याे बेलामा नेप्सेका प्रमुख कार्की के गर्दैछन्, आफुले गर्ने भनेर ल्याएका अवधारणाहरूकाे कार्यान्वयन कुन चरणमा पुगेका छन् ? अनलाइन सिस्टममा देखिने समस्या, व्राेकरबाटै व्यवस्थित मार्जिन ऋणकाे सुविधा, बजारमा नयाँ इन्स्ट्रुमेण्ट,एसएमइज प्लेटफर्मलगायतका विषय कहाँ पुगे ?
यिनै विषयहरूमा मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कार्कीसँग कुराकानी गरेका छन्
शेयर बजारको अहिलेको अवस्था कस्तो छ ? के देखिरहनु भएको छ ?
शेयर बजारको अवस्थाको बारेमा भन्नु पर्दा हामीले यसलाई आन्तरिक अर्थतन्त्रका सूचकहरू र बाह्य अर्थतन्त्रका सूचकहरूलाई पनि हेर्नु पर्ने हुन्छ। किनकि ती सूचकहरूसँग आन्तरिक शेयर बजारका सूचकहरू अन्तर सम्बन्धित हुन्छन्। अहिले बाह्य रुपमा हेर्दा कोभिडपछि विश्वका अर्थतन्त्रमा नकारात्मक असर परेको थियो। त्यसमा रुस र युक्रेनको युद्धले थप मलजल गर्यो। यी सबै कुराले नेपाल मात्रै होइन, विश्वकै अर्थतन्त्रमा धक्का लागेको कुरा जग जाहेर नै छ।
नेपालमा पनि यति बेला तरलता समस्या बढ्दै गइरहेको र ब्याजदर उकालो लाग्दै गइरहेको अवस्था छ। कोभिडपछि अर्थतन्त्रमा चाप परेको छ। यसको प्रभाव शेयर बजारमा पनि देखिएकै हो। तर जुन हिसाबले बजार निक्कै तल पनि आयो। त्यति तल आउला जस्तो देखिएको थिएन। तर बजार हो। माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकोले बजारको पक्षबाट हेर्दा त्यसलाई स्वाभाविक पनि मान्नु पर्छ। किनकि मूल्य निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी बजारकै हुन्छ। तर तीव्र रूपले घटेको बजारले धेरै लगानीकर्तालाई समस्यामा पनि पार्यो। खासगरी छोटो समयको लागि लगानी गर्ने लगानीकर्तालाई त्यसले अलि बढी नै असर गर्यो। तर लामो समयको लागि लगानी गर्ने लगानीकर्ताकोलागि सम्भावनाका ढोका पुन: खुल्दै गइरहेको देखिन थालेको छ। पछिल्लो समय आएको मौद्रिक नीति पछि लगानीकर्ता केही उत्साहित भएको हाे जस्तो बजारले देखाउँदै लगिरहेको छ। कारोबारले त्यही कुरा पुष्टि गर्छ। जसले लामो समयको लागि लगानी गर्ने लगानीकर्तालाई फाइदै गर्ने सम्भावनालाई नकार्न सकिदैन।
यति भन्दा भन्दै पनि बजार सञ्चालकको नेतृत्वकर्ताको हिसाबले मैले यो कुरा भन्न छुटाउनु हुँदैन कि शेयर बजार जोखिमको बजार हो। सम्भावना र जोखिम बराबरी हुन्छ। त्यसले गर्दा लगानीकर्ताले लगानी गर्नु पूर्व आफ्नो विवेक भने पुर्याउनै पर्छ। हचुवाको भरमा,अरूको लह लहैमा र अध्ययन विश्लेषण बिना लगानी भने गर्नु हुँदैन।
मौद्रिक नीति पछि बजार थोरै सकारात्मक देखिएको छ। के बजारलाई मौद्रिक नीतिले सपोर्ट गरेको हो ?
