स्मार्ट क्यूआर तथा नेपाल पे क्युआरबीच अन्तरआबद्धताको थालनी

Sep 30, 2022 06:25 PM Merolagani



स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु,एससीटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

एससीटी तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्यूआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले क्यूआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर (SmartQR) उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे क्यूआरका मर्चेन्टहरुलाइ क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी नेपाल पे क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्यूआर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल Nepal Pay QR मा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआर (Smart QR) मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।