बुटिकबाट "आमाको नाना" बनाउँदै डिजाइनर संगीता

Jun 02, 2022 06:27 PM Merolagani



ज्याेति शाह

जोरपाटीकी रिया तामांग ९ महिनाकी गर्भवती थिइन् । प्रसुती हुने समय आएपछि चिकित्सकले उनलाई हस्पिटल ब्याग तयार बनाउन भने । उनले इन्टरनेटमा खोजेपछि हस्पिटल ब्यागमा आमा र नवजात शिशुका अत्यावश्यक सामाग्री पर्छ भन्ने थाहा पाइन् । अब गर्भावस्थामा ती सबै सामान किन्न कता कता भौतारिनु ? रियालाई समस्या पर्यो ।

तर ती सबै समस्याको समाधान उनले "आमाको नाना"मा भेटिन् । फेसबुक मार्फत "आमाको नाना"बाट उनले आफूलाई चाहिने सबै सामाग्री मगाइन् र स्टोरीमा आमाको नानालाई धन्यवाद दिँदै हस्पिटल ब्याग तयार भएको पोष्ट गरिन् ।

बसुन्धारा चोकमा रहेको "आमाको नाना"की संचालक संगीता थापा हुन् । पेशाले फेसन डिजाइनर संगीता दुई वर्षदेखि आमा र नवजात शिशुकालागि कपडा बनाउँदै आएकी छिन् । १२ वर्ष अघिदेखि डिजाइनिंग क्षेत्रमा आवद्ध संगीताकालागि आमाको नाना उनको जीवनको खुशी बनेको छ ।

समय बदलिएसँगै पछिल्लो केहि वर्षयता सुत्केरी महिला र नवजात शिशुको रहनसहनमा केहि परिवर्तन आएको छ । अझै भनौं, यस विषयमा नेपाली परम्परा र केहि रितीरिवाज बदलिएको छ । तर बदलिएको छैन त नेपाली शिशुकालागि लगाइने भोटाे वा दौराको प्रचलन । पहिले नकिनिने नवजात शिशुका नयाँ लुगादेखि, ओछ्यान र अन्य सबै सामाग्री अहिले केहि समय अघि नै किनिन्छ । यस्तै प्रचलन र समयको माग बुझ्दै संगीताले "आमाको नाना" जन्माइन् ।

 

कोरोनाले जन्माएको आमाको नाना

संगीताले एक दशकदेखि बुटिक संचालन गरिरहेकी थिइन् । अचानक कोरोना महामारी फैलिएसँगै पहिलो हुँदै दोश्रो लकडाउन जारी गरियो । दुई सन्तानकी आमा संगीता घरपरिवारमा व्यस्त भइन् । घरमै बसेर आफ्नी छोरीकालागि उनले विभिन्न किसिमका भोटो सेट तयार पार्ने गर्थिन् । सोहि क्रममा एक दिन उनलाई बच्चाहरुकालागि दौरा सुरुवाल सेटको व्यापार गर्ने सोंच आयो । 'लकडाउनले जन्म त रोक्न सक्दैन र जन्म भएपछि बच्चाका लुगा चाहिन्छ । त्यसमाथि कोभिडको समयमा धेरैलाई लुगा किन्न सकस भइराखेको थियो । हामी जति नै आधुनिक भएपनि भोटो वा दौरा नै बच्चालाई लाइदिन्छाै‌ँ । त्यसैले, आफ्नै बच्चाहरुकैलागि बनाइरहेको जस्तै दौरा सेट बनाउने निधो गरेँ', संगीता सुनाउँछिन् । त्यहिँ समयको माग बुझेर संगीताले यो व्यवसायको थालनी गर्ने सोंच बनाइन् ।

