उनका अनुसार बैंकबाट ऋण लिएर शेयर किनेका लगानीकर्ताको शेयर बिक्री गर्न भन्दै बैंकले ब्रोकर कम्पनी र निक्षेप सदस्यलाई पत्र लेख्ने गरेका छन्। उक्त पत्रको आधारमा ब्रोकर कम्पनी र निक्षेप सदस्यहरूले शेयर बिक्री प्रक्रियालाई अघि बढाउँदै आएका छन्। तर बिक्री गर्ने प्रक्रियासम्म कुनै समस्या नभए पनि सेटलमेन्टमा भने समस्या हुन थालेको छ। लागत मूल्य नभएका कारण सेटलेन्टमा समस्या देखिने गरेको छ। बैंकसँग यकिन लागत नभएको कारण सबै शेयरको बेस प्राइस एक सय राखेर सेटलमेन्ट हुन थालेको छ।
पछिल्लो समय शेयर बजार तीव्र गतिमा घटिरहेको छ। घटिरहेको सूचकले शेयर मूल्य घटाउँदै लगेको छ। सूचक ४० प्रतिशत भन्दा बढीले घटेको छ। ४० प्रतिशत सूचक घट्दा सूचिकृत कम्पनीको शेयर मूल्य ७० प्रतिशतसम्म घटेका छन्। शेयर मूल्यमा आएको तीव्र गिरावटका कारण बैंकबाट ऋणी लिएर लगानी गर्ने लगानीकर्ताले मार्जिन रकम थप्न सकेका छैनन्।
धेरै जसो ऋणीलाई बैंक वित्तीय संस्थाले थप पैसा हाल्न मार्जिन कल गरिरहेका छन्। तर मार्जिन रकम थप गर्न नसक्ने स्थितिमा पुगेका लगानीकर्ताले बैंकको फोन उठाउन छाडेका छन्। लगानीकर्ताले बैंकको फोन नउठाउने अर्को तर्फ धितोमा रहेको शेयरको मूल्य घट्दै गएपछि बैंक वित्तीय संस्थाले ऋणीको धितोमा रहेको शेयर बिक्री गर्दै साँवा उठाउने प्रक्रियालाई तिव्रता दिदै आएका छन्।
कुनै पनि शेयर बिक्री गर्दा लगानीकर्ताले बिक्री गरेपछि खरिदकर्तालाई शेयर दिनु पर्ने हुन्छ। जसकोलागि लगानीकर्ताहरूले इडिआइएस गर्नु पर्ने हुन्छ। जुन लगानीकर्ता आफैले गर्नु पर्ने हुन्छ। स्वयम् बिक्री कर्ताको अनुमति बेगर कसैले पनि इडिआएस गर्न मिल्दैन। इडिआएस गर्दा नै सिस्टमले लगानीकर्ताले बिक्री गरेको शेयरको खरिद मूल्य, त्यो बिक्री गर्दा लाग्ने करका बारेमा गणना गरिदिन्छ। इडिआएस नगर्नेको भने ती सबै कुरा गणना हुन नसक्ने केन्द्रीय निक्षेप प्रणालीका (सिडिएससि)का प्रवक्ता सुरेश न्यौपानेले बताए।
तर बैंकले शेयर धितोमा ऋण दिँदा लगानीकर्ताको शेयर रोक्का राखेको हुन्छ। बैंकले शेयर के कति मूल्यमा किनेको हो भन्ने विवरण माग्दैन। ऋण तिर्न नसकेको अवस्थाकोलागि भन्दै बैंकले सुरक्षण स्वरूप ऋणीसँग खालि डिआएएस स्लिपमा हस्ताक्षर गराएर राख्ने गर्छ। जुन स्लिप शेयर बिक्री गरेपछि शेयर सेटलमेन्टको लागि प्रयोग हुने गर्छ।
न्यौपानेका अनुसार उक्त स्लिप दिँदा समेत लगानीकर्ताले बिक्री गरेको शेयरको खरिद मूल्य तोकेर दिनु पर्छ। सोही अनुसार लागत गणना गरी सेटलमेन्ट हुन्छ। लागत नहाली दिएको डिआइएस स्लिप सेटलमेन्टमा प्रयोग गर्न सकिँदैन। लागत मूल्य नहाली सिस्टमे के कति लाग्ने हिसाब गर्न सक्दैन। यात इडिआइएस गर्नु पर्छ। भौतिक डिआइएस प्रयोग गर्ने हो भने लागत तोकेर दिनु पर्छ। अन्यथा सटलमेन्ट प्रक्रिया पुरा हुन सक्दैन।
तर यति बेला भने बैंकसँग भौतिक डिआइएस स्लिप मात्रै रहेको छ। त्यसमा के कति मूल्यमा शेयर किनेको हो भनेर यकिन लागत दिने ऋणी सम्पर्कमा छैनन्। जसले गर्दा बैंकहरुले उक्त स्लिपमा खरिद मूल्य एक सय रुपैयाँ नै लेखि सेटलमेन्ट गराउँदै आएका हुन्।
लगानीकर्ताले अधिक मूल्यमा किनेको शेयरको मूल्य एक सय रुपैयाँ मात्रै बेस प्राइस राख्दा लगानीकर्ताले धेरै कर तिर्नु पर्ने हुन्छ। किनकि एक सय रुपैयाँ भन्दा बढी मूल्यमा शेयर बिक्री गर्ने बित्तिकै लगानीकर्ताले पूँजीगत लाभकर तिर्नु पर्ने हुन्छ। लगानीकर्ताले शेयरको मूल्य घटेर ऋण नै तिर्न नसकेको अवस्थाको शेयर बिक्री गर्दा समेत पूँजीगत लाभकर तिर्नु पर्ने अवस्था सिर्जना गरेको छ। घाटमा शेयर बिक्री गर्दा समेत लगानीकर्ताले लाभकर तिर्नु पर्ने अवस्थाले ऋणीलाई दोहोरो मारमा पारेको हो।