अहिले शेयर बिक्री गर्नु भनेको भएकाे सम्पत्ति गुमाउनु मात्रै हो

Jun 12, 2022 05:45 PM MeroLagani



  • राम कृष्ण खायमली

अहिले पूँजी बजारका लगानीकर्ताहरुले गरेको आन्दोलन जारी छ । सरकारले बजारसँग सरोकार राख्ने जुन नीति बनाएको छ, त्यसमाथि हाम्रो असन्तुष्टि हो।

सरकारको पूँजीबजार सम्बन्धी नीतिगत व्यवस्थाहरु बारम्बार परिवर्तन गर्ने अस्थिर नीतिले गर्दा ठूलो क्षति ब्यहोर्नु परेको अवस्था छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४–१२ को नीति र सिसिडी रेसियोलाई सिडी रेसियोमा परिमार्जन गरेदेखि बजारमा असर गरेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न दिने सवालमा एकदमै कठोर बन्यो। बैंकहरुको बजारमा भएको लगानी पनि झिक्नुपर्ने व्यवस्था गर्यो। यो व्यवस्थाले बजारमा ठूलो असर गरेको छ। त्यसैगरी, माईक्रोफाइनान्स कम्पनीहरुको लाभांश वितरणमा पनि क्याप लगाइएको छ । यसरी सबैतिरबाट बजारलाई चेपुवामा पार्दा बजारका लगानीकर्ताको मनोविज्ञान प्रभावित भएको हो।

पूँजीबजार सबैभन्दा पारदर्शी रुपमा कर बुझाउने क्षेत्र हो। अरु कुनै क्षेत्र पूँजीबजार जस्तो पारदर्शी छैन्। जब देशमा पूँजी संकलन हुन्छ, बजारबाट पूँजी निर्माण गर्न सकिन्छ त्यसले उद्योग व्यापार व्यवसायहरु सञ्चालन गरी विस्तारै रोजगारीको अवसरहरु बढ्दै जान्छ । विस्तारै आर्थिक क्रियाकलाप पनि बढ्दै जान्छ।

बजारमा हेर्ने हो भने सबै पक्षबाट बजारमा वेथिती भएको पाइन्छ। नियामकबाट बजार सुधार र सहजीकरण गर्ने सानो भन्दा सानो काम पनि भएका छैनन। यसले बजारमा ठूलो असर गरेको छ। अझ नियामकबाट बजारको नियमन गरेर व्यवस्थित गराउनुपर्नेमा नियन्त्रण गरेको छ। त्यसको क्षति अहिलेको बजारले खेपिरहेको छ। जस्तै टिएमएसको कारोबार फिचर्समा एओएनमा एकोहोरो कारोबार व्यवस्था, बोनस शेयरमा कर लगाउने जस्ता कुराले बजारलाई क्षति पुर्याइरहेको छ। यस्ता विषयमा बोर्डको एउटा बैठकले निर्णय गरे पुग्ने भए पनि समस्या भने बजारले खेप्न बाध्य हुनु परेको छ।

सरकारको बजारप्रतिको नकारात्मक दृष्टिकोणले गर्दा लगानीकर्ताको बजारप्रति विश्वास हराउँदै गएको छ। अहिले बजारको लागि लाभदायी समाचार आउँदा पनि बजारले त्यसको सकारात्मक प्रतिक्रिया जनाउन सकिरहेको छैन । यो बजारको लागि सबैभन्दा ठूलो घाटा हो । बजारमा लगानी गर्दा रमाउने लगानीकर्ता पनि बजारप्रति विश्वस्त हुन नसक्नुको परिणाम हो ।