संगीतालाई मास प्रोडक्सन गर्ने इच्छा सुरुवातदेखि थियो । बजारमा पाइरहने र बनाइने भोटोहरुमा संगीताले नयाँपन दिइन् । एक डिजाइनरका हिसाबले उनले नेपालीपनमा थोरै आधुनिकता थपिदिइन् र तयार बनाइन् "आमाको नाना" ।

थोरै लगानीबाट सुरु भएको आमाको नाना अहिले नेपाली बजारमा ब्राण्ड बनेको छ । चिनजानका एक पसलेबाट ५० हजार रुपैयाँ बराबरको थान कपडा ल्याएर संगीताले व्यवसाय सुरु गरेकी थिइन् । पहिलो पटक उनले ५० पिस नव शिशुकालागि भोटो सेट तयार पारिन् । ती सेटहरु बेच्नकालागि उनले निकै कठिनाई भोग्नुपर्यो । आफ्ना कपडाको विज्ञापन गर्न र लिन आग्रह गर्दै उनले धेरै अस्पतालहरुको ढोका ढकढकाइन् । तर सुरुवातमा सफलता पाइनन् ।

 

बुटिकको सुरुवाती दिनदेखि निकै संघर्ष गरेकी संगीताले आमाको नानालाई यो अवस्थासम्म ल्याउन धेरै मेहनत र दुःखको पुल पार गरेकी छिन् । संगीताका श्रीमानले उनलाई साथ दिन जागीर पनि छोडेका थिए।

भोटो र दौरा बनाउन तथा सिकाउनकालागि दिदीबहिनीहरु खोज्न पसल पसलमा आफै गएका ती दिन सम्झिदा संगीता बोल्न सक्दिनन् ।

सामाजिक संजालहरुमा पनि उनले आफूले बनाएका लुगाका तस्बिर राखेर प्रचार गरिन् । यसै क्रममा पहिलो पटक उनलाई एक गर्भवती महिलाले बानेश्वरबाट अनलाईन अर्डर दिइन् । एक हजार ३५० रुपैयाँ बराबरको दौरा र्यापर सेट पुर्याउन उनी आफै बानेश्वर पुगिन् । आमाको नानाको पहिलो कमाई सम्झिँदा उनका आँखा अझै पनि रसाउँछन् । बिस्तारै अर्डर आउन थाल्यो र "आमाको नाना" नेपाली आमाहरुको जीवनमा प्रवेश गर्यो ।

आमाहरुको विश्वास बटुल्दै "आमाको नाना"

"आमाको नाना"ले नेपाली आमाहरुमाझ बिस्तारै पहिचान बनाउँदै छ । पृथक सोंचका साथ संचालन गरिएको यस व्यवसायमा हाल ११ जना महिलाहरु कार्यरत छन् । जसमा संगीताको श्रीमान् राजेश क्षेत्रीको पुरै साथ रहेको छ । १० लाख रुपैयाँको उद्यमी लोन लिएर पनि उनीहरूले काम थालेका हुन् ।

गुल्मी घर भएकी ३५ वर्षकी संगीताकालागि आमा नै विश्वास हो । आफ्नो व्यवसायकालागि उनले "आमाको नाना" भन्दा अर्को उपयुक्त नाम पाइनन् । 'आमा नाममा नै सबै समेटियो । म आफै पनि आमा भएकाले बच्चाहरुका लुगाको बारेमा थाहा छ ,' उनले भनिन् ।

 

"आमाको नाना"मा रेडिमेड नवजात शिशुदेखि ५ वर्षसम्मका बालबालिकाकालागि तयारी पोशाक पाईन्छ । यसैगरी, यहाँ आमाहरुकालागि पनि गाउन अर्डर गर्न सकिन्छ । त्यसका साथै पास्नी सेट पनि "आमाको नाना"ले बनाउने गर्दछ । संगीता र उनको समुहले हस्पिटल ब्याग, पास्नी सेट र दौरा सेट उत्पादन गर्दछ । यसकासाथै जाडो महिनाकालागि पनि पोशाकहरु तयार गरिँदैछ जसको माग धेरै हुने गरेको छ ।