जहिले पनि शेयर बजारले कुनै पनि विषयलाई सकारात्मक वा नकारात्मक दुवै प्रतिक्रिया दिन्छ। जसलाई हामी फन्डामेन्टल प्रतिक्रिया पनि भनेर बुझ्ने गर्छौ। त्यसमा पनि राजनीतिक परिवर्तन, कम्पनीका वासलात र परिवर्तित नीति नियमलाई शेयर बजारले छिट्टै प्रतिक्रिया दिन्छ। यस हिसाबले हेर्दा मौद्रिक नीतिलाई शेयर बजारले राम्रै ठानेको रुपमा मैले लिएको छु। शेयर बजारमा व्यक्तिगत भन्दा पनि बजारले दिने प्रतिक्रिया नै महत्त्वपूर्ण हुन्छ। कुनै व्यक्तिले बजारको लागि मौद्रिक नीतिले केही गरेन भनेर प्रतिक्रिया दिँदै गर्दा बजार सुधार उन्मुख हुनु भनेको त्यो प्रतिकृयलाई बजारले खासै महत्त्व राखेन भनेर बुझ्न सकिन्छ। अर्को तर्फ मौद्रिक नीतिले खुबै राम्रो गर्यो भन्दै गर्दा बजार घट्दो अवस्थामा गयो भने पनि उक्त प्रतिक्रियाको खासै महत्त्व हुँदैन। त्यस अर्थमा हेर्दा बजारले मौद्रिक नीतिलाई राम्रै मानेको रुपमा मैले लिएको छु।
खासगरी, मौद्रिक नीतिले ४/१२ काे सीमामा चार हटाएको अवस्थालाई बजारले राम्रै प्रतिक्रिया दिएको छ। त्यो बजारको लागि पनि राम्रै नीति हो भन्ने मैले ठानेको छु। हुँदै नहुनु भन्दा केही खुकुलो गरिदिएको अवस्थालाई राम्रै मान्नु पर्छ। ऋण लिएर लगानी गर्ने लगानीकर्ताले १२ करोडको लागि पनि तीन बैंक धाउनु पर्ने अवस्था थियो। जुन अब पर्दैन। अर्को तर्फ साना ऋणीको रिस्क वेटेज पनि मौद्रिक नीतिले घटाइ दिएको छ। यसले सबैभन्दा बढी साना लगानीकर्तालाई प्रोत्साहित गर्छ।
कुनै पनि बजारमा मार्केट पार्टिसिपेसनको निक्कै ठुलो महत्त्व हुन्छ। जति धेरै बजारमा मार्केट पार्टिसिपेन्ट बढ्छन् त्यति नै फेयर मूल्य प्राप्त हुन्छ। २५ लाखसम्मको ऋणमा रिस्क वेटेज १०० राख्नु भनेको सानालाई प्रोत्साहन गरेको रुपमा लिनु पर्ने हुन्छ। जसले बजारमा पार्टिसिपेन्ट बढाउन टेवा पुर्याउछ।
हाम्रो बजारमा सबैभन्दा बढी प्रगति के मा भयो ? भनेर फर्केर हेर्ने हो भने बजारमा बढेको लगानीकर्ताको सहभागिता हो भन्दा फरक पर्दैन। कुल जनसङ्ख्याको करिब १८ प्रतिशत मानिस प्राथमिक बजारमा छन् भने दोस्रो बजारमा देखिने गरि नै सहभागिता बढ्दै छ। यसले पनि कारोबार रकमलाई एक अर्ब भन्दा मुनि झर्न दिएको छैन। अहिलेकै अवस्थामा लगानीकर्ता रहेको भए सायद कारोबार करोडमा खुम्चि सक्ने थियो। बजार बेस्सरी घटेको बेलामा पनि बजारमा एक अर्ब भन्दा कम कारोबार नहुनु भनेको बजारमा बढ्दै गएका लगानीकर्ताको भूमिका नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने मलाइ लाग्छ।
मार्जिन ऋणको कुरा उठी हाल्यो। मौद्रिक नीतिमा अब आउने दिनमा मार्जिन कर्जा बोक्रर मार्फत व्यवस्थित हुँदै गएको यस्तो कर्जा हटाउने भनेको छ। के ब्रोकरले मात्रै धान्न सक्ने स्थिति रहन्छ ?
