सन् २०२० मा कोभिड संक्रमण तीव्र गतिमा फैलिएपछि चीनले आफ्ना नागरिकहरुलाई विदेश भ्रमण गर्न रोक लगाएको थियो । मन्त्रालयले जारी गरेको सूचनामा ट्राभल एजेन्सीहरूलाई थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्विजरल्याण्ड, हंगेरी, न्यूजिल्याण्ड, फिजी, क्युबा र अर्जेन्टिनामा चिनियाँलाई समूहमा यात्रा गर्न अनुमति दिएको हो । त्यस्तै ट्राभल एजेन्सीहरूले पनि एकै समयमा पर्यटकहरूलाई हवाई उडान र होटल प्याकेजहरू प्रस्ताव गर्न समेत अनुमति दिइने सूचनामा उल्लेख छ ।
चिनियाँ स्टेट काउन्सिलको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्र र देशको शीर्ष कोभिड–१९ रेस्पोन्स कार्यदलको विदेश मामिला प्यानलको अनुरोधमा यो निर्णय गरिएको हो ।
सूचनामा स्थानीय अधिकारीहरूलाई देशको पर्यटन उद्योगलाई पुनरुत्थान गर्न परीक्षण कार्यक्रमको महत्व र उनीहरूले कसरी पर्यटकहरूको राम्रो हेरचाह गर्नुपर्छ भनेर बुझ्न आग्रह गरेको हो ।
चिनियाँ अधिकारीहरूले टुर अपरेटरहरूलाई आधिकारिक कोभिड १९ नियन्त्रणका उपायहरुको स्वदेश तथा विदेशमा कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ । पर्यटकहरूलाई उडानमा चढ्नु अघि अत्यधिक संक्रामक रोगबाट संक्रमित छैन भनी सुनिश्चित गर्न, आफ्नो सुरक्षा र स्वास्थ्यमा ध्यान दिन र यात्राको क्रममा स्थानीय कोभिड–१९ का नियमहरू पालना गर्न र आफ्नो घर फर्केपछि महामारी रोकथाम नियमहरुको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगले डिसेम्बर २६ मा घोषणा गर्याे कि चीनले जनवरी ८ मा शुरू हुने अन्तर्राष्ट्रिय आगमनहरूको लागि क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था खारेज गरेर कोभिड–१९ को व्यवस्थापनलाई समूह ‘क’ बाट समूह ‘ख’ मा झारेको छ । यसअघि चीनले जेराे टाेलरेन्स पाेलिसी अन्तर्गत कुनै शहरमा काेभिड संक्रमित भेटिए पुरै शहर नै लकडाउन गर्ने गर्दथे ।
चीनको प्रमुख पर्यटन सेवा दिने वेवसाइट ट्रीप डटकमको तथ्यांक अनुसार होटल बुकिङको लागि आएको बुकिङमध्ये झन्डै आधा जति थाइल्यान्डको होटल कोठाको लागि रहेको छ । गएको हप्ता मात्रै थाइ भिसाको लागि आवेदन दिनेको संख्या ३ गुणाले बढेको छ भने थाइल्यान्डको टुर प्याकेज खरिद गर्ने चिनियाँहरुको संख्या वार्षिक १० गुणाले बढेको अलिबाबाको टुर ब्रान्च फ्लिगिंले जनाएको छ ।
डिसेम्बर २७ को बिहान, आउटबाउन्ड उडान टिकटहरूको लागि अर्डरको संख्या एक दिन अघिको सोही अवधिको तुलनामा २५४ प्रतिशतले बढ्यो । सिंगापुर, कोरिया गणतन्त्र, जापान र थाइल्याण्ड चिनियाँ पर्यटकको सबैभन्दा लोकप्रिय गन्तव्यहरू थिए। सन् २०१९ मो १५ करोड ५० लाख चिनियाँ जनताले विदेश यात्रा गरेका थिए ।
कोभिड संक्रमण घट्दै गएपछि विस्तारै चीनले आफ्ना जनतालाई विदेश भ्रमण गर्न खुला गरेको हो । यसअघि जनवरी ८ गतेदेखि विदेश जान खुला गर्नुका साथै चीनको भूमि भएर अन्य तेस्रो देश जान समेत खुला गरेको थियो । चीनले आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न खुला गरे पनि चिनियाँहरु जाने देशमध्येकै छिमेकी देश नेपाल भने चीनको पछिल्लो २० भ्रमण गर्न खुला गरिएका देशहरुमा परेको छैन । दक्षिण एसियाली राष्ट्रमध्ये माल्दिभ्स र श्रीलंका मात्रै चीनको समूहगत भ्रमण गर्न खुला गरिएको सूचीमा परेको छ । नेपालसँगै भुटान, भारत