"आमाको नाना"का उत्पादनहरु नेपालभरबाट अर्डर र डेलीभरी हुने गरेको छ । टिकटकबाट सबैभन्दा धेरै अर्डर हुन्छ । त्यसपछि इन्स्टाग्राम, व्हाट्सएप र फेसबुकबाट पनि अर्डर गरिन्छ । काठमाडौं उपत्यकाभर सोहि दिन वा भोली नै आफूले मगाएको सामान हातमा पर्ने संगीताको दाबी छ । तर उपत्यकाबाहिर भने आमाको नानाले दुई दिनभित्र कुरियर मार्फत सामान पुर्याउने गरेको छ ।  व्यापार बढ्ने र फैलने क्रममा हाल माग बढिरहँदा संगीताले बजारको माग पुरा गर्न सकिरहेकी छैनिन् । उनले यसकाे सबै श्रेय अनलाईन इन्टरनेटलाई नै दिन्छिन् ।

मासिक पाँच लाख रुपैयाँको व्यापार

संगीताका अनुसार आमाको नानाले अहिले मासिक रुपमा पाँच लाख रुपैयाँ बराबरको व्यापार गर्ने गरेको छ । 

सो कम्पनीले उपत्यकाभित्र दिनमा कम्तिमा २० पिस डेलिभर गर्ने गरेको छ । आमाको नानामा एक हजार १०० रुपैयाँदेखि दुई हजार ५०० रूपैयाँसम्मका तयारी भोटो सेट पाईन्छ । यसैगरी, आमाको गाउन एक हजार ५०० देखि एक हजार ८०० रुपैयाँसम्ममा खरिद गर्न पाईन्छ । नेपालभर जहाँ गए पनि एउटै मूल्यमा आमाको नाना पाउँछन् ।

"आमाको नाना"को न्यूबर्न बेबीको सेटमा ६ वटा आइटम हुन्छ । जसमा भोटो, पञ्जा, टोपी, मोजा, दौरा र सुरुवाल पर्दछ । यसबाहेक ब्ल्यांकेट, सिरानी, ओछ्यान, ओढ्ने, आमाहरुकोलागि पञ्चु वा आधुनिक ओढ्ने र गाउन पनि त्यहाँ पाईन्छ । 

गुणस्तरमा नो सम्झौता

नेपाली बजारमा दौरा भोटो सुरुवाल छ्याप्ती छ्याप्ती पाइने गरेको छ । यद्यपी "आमाको नाना"ले बनाउने गरेका त्यहि सामाग्री गुणस्तरका आधारमा निकै राम्रो हुने गरेको संगीताको भनाई छ । 'बजारमा हामीभन्दा महंगो र सस्तो पनि धेरै हुनुहुन्छ । तर हामी भने राम्रो क्वालिटीको साथै मूल्यमा विशेष ध्यान दिन्छौं,' संगीता सुनाउँछिन् ।

यसका साथै डिजाईनका कारण पनि "आमाको नाना" आमाहरुको रोजाईमा परेको संगीता सुनाउँछिन् । 'मैले बनाउने दौरा र भोटो त्यहिँ हो, तर मेरो टोपीको बनावट, प्रिन्ट छान्ने तरिका र क्वालिटी फरक छ । जसलाई ग्राहकले धेरै मनपराउनुभयो ।' भारतबाट आएको कपडामा आफ्नै प्रिन्ट गरिने संगीताले मेरोलगानीलाई बताइन् ।

संचालक संगीताले ग्राहकहरुको सेवालाई प्राथमिकतामा राखेको बताउँछिन् । 'हामी एकदम छिटो डेलिभरी गर्छौ र कस्टमरबाट फिडब्याक लिन्छौं ।' यो कम्पनीको स्थापनाको २ वर्ष बितिसक्दा लगभग पाँच पटक मूल्य वृद्धि भइसक्यो । तर संगीताले कपडाको मूल्य बढाएकी छैनिन् । 'हाम्रो गुणस्तरमा ग्राहकले विश्वास गरिरहनुभएको छ, खुशी छौं,' उनी सुनाउँछिन् ।

