भारतीय रुपैयाँ कमजोर भएर डलर बलियो हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँ पनि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अहिले १ अमेरिकी डलर साट्दा १३२ रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको अवस्था छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएको हुँदा डलर महंगो हुँदै गएपछि नेपालमा भित्रिने सबै सामाग्री पनि महंगो भएर मुद्रास्फितिमा वृद्धि भएको हो ।
गत वर्षसम्म १ सय १० रुपैयाँको वरिपरि स्थिर रहेको अमेरिकी डलर रुस युक्रेन युद्धसँगै १ अमेरिकी डलर बराबर विनिमय दर १३२ भन्दा बढी पुगेको हो । डलर बलियो हुँदा वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाउने रेमिट्यान्समा केही सकारात्मक योगदान गर्ने गर्दछ भने नेपालले सोही रकम खर्च गरेर पेट्रोलियम पदार्थलगायत अन्य उपभोग्य वस्तुहरु खरिद गर्नुपर्ने हुँदा डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी घाटा नै हुने गरेको एक अर्थविद्ले बताए ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९।८० को लागि आएको बजेटमा मूल्य वृद्धि ७ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेको थियो । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आवको पहिलो महिना मूल्य वृद्धि ८.२६ प्रतिशत र दोस्रो महिना ८.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष भदौ महिनामा मूल्य वृद्धि ३.४९ प्रतिशत मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.१७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.०२ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा तराईमा सबैभन्दा बढी ९.३३ प्रतिशत मूल्यवृद्धि रहेको छ भने पहाडमा ८.८२ प्रतिशत र हिमालमा सबैभन्दा कम ६.६८ प्रतिशत मूल्यवृद्धि रहेको छ । काठमाडौंको मूल्यवृद्धि भने ७.६२ प्रतिशत रहेको छ ।