यस्तो किसिमको कर्जा ब्रोकर मार्फत नै गर्ने हो। त्यसमा दुई मत छैन। मैले पनि यसलाई आउने बित्तिकै प्राथमिकतामा राखे। म आउँदा यसको बारेमा नीति नियम त बनेको तर व्यवहारिक नभएको भनेर अघि बढ्न नसकेको पाए। त्यसैले के के अव्यवहारिक भयो भनेर मैले सरोकारवालाहरूलाई बोलाएर छलफल पनि गरे। साँच्चै त्यसमा केही बुँदाले उनीहरूलाई प्रतिस्पर्धी हुनबाट रोक्ने रहेछन् भन्ने मैले महशुस गरे। त्यसलाई सहजीकरण गरिदिन मैले धितो पत्र बोर्डमा पहल गरे। त्यसमा धितो पत्र बोर्ड पनि कन्भिन्स भयो। हामीले बजारमा जे जे कुराले अघि बढ्न हडल्स खडा गरेको थियो ती सबै गाँठो फुकाइदियौ। जसले गर्दा आउने दिनमा चाँडै कार्यान्वयनमा जान्छ भन्ने मेरो अनुमान छ।
तर तपाईले गाँठो फुकाए पनि कार्यान्वयनमा त अझै गएन। पुरा गाँठो नफुकेको हो कि ?
तत्कालै किन कार्यान्वयनमा गएन भन्दा त्यसमा केही धितो पत्र व्यवसायीहरूको रिजरबेसन रहेछ। फेरि पनि मैले उहाँहरुलाई बोलाएर छलफल गरे। मैले छलफलमा के भने सबैभन्दा पहिले तपाईहरू कार्यान्वयनमा जानुस्। कार्यान्वयनमा गएपछि के कस्ता समस्या आएछन् तिनलाई समाधान गर्ने सम्पूर्ण जिम्मेवारी मेरो हो भने। मैले त्यहाँ भन्दा के भन्ने ? कार्यान्वयनमा नै नगईकन यो समस्या त्यो समस्या भन्नु त्यति जायज हो जस्तो लाग्दैन। पहिले कम्तीमा ५० वटा त ऋण जाओस्। त्यस पछि पो समस्या रहेछ भन्ने हुन्छ। फेरि मैले त्यो सबै मिलाउने जिम्मेवारी पनि लिएकै छु।
यति भन्दा भन्दै जसरी पनि बजार बिस्तार गर्नु छ। मेरो चाहना पनि राष्ट्र बैंकले भनेको जस्तै गरी मार्जिन कारोबारमा ब्रोकर नै सक्षम हुन् भन्ने छ। त्यस भयो भने ऋणमा आउने ४/१२ जस्ता समस्या रहँदैन। ऋणकै विषयमा बेला बेला आउने नीतिले बजारलाई असर गर्ने थिएन। त्यसले गर्दा यसलाई जसरी पनि कार्यान्वयनमा लैजानै पर्छ भनेर मैले फेरि पनि के कस्ता समस्या हुन् त्यसलाई निराकरण गर्नु पर्यो भनेर समस्या पहिचान गर्न लगाए।
त्यसमा केही प्राविधिक समस्या मिलाउनु पर्ने भन्ने कुरा आए। सबै कुरा भइसक्यो अब किन त्यति कुराले अड्किने भनेर त्यसलाई पनि तत्काल समाधान गर्नु पर्यो भनेर निर्देशन दिएको छु। खासगरी, प्राविधिक समस्या समाधान गर्न मैले हाम्रो सफ्टवेयर निर्माता कम्पनी र हाम्रो आइटी विभागलाई निर्देशन दिएको छु। सम्भवतः त्यो समस्या समाधान भइसकेको हुनु पर्छ। अहिले चाहिँ म अपडेट छैन। तै पनि यति विश्वास गर्नुस्। अब ब्रोकरले नै मार्जिन कर्जा दिन्छन्। ब्रोकरले नै दिनेगरी व्यवस्था हुनु पर्छ। हामी गराएरै छाड्छौ। यसले लगानीकर्तालाई सबैभन्दा बढी फाइदा पुर्याउछ भने ब्रोकर साथीहरूलाई पनि त्यति नै सक्षम बनाउँछ।
ब्रोकर कम्पनीहरूले स्रोत सुनिश्चितताकोलागि लगानीकर्ताकै शेयर धितो राख्न पाउनु पर्छ भन्ने माग अघि सारेका छन् भन्ने सुनिन्छ। के त्यो सत्य हो ?