ब्राण्ड बनाएर नेपालमा चिनाउने सपना

"आमाको नाना"लाई पुरै नेपालीमाझ पुर्याउने संगीताको सपना छ । त्यही सपना पुरा हुँदै गर्दा उनी भन्छिन्,'आमाको नानाले मलाई चिनाउँदै छ । आफ्नो गार्मेन्ट गर्ने सपना थियो, दिदीबहिनीलाई रोजगार दिने सपना थियो, पुरा हुँदैछ ।'

उनले आफ्नो सपना विस्तारकालागि धेरै अस्पताल र पसलहरुसँग सहकार्य गर्न पनि चाहिन् । तर मार्जिन चाहिने समस्याका कारण उनको सपनामा बाधा पुगेको छ ।

'अहिले परिवारलाई समय दिन पाउँछु । दुख पनि आफ्नैलागि गरिरहेकी छु ।  पैसा नेपालमै छ, नेपाली दिदीहरुलाई सहयोग गर्न पाएकी छु ', संगीता सन्तुष्ट छिन् ।

योजना

आमाको नानामा अझै केहि आईटम थप्ने संगीताको योजना छ । ग्राहकहरुको माग बमोजिम पीजे सेट, ढाकाका सर्ट, फ्रक तथा अन्य डिजाइनका जाडो तथा गर्मी मौसमका बच्चाहरुका कपडा उत्पादन गर्ने संगीताको सोंच छ । उनले पाँच वर्षको टार्गेट राखेकी छिन् । 'हामी ग्राहकहरुलाई  सामान डाइरेक्ट लामो समयसम्म बिक्री गर्ने सोंचमा छैनाैं । तीनवर्षसम्म आमाको नानालाई चिनाएपछि , म फरक प्रकारले व्यवासय संचालन गर्छु । हाम्राे होलसेलमा सामान बेच्ने सोंच छ ।'

त्यसैगरी, अबको दुई वर्षमा चक्रपथमा पहिलाे आउटलेट राख्ने योजना पनि संगीताकाे छ । आफ्ना महिला कर्मचारीहरुकालागि थप केहि गर्ने योजना उनकाे रहेकाे छ ।

आमाको नाना नै सबैथोक

संगीताले "आमाको नाना"मा नयाँ तरिकाले काम गरिन् जसकाे मीठाे फल उनले पाइरहेकी छिन् । 'किन पुरानै तरिकाले गर्ने ? डिजाइनरको काम नयाँ लुक दिने हो र म त्यहि काम गरिरहेकी छु ।डिजाइनर भएर भोटो सिलाएर बसेको भन्ने मानसिकतालाई म आफू बेबी डिजाइनर भएको जवाफ दिन्छु ।  म ट्रेडिसनल पहिरनलाई केहि नयाँपन थप्दिन्छु,' उनी मुस्कुराउँछिन् ।

आमाको नानाकी संचालक संगीताकालागि आफ्नो कम्पनी नै सबथोक हो । 'जुन सपना लिएर हिँडेको थिए, ती सब आमाको नानाले पुरा गरेको छ र मेरा अरु सपना पनि यसैले पुरा गर्नेछ ,' उनी विश्वस्त हुन्छिन् ।

'आफूमा विश्वास भयो र म गर्छु भन्ने अठोट भयो भने केहि र कसैले पनि रोक्न र छेक्न सक्दैन रहेछ । मेरा अप्ठ्यारा र संघर्षले नै मलाई बलियो बनाएको हो,' संगीता कटिबद्ध छिन् ।




comments powered by Disqus