भन्ने हाम्रो भनाई हो।
अर्को भनेको भ्रष्टाचारमुक्त देश बनाउनुप¥यो । भ्रष्टाचार निवारणको लागि कडा नियमनकारी भूमिका निभाउने अखडा हुनुपर्छ । मानिसहरुले १ करोड रुपियाँ घुस खाँदा २ लाख रुपियाँ जरिवाना तिराएर के गर्ने ? यो भएन । नेपालमा २ देखि २० प्रतिशतसम्मको भ्रष्टाचार छ । त्यसलाई सकेसम्म निर्मूल पार्ने,नसके पनि न्युनिकरण भने गर्नैपर्छ । न्युनिकरण गरिसकेपछि निर्मुल पार्दै जाने हो । त्यसको लागि विशेष प्याकेज हुनुपर्छ जसले गर्दा नियमनकारी भूमिका कडा सजायको व्यवस्था हुनुप¥यो । यसले गर्दा मान्छे डराओस र भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नगर्ने वित्तिकै देशको आर्थिक अवस्था अर्थतन्त्र बलियो हुन्छ ।
सरकारले विदेशी मुद्रा सञ्चिति घटेको एवम् शोधनान्तर घाटा चुलिएको कारण १० वटा वस्तुको आयातमा रोक लगाएको छ ? यसलाई तपाईले कसरी लिनुभएको छ ?
सरकारले छोटो अवधिको लागि विलासिताका वस्तुहरुको आयात रोकेकोलाई मैले सकारात्मक रुपमा नै लिएको छु । सरकारको यो कदम अहिलेको अवस्थामा स्वागतयोग्य छ । सधैं गर्नु हुँदैन । कुरकुरे, चिजबल्सलगायतका कति खाद्य सामाग्रीहरु त नेपालमा पनि उत्पादन हुन थालिसके, त्यसकारण विदेशी उत्पादन नेपाललाई किन चाहियो ?
बंगलादेशले हजारौं वस्तुहरु नेपाल पठाउँदा साफ्टाको प्रावधान अनुसार नेपालले तिनीहरुलाई सुविधा दियो तर हामीकहाँ उत्पादन भएका सामानहरु बंगलादेशले किनिरहेको छैन भने बंगलादेशको सामान पनि हामीकहाँ रोक्नुपर्छ ।
अहिले उद्योगहरुमा अघोषित लोडसेडिङ छ भनिन्छ नि ?
उद्योगहरुमा लोडसेडिङ भएपछि गत बुधबारदेखि आन्दोलन गर्ने घोषणा गरेका थियौ । मंगलबार बिहान उहाँहरुले बिजुली उपलब्ध गराउँछौं हड्ताल नगर्न अनुरोध आयो । त्यो दिन बिजुली उपलब्ध पनि भएको हो । नेपालभरि बिजुलीको सर्टेज चाँहि थियो र हामीले प्रमुख रुपमा मुद्दा उठायौ त्यसपछि एफएनसीसीआई मार्फत मोरङमा बिजुली दिन्छौं भनेर भनेपछि मात्रै हामीले हड्ताल फिर्ता लिएको हो ।
एफएनसीसीआईले हड्ताल नगर्न भनेपनि हामी अगाडि बढेका थियौं । मैले एफएनसीसीआईको आग्रहको बेवास्ता गरेर आन्दोलन गर्ने भनेपछि मात्रै बिजुली आएको हो । हामीले आन्दोलन घोषणा गर्नु अगाडि बिस्तारै बिजुली नआउने घण्टा बढेको थियो भने आन्दोलन घोषणा गर्नासाथ बिजुली दिनु भनेको बीचमा केही न केही बदमासी पक्कै छ । हामीले आन्दोलन गर्ने घोषणा गरेपछि रातारात भारतबाट महंगैमा भए पनि बिजुली किनिएको थियो । आन्दोलन घोषणा गरेको अघिल्लो दिनबाट बिजुली आउन थालेको हो ।
भारतमा ४ घण्टा लोडसेडिङ छ भने सवा ४ घण्टा गरिदिंदा नेपालमा २४ घण्टा बिजुली आउँछ भन्ने डाटा मैले दिएको थिएँ । डेढ लाख मेगावाट छ अहिले भारतको बिजुली । अहिले घटेको बेला १ लाख २५ हजार आयो होला । भारतमा ४ घण्टा लोडसेडिङ हुने ठाउँमा सवा ३ घण्टा लोडसेडिङ हुँदा के फरक पर्छ । हामीले त २४ घण्टा बिजुली पनि मागेका छैनौं, १९–२० घण्टा बिजुली दिए पुग्छ भन्यौं । भनेको मतलब भारतबाट ५ मिनेट मात्र बिजुली काटेर दियो भने पनि हामीलाई भयो ।
तरलता समस्या अहिले विकराल छ, यस्तो विषयमा तपाईहरुले केही कदम चाल्नुभएको छ ?