हो। केही माग त्यस्ता पनि छन्। हेर्नुस् मागलाई मैले कहिले पनि नराम्रो ठान्दिन। बालबालिकाहरूले अभिभावकसँग कहिले राम्रो माग पनि गर्छन् कहिले पुर्याउन नसकिने माग पनि राख्छन्। अभिभावकसँग माग राख्न पाउने अधिकार त उनीहरूको हो नै, हैन र ? तर ती माग अहिले नै पुरा गर्ने वा समय आएपछि पुरा गर्ने भन्नेचाहिँ अभिभावकको तजबिजमा भर पर्छ। फेरि अभिभावकले तजबिज प्रयोग गर्दै गर्दा कहिले पनि बालबालिका अहित हुनेगरी तजबिज प्रयोग गर्दैनन् भन्ने बिर्सनु हुँदैन। मैले पनि यसलाई यस्तै ठानेको छु। यस विषयमा अभिभावकको हिसाबबाट मैले भन्नु पर्दा पहिले काम त थाल्नु पर्यो नि। काम गर्दै जाँदा सफलता प्राप्त हुँदै गयो भने समयले नै ती सबै कुरा पुर्याउन बाध्य बनाउँछ। उहाँहरुले स्रोत भन्दै हुनुहुन्छ। अहिले आफूसँग जति छ। त्यति नै बाट सुरु गरौन। सुरु भइसकेपछि त अन्य ढोकाहरू खुल्दै जान्छन्। पहिले हिँड्न चाहिँ सुरु गर्नु पर्यो भन्ने मात्रै मेरो भनाई हो। मैले पहिले हिँडाउने कोशिस गर्दै छु। हिँड्न थालेपछि मैले पनि हात समाइ रहनु पर्छ जस्तो लाग्दैन। हिँड्न जानेपछि भोलि को कहाँ पुग्छ कसले भन्न सक्छ। आज राष्ट्र बैंकले ब्रोकरले मात्रै दिने भन्दा अचम्म मानिरहेका छौ। भोली बैंकले पनि शेयरमा कर्जा दिन्छन् र भन्ने दिन पनि आउँछ। अन्य देशका लगानीकर्ताले अहिले त्यही भन्छन् हैन र ?
अबका योजनाहरू यहाँसँग के के छन् त ?
हाम्रो शेयर बजारमा अहिलेसम्म खाली सेक्युरिटिजको मात्रै कारोबार हुँदै आइरहेको छ। मैले देखेको र बुझेको शेयर बजार यतिमा मात्रै सीमित छैन। स्टक मार्केटको बारेमा मैलै जति पढेको र बुझेको छु त्यो भन्दा निक्कै कम सेवा हामीले दिँदै आइरहेका छाैं। मैले आएकै दिनबाट यसलाई यतिमै समिति राख्नु हुँदैन भनेर प्रयास गरिरहेको छु।
म जहाँ पनि जान्छु त्यहाँ केही नयाँ काम गरौँ भन्ने मलाई लाग्छ। नेप्सेमा आइपछि मैले के नयाँ दिने भन्दा यसको लागि केही नयाँ इन्सटुमेन्ट दिनु पर्छ भन्ने मेरो सोच छ। त्यसको लागि मैले डेरिभेटिभ इन्डेक्स बनाउने भनेर काम अघि बढाएको छु। त्यसमा नेप्से ३० र ५० बनाउने भन्ने हाम्रो योजना छ। त्यसैगरी, इन्ट्रा डे, सर्ट सेलिङ, फ्युचर अप्सनको बारेमा पनि हामीले काम अघि बढाएका छौं।
एकथरी मानिसहरूले अहिले नेपालमा बेला भएको छैन पनि प्रतिक्रिया पाएका छौ। बेला कहिले आउँछ भन्ने उत्तर भने कसैसँग छैन। फेरि म सकारात्मक सोच राख्ने मान्छे। कसैकाे प्रतिक्रियालाई पनि म नकारात्मक मान्दिन। त्यस्ता प्रतिक्रयालाई पनि मध्यनजर गर्दै मैले हाम्रो देशको सन्दर्भमा कसरी लागु गर्न सकिन्छ ? जोखिमहरू के हुन् ? त्यसलाई कसरी न्यूनीकरण गर्ने ? भनेर अध्ययन गरिरहेका छौं।