पनि सो सुचीमा अटाएनन् । त्यसैगरी एसियाली राष्ट्रहरुमा सबैभन्दा बढी चिनियाँ भ्रमण गर्ने देशको सूचीमा रहेको जापान र दक्षिण कोरिया समेत २० राष्ट्रको सूचीमा पर्न सकेको छैन । जनवरी ८ मा बेइजिङले विदेशी राष्ट्रको लागि आफ्नो सीमा खोल्दा त्यहाँ कोभिडको संक्रमण दर एकदमै उच्च थियो । उच्च कोभिड संक्रमणबाट बच्न जापान र दक्षिण कोरियालगायत देशहरुले चीनबाट आउने यात्रुहरुलाई आफ्नो सीमामा टाइट गरेपछि बेइजिङले पनि यी दुई एसियाली देशका नागरिकलाई भिसा जारी गर्न रोक लगाएको जापानी समाचार पोर्टल निक्केइ एसियाले जनाएको छ ।
नेपालले कुटनीतिक पहल नगर्दा नेपाल चिनियाँको भ्रमण गर्ने देशका सूचीमा पर्न नसकेको आरोप चिनियाँ पर्यटन क्षेत्रका ट्राभल एजेन्सीहरुले आरोप लगाएका छन् । ‘चीनलाई जुन जुन देशले स्वतन्त्र रुपमा विना रोकतोक स्वागत गरेका छन, ती देशहरु मात्रै चीनको सूचीमा परेको छ ।’–एक चिनियाँ पर्यटकको क्षेत्रमा काम गर्ने ट्राभल एजेन्सीका सञ्चालकले भने । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले चिनियाँहरुलाई भनेर नेपाल आगमनमा कुनै भेदभाव भने नरहेको बताए । अहिले नेपालमा पर्यटक आउँदा कोभिडको पूर्ण खोप लगाएको कार्ड वा पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने नीति अझै कायम नै छ ।
नेपालको पर्यटनमा चीन एउटा प्रमुख स्रोत गन्तव्य हो । सन् २०१९ मा चीनबाट १ लाख ७० हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालको पर्यटन दुई छिमेकीमै धेरै निर्भर रहेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशमा भारत नै रहेको छ भने दोस्रोमा भने चीन छ । कोभिडको महामारीपछि भने नेपालमा चीनबाट खासै पर्यटक आउन सकेका थिएनन । चीनले अन्तर्राष्ट्रिय यात्रुको लागि आफ्नो भूमि खुला गरेसँगै नेपालमा चिनियाँ पर्यटक बढ्ने आशा गरिएको थियो । चीन, जापान र भारतलगायतका देशबाट धेरै समूहमा पर्यटकहरु नेपाल आउने गरेका छन् । समूहगत पर्यटक पठाउने २० देशको सूचीमा नेपाल नपरेपछि नेपाली टुर अपरेटरहरु निराश देखिएका छन् । अहिले नेपालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको सरकार छ । प्रचण्ड प्रधानमन्त्री भएपछि चीनतर्फको केरुङ नाका सुचारु भइसकेको छ भने चीनको सहयोगमा बन्ने रेलमार्गको अध्ययन गर्न समेत त्यस बीचमा एक टोली नेपाल आएको थियो । सबै परिस्थिति सकारात्मक रहँदा पनि चीनले नेपाललाई भ्रमण गन्तव्य मुलुकको सूचीमा नराखेपछि नेपाली अपरेटरहरु निराश बनेका हुन । ‘नेपाल चीनको बाहिरी गन्तव्य देशको सूचीमा नपर्नु नेपालको दुर्भाग्य हो । नेपालको बेइजिङस्थित दुतावासले चिनियाँ पर्यटक भित्र्याउन विशेष पहल गर्नुपर्छ ।’–एक ट्राभल एजेन्सीका सञ्चालकले भने ।
नेपालमा हालै मात्रै यति एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । पछिल्लो समय नेपालको एभिएसन क्षेत्र असुरक्षित रहेको सूचना बाहिरी विश्वसँगै चीनमा पनि व्यापक रुपमा फैलिएको छ । यही कारण चीनले तत्कालको लागि नेपाललाई चीनको बाह्य भ्रमण गन्तव्य सूचीमा नराखेको हुनसक्ने चिनियाँ रेडियोमा कार्यरत नेपाली पत्रकार लक्ष्मी लम्सालले बताए । नेपालको यातायात प्रणाली एकदमै जोखिमपूर्ण र अस्तव्यस्त रहेको सूचना बेला बेलामा आउने गरेको बताउँदै उनले नेपालले यसमा सुधार गर्न जरुरी रहेको बताए ।