तरलता समस्या समाधानको लागि अहिले तत्काल देखेको भनेको विकास बजेट तुरुन्त खर्च गरिनुपर्छ। तुरुन्त भनेको जेठ असार मात्रै बजेट खर्च गर्ने जुन परम्परा छ, त्यसलाई तोडेर बजेट खर्च गर्ने नयाँ प्रयास गर्नुपर्छ । बजेटलाई खर्च गर्दा १२ महिनालाई ४ त्रैमासिकमा बाँडेर हरेक त्रैमासिकमा २५–२५ प्रतिशत खर्च गर्ने व्यवस्था गर्नुपर्छ । समयलाई त्रैमासिक रुपमा बाँडेर खर्च गर्दा पनि केही हदसम्म तरलता समस्या समाधान गर्न सघाउ पु¥याउँछ ।
अर्को तरलता बढाउने माध्यम भनेको रेमिट्यान्स हो । रेमिट्यान्स अहिले अवैधानिक तवरबाट भित्रिरहेको छ । अवैधानिक रुपबाट भित्रिएको रेमिट्यान्सलाई वैधानिक बाटोमा लिएर आउनुपर्छ । यसले पनि केही हदसम्म तरलता समस्या समाधान गर्छ ।
नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल प्रहरी र सेनाको कल्याकारी कोषजस्ता संस्थागत निक्षेपकर्ताको निक्षेपमा पाउने व्याज केही हदसम्म घटाउनुपर्छ । उहाँहरुसँग साढे १९ खर्ब पैसा छ, उहाँहरुलाई धेरै व्याज किन चाहियो । उहाँहरुको व्याज घट्दा पैसाको मुभमेन्ट बढ्छ र बजारमा थोरै भए पनि ऋणयोग्य फन्ड आउँछ भन्ने हो ।
तरलताका अभावका कारण उद्योग व्यवसायमा कस्तो प्रभाव परेको छ ?
धेरै ठूलो असर परेको छ । तरलता अभावले गर्दा सामानहरु समयमा मगाउन पाइएको छैन जसले गर्दा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था छ । अहिले बजारमा सामानको माग नै नभएको अवस्था छ। तरलता अभाव हुने बित्तिकै क्रय शक्ति कम हुन्छ जसले गर्दा सामानको माग पनि कम मात्रै छ । तरलताको आर्थिक इकोसिस्टममै असर गरेको छ त्यसले गर्दा अहिले धेरै नै गाह्राे छ व्यवसायीहरुलाई ।
नेपालको जीडीपीमा उद्योग क्षेत्रको योगदान झन झन घट्दै गएको देखाएको छ, किन होला?
नेपालमा लागु भएको श्रम नीति जुन छ,त्यसले हामीलाई उद्योगी बन्नबाट बञ्चित गरेको छ । मानिसहरु उद्योग गर्न हिच्कीचाइरहेको अवस्था छ । कटन इन्डष्ट्री लगाउने हो भने अढाई हजारदेखि ३ हजार किलो उत्पादन गर्न सकिन्छ । न्यूनतम रेन्जको एउटा शर्ट ६–७ सय रुपियाँ पर्छ । त्यसको तौल मुश्किलले ४० ग्राम पनि हुँदैन ।
हामीले यो तर्फ यस्तो वातावरण बनाइयोस जसले गर्दा मजदुरहरुको हालीमुहाली अन्त्य होस । ठूला उद्योगहरुमा मजदुरहरु हावी भइरहेको अवस्था छ । उद्योगीहरु धेरै मजदुर लाग्ने उद्योगतिर आकर्षित नभएको अवस्था छ । डराएको अवस्था छ । अटोमेसनमा पनि कहिले तरलता अभाव, कहिले व्याज दर आतंक, कहिले बिजुली कटौती हुनेलगायतका कारणले गर्दा उद्योगी व्यवसायी डराएकोे अवस्था छ । उसले बरु के सोच्छ भने म आज सामान मगाउँछु दुई महिनामा आउँछ । १५ दिनमा बेचिदिन्छु आफ्नो पैसा घरमा ल्याउँछु जति नाफा हुन्छ होस । उद्योगीहरुले आफ्नो घर चलाउनको लागि पनि ट्रेडिङ शुरु गरिसके अब । भएको फ्याक्ट्री पनि बन्द गरिसके अब ।
यो अवस्था राज्यले हेर्दाखेरि रोजगारी गुमेको अवस्था छ,नागरिकहरु विदेशिएको अवस्था छ । अहिले धेरै फ्याक्टरहरु छन,जुन राज्यले एकपटक करेक्सन गर्न जरुरी छ । ऊर्जा, तरलता अभावका कुरा, विकास बजेट राम्रोसँग खर्च गर्न नसकेको कारण छ । भ्रष्टाचार व्याप्त छ । यी सबै चीज नियन्त्रण हुने वित्तिकै देश चलायन हुन्छ भने कुरा हो । तरलता अभावमा केही कमी आउँछ । जसले गर्दा फेरि उद्योगहरु लाग्छ । उद्योगीहरुमा एकप्रकारको विश्वास पैदा हुन्छ ।