उक्त सेवा मार्फत छिट/पुट कारोबार हुने गरेको छ। तर नेप्सेले भने उक्त कारोबार बारे आफ्नो वेभसाईटमार्फत कुनै जानकारी सम्प्रेषण गर्दैन। जबकि नियम अनुसार नेप्सेले हरेक दिन मार्जिन कारोबार सुविधा अन्तर्गत भएको कारोबारको सूचना आफ्नो वेभसाईटमार्फत सम्प्रेषण गर्नु पर्छ।
“नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५” को बुँदा नम्बर १९ मा सूचना सम्प्रेषण सम्बन्धी व्यवस्था छ। सोही व्यवस्थाको (१) मा “सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अन्तर्गत भएको कारोबारको विवरण अनुसूची–५ बमोजिमको ढाँचामा कारोबार भएको दोस्रो कार्यदिनको मध्यान्ह १२ बजेसम्म नेप्सेलाई उपलब्ध गराउनुपर्ने छ र उक्त विवरण साप्ताहिक रुपमा बोर्डलाई समेत जानकारी गराउनु पर्नेछ” उल्लेख छ। त्यसैगरी सोही बुँदाको (३) मा ब्रोकर कम्पनीले उपलब्ध गराएको उक्त विवरण नेप्सेले हरेक दिन आफ्नो वेभसाईटमार्फत सम्प्रेषण गर्नु पर्ने भनेको छ। “हरेक दिन भएको मार्जिन कारोबार सुविधा अन्तर्गतको कारोबारलाई नेप्सेले अनुसूची– ६ को ढाँचामा दोस्रो कार्य दिनमा आफ्नो वेभसाईटमार्फत सम्प्रेषण गर्नेछ” कार्यविधिमा उल्लेख छ।
कार्यविधिले भनेको अनुसूची अनुसार नेप्सेले मार्जिन सेवा मार्फत कारोबार भएको विवरणमा सूचिकृत सङ्गठित संस्थाको नाम, शेयरको किसिम, कुल शेयर सङ्ख्या र सम्पूर्ण सदस्य दलाल व्यवसायीहरूले लगानी गरेको कुल रकम खुलाएर सर्वसाधारणको जानकारीकोलागि आफ्नो वेभ साइट मार्फत सूचना सम्प्रेषण गर्नु पर्छ। तर नेप्सेले भने अहिलेसम्म उक्त नियमको पालना गरेको छैन। उसले नियम उलङ्घन गर्दै आएको छ। नेप्सेले उक्त नियम उलङ्घन गर्दै आए पनि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले समेत यस विषयमा नेप्सेलाई कुनै सोध खोज गरेको छैन।
यता ब्रोकर कम्पनीहरूले भने नियम पूर्वक नै नेप्सेलाई उक्त सूचना दिँदै आएको दाबी गरेका छन्। नासा सेक्युरिटिजले गत कात्तिक ३ गते मार्जिन ट्रेडिङको स्किम सार्वजनिक गरेको थियो। नासाले बिहीबारसम्म ९ लगानीकर्तालाई उक्त सेवा दिई सकेको जनाएको छ। उसले ६ लाख रुपैयाँका दरले ९ जनालाई मार्जिन मार्फत ऋण दिएको छ। उसले १० लाख रुपैयाँको कारोबारकालागि ६० प्रतिशत हुन आउने ६ लाख रुपैयाँका दरले उक्त रकम उपलब्ध गराएको हो। उपलब्ध गराएको रकमबाट लगानीकर्ताहरूले शेयर समेत खरिद गरिसकेका छन्। के कति रकमको शेयर किने भन्ने विवरण नियम अनुसार नै नेप्सेलाई जानकारी दिँदै आएको नासाको भनाई छ। तर यता ब्रोकर मार्फत कारोबारको विवरण पाए पनि नेप्सेले भने उक्त विवरण अझै सार्वजनिक गरेको छैन।
यस अघि नेप्सेले कारोबारका लागि योग्य कम्पनीको सूचि समेत सार्वजनिक गर्न कन्जुस्याइँ गरेको थियो। निक्कै ढिलोगरी सूची सार्वजनिक गरेको भएपनि नेप्से मार्जिन कारोबारकोलागि छुट्टै टिएमएस खाता खोल्ने व्यवस्था अझै गरेको छैन। मार्जिन कारोबारकोलागि नेप्सेले छुट्टै टिएमएस खाता खोल्ने व्यवस्था नगरिदिएकै कारण मार्जिन सेवा उपलब्ध गराउने कम्पनीले नियमित कारोबारमा प्रयोग हुँदै आएको खातालाई नै मार्जिन खाता मानेर कारोबार गराउन थालेका छन्।
नियमित कारोबार खातालाई नै मार्जिन खाता मानेर कारोबार गरिदिएपछि लगानीकर्ताको सबै शेयर सोही खातामा जान थालेको छ। जसले गर्दा नियमित कारोबार र मार्जिन कारोबार मार्फत शेयर किन/बेच गर्न समस्या हुन गरेको सेवाग्राहीले बताए। “मैले नियमित र मार्जिन दुवै कारोबार गर्छु। तर टिएमएस खाता एउटै छ। हरेक पटक किनबेच गर्दा यो मार्जिन मार्फत गरेको अर्कोचाहिँ नियमित हो भनेर ब्रोकरलाई अर्थ्याइरहनु पर्छ। अनलाइन मार्फत कारोबार गर्दा हरेक पटक ब्रोकर कम्पनीलाई जानकारी गराउनु पर्दा निक्कै समस्या भइरहेको छ ” मार्जिन कारोबार सेवा लिएका एक सेवाग्राहीले मेरो लगानीसँग भने।