तर अहिलेकाे अवस्लथामा लगानीकर्ताहरु सबैले वेवास्ता गरेर ढुक्कका साथ लगानी गर्नुपर्ने हुन्छ। बजार घट्बढ् हुनु स्वभाविक हो। नेप्से सूचक ११ सयको विन्दुमा हुँदा बढेर ३२ सय पुग्छ भनेर कसैले सोचेको थिएन। त्यसैले अहिलेको यो घटाईपछि पनि बजार सोही अनुसार बढ्ने सम्भावना रहेको छ । लगानीकर्ताहरुले राम्रो कम्पनीको छनोट गरेर ढुक्कसँग लगानी गर्नुपर्छ ।

अब बजारको हितमा काम गर्न जरुरी भइसकेको छ । बजारसँग सम्बन्धित नीतिनियम स्थिर बनाउनुपर्छ । बजार घट्दा लगानीकर्तालाई मात्रै नोक्सानी हुँदैन। सरकार स्वयमलाई पनि नोक्सान हु्न्छ। गत वर्षलाई नै हेर्ने हो भने बढ्दो बजारमा बजारबाट राम्रो राजश्व संकलन भएको थियो। बजारमा नयाँ लगानीकर्ता भित्रिएका थिए। देश विदेशबाट पनि बजारमा लगानी आएको थियो। जहाँ बजारमा थप लगानी आउनुको साथै रेमिटेन्स बढेको थियो। यसले सरकारलाई दोहोरो फाइदा पुगेको थियो। रेमिटेन्स र पूँजीगत लाभमार्फत दोहोरो कर प्राप्त गरेको थियो । तर बजार यसरी निरन्तर घट्न थालेपछि बजारमा आउने पैसा रोकियो र अन्य क्षेत्रमा लगानी विभाजन हुन थाल्यो।

शेयर बजार केही समय बढ्न थाल्यो भने सरकार सम्बद्ध निकायहरुको नै आँखा लाग्ने गरेको छ। निरन्तर चार बर्ष घटेको बजार विस्तारै आफ्नो लयमा लाग्दै गरेको समयमा बजारलाई प्रभाव पार्ने खालका क्रियाकलाप भए । त्यसको कारण लगानीकर्ताको मनोभावना डगमगाएर बजारले नोक्सानी व्यहोर्न बाध्य भए।

पछिल्लो समय लगानीकर्ताहरु आन्दोलनमा उत्रन थालेपछि पूँजीबजारका विषयले संसदमा प्रवेश पाएको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । सदनमा अत्यन्त कम बहस हुने गरेको पूँजी बजारको बारेका बहस सुरु भएको छ। यसले स्थिर नीति निर्माण गर्नको लागि अहम भुमिका खेल्न सक्ने देखिन्छ।

शेयर बजार चलायमान भयो भने अर्थतन्त्र पनि चलायमान हुन्छ । बजारका लगानीकर्ताले कमाए पो सरकारलाई कर तिर्नेछन् भन्ने बारेमा सरकार जानकार हुनुपर्छ । शेयर बजार अर्थतन्त्रको ऐना हो । पूँजीबजारको विकास भयो भने स्वतन्त्र मुलुकको अर्थतन्त्रको व्यारोमिटर पनि राम्रो हुने छ। मुलुकको अर्थतन्त्रको वृद्धिदर ८ प्रतिशतमा मात्रै सिमित हुने थिएन।

कर्जामा शेयर किन्नेहरुलाई मार्जिन कल आउन सक्ने भएकाले अप्ठेरो पर्न सक्ने देखिन्छ। यसमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहजीकरण गर्ने हो भने बजारलाई ठूलो राहत मिल्ने थियो। अहिलेको घट्दो बजारमा आत्तिएर लगानीकर्ताले शेयर बेच्नु हुँदेन। बेच्नु भनेको सम्पत्ति गुमाउनु मात्रै हो। बरु सकिन्छ भने क्षमता अनुसारको राम्रा कम्पनीको शेयर लिएर धैर्य गरेर बस्ने लगानीकर्ताले बजारबाट राम्रो आम्दानी गर्न सक्छ।

(शेयर लगानीकर्ता खायमलीसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित लेख)




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।