घट्यो विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर, वाणिज्य बैंकको भने स्थिर

Nov 16, 2022 06:12 AM Merolagani

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका छन्।

कात्तिक महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएका थिए। उनीहरुले मंसिर महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो। उनीहरु मौद्रिक नीतिको समीक्षा हेरेर मात्रै ब्याजदर घटाउने पक्षमा देखिएका थिए।

यता विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। विकास बैंकहरुले कात्तिकको तुलनामा मंसिरको ब्याजदर ०.१५ प्रतिशतविन्दु घटाएका छन् भने फाइनान्स कम्पनीहरुले ०.१५ प्रतिशतविन्दुदेखि ०.२० प्रतिशतविन्दुसम्म ब्याजदर घटाएका छन्। यस अनुसार कात्तिक महिनामा अधिकतममा १३ प्रतिशत रहेको विकास बैंकहरुको ब्याजदर मंसिर महिनामा घटेर १२.८५ प्रतिशतमा झरेको छ। त्यसैगरी, साढे १३ प्रतिशत रहेको फाइनान्स कम्पनीहरुको ब्याजदर घटेर अधिकतममा १३.३५ प्रतिशतमा झरेको छ। यद्यपि, विकास बैंकहरूकाे बेस रेट भने भदाै महिनाकाे तुलनामा बढेकाे देखिएकाे छ।

मंगलबार नै बसेको डेभलपमेन्ट बैंकर्स एशोशियसन र फाइनान्स एशोशिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो।

अहिले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर चर्को छ। व्यवसायीहरुले पनि ब्याजदर घटाउनु पर्छ भन्दै दबाब दिइरहेका छन्। उनीहरुले ब्याजदर घटाउने नीति लिन राष्ट्र बैंकलाई ज्ञापनपत्र पनि बुझाएका छन्। केही व्यवसायीहरु भने सडकमै आएर ब्याजदर वृद्धिको विरोध गरिरहेका छन्।

अहिले केन्द्रिय बैंकले पनि ब्याजदर केहि घटाउने गरी पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। केन्द्रिय बैंकले पहिलो त्रैमासिक समीक्षाबाट सम्भव भएसम्मका माग सम्बोधन गर्ने आश्वासन समेत व्यवसायीलाई दिइसकेको छ।

बजारमा तरलता केहि सहज हुन थालेकोले ब्याजदर विस्तारै घटाउनुपर्नेमा धेरै बैंकरहरु समेत रहेको देखिन्छ। अहिले कर्जाको ब्याजदर उच्च रहेकोले कर्जाको माग निकै कम छ। यसले गर्दा पनि कर्जाको ब्याजदर केहि घटाउन निक्षेपमा ब्याजदर घटाउनुपर्ने बाध्यता छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।