हाम्रा केही साथीहरू यही विषयमा के कसरी काम हुँदो रहेछ भनेर छिमेकी मुलुकको बजार पनि घुमेर आइसक्नु भयो। उहाँहरुले त्यहाँको अवस्थालाई मध्यनजर गर्दै हाम्रो मुलुक सुहाउँदो हुने गरी योजना बनाउँदै हुनुहुन्छ।
केही नयाँ काम गर्न निक्कै चुनौती हुन्छ। सुरुमा नयाँ कामलाई प्राेत्साहन गर्ने मानिस निक्कै कम हुन्छन्। तिनै चुनौतीका बीच हामीले केही नयाँ दिनु पर्ने छ। तै पनि हामीले गर्नु पर्छ। केही नयाँ दिनै पर्छ भन्ने छ। नेप्सेमा हुनु भएका साथीहरू पनि केही गरौँ भनेर मलाई उक्साइ रहनुहुन्छ। नेप्सेमा भएका साथीहरूको केही नयाँ गरौँ भन्ने भावनाले पनि मलाई यसमा काम गर्न सजिलो पार्छ भन्ने मैले विश्वास लिएको छु। यो नयाँ लगानीकर्ताले पाउनु हुने छ।
सफ्टवेयरमा समस्या दोहोरिएको भनेर गुनासो आइरहन्छ। त्यस विषयमा के सोच्नु भएको छ ?
तपाईले निक्कै महत्त्वपूर्ण कुरा उठाउनु भयो। सुरु देखिनै मैले यो सुन्दै आएको छु। के मानिसहरू त्यसै यो सफ्टवेयर ठिक छैन भन्दै छन् ? केही न केही समस्या छ। त्यही भएर उनीहरू त्यसो भन्दै छन् भन्ने मैले बुझेको छु। हाम्रो सफ्टवेयरले निक्कै गतिलो काम गरिरहेको छ। तर मानिसहरू त्यसै टिप्पणी गरिरहेका छन् भनेर मैले भन्दिन। केही त्रुटि छन्।
कार्यान्वयनमा आएको पाँच वर्ष भइसक्यो। निक्कै सुधार गरिसकिएको पनि छ। तर पनि समस्या भने आइरहन्छन्। त्यसले गर्दा अब त्यो सिस्टम नै रिप्लेस गर्ने कि भन्ने सोचमा हामी पुगेका छौ। सोच मात्रै होइन त्यस विषयमा हामी अध्ययन नै गराउदै छौ।
ब्रोकर कम्पनीले नयाँ टिएमएस ल्याउने भन्ने कुरा थियो। कहाँ पुगेको छ त्यो कुरा ?
त्यसको काम त हामीले सकाइ नै सक्यौ। केही ब्रोकर कम्पनीका साथीहरूले त त्यसको लागि निवेदन दिई सक्नु भएको अवस्था छ। अब ती निवेदनहरू हेरेर हामीले स्वीकृत गर्न मात्रै बाँकी छ। हामी त्यसलाई जति सक्दो चाँडो सकाउँछौ।
केही समयदेखि एसएमइज प्लेटफर्म भन्ने चर्चा चलिरहेको छ। खास त्यो भनेको के हो ? र त्यसको काम कुन अवस्थामा पुगेको छ ?
त्यसलाई बुझाउने गरी भन्नु पर्दा अन्तर्राष्ट्रिय स्तरमा चाँहि स्मल एण्ड मिडियम इन्टरप्राइजेजहरूको छुट्टै प्लेटफर्म मार्फत कारोबार गराउने प्रचलन छ। त्यही अवस्था हामीले नेपालमा पनि सिर्जना गर्न लागेको हो भनेर बुझ्दा सहज होला। यति भन्दा भन्दै पनि त्यो प्लेटफर्ममा कारोबार हुने कम्पनीहरूको कारोबार त अहिले पनि नियमित कारोबारमा हुँदै आएकै छ। तर पनि तिनीहरूलाई छुट्टै बनाउने भन्ने हो। त्यसकालागि नियमहरू पनि संशोधन गर्नु पर्ने हुन्छ। जुन प्रक्रियामा हामी गइ सकेका छौ। त्यो पनि छिट्टै हुन्छ।