के नयाँ ब्रोकरहरूबाट लगानीकर्ताले यही आर्थिक वर्षमा कारोबार गर्न पाउनेछन् ? धितोपत्र बोर्ड पछि अब नेप्सेले के गर्नुपर्छ ?

May 27, 2023 11:01 AM merolagani



लगानीकर्ताहरूले बर्सौँदेखि उठाउँदै आएको अर्को नयाँ स्टक एक्सचेन्जको माग कति जायज छ भन्ने प्रश्नको परीक्षणको घडी अब सुरु भएको छ।

धितोपत्र बोर्डले फास्ट ट्र्याकबाट ७ वटा नयाँ ब्रोकर लाइसेन्स दिई सकेको छ। धितोपत्र बोर्डबाट लाइसेन्स लिएपछि अब नयाँ ब्रोकरहरूले धितोपत्र दलालको रुपमा कार्य गर्न अनिवार्य रुपमा नेप्सेको सदस्यता लिनु पर्ने हुन्छ। नेप्सेले दिएको जानकारी अनुसार बुधवार नै ७ वटा नयाँ ब्रोकरहरूले धितोपत्र दलालको रुपमा कार्य गर्ने उद्देश्यका साथ नेप्सेको सदस्यताको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन सबै आवश्यक निवेदन तथा कागजातहरू पेस गरिसकेका छन् । यस उपर आवश्यक कार्यवाही गर्दै नेप्सेले निवेदन दिने सबै कम्पनीहरूलाई विद्युतीय कारोबार प्रणाली सहित अन्य व्यवस्थाहरू गर्नको लागि यथाशक्य छिटो प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ ।   

यस अनुसार यदि नेप्सेले पनि फास्ट ट्र्याकमा काम गर्ने हो भने नेप्सेले नयाँ धितोपत्र दलाल व्यवसायीहरूले तयार गर्नुपर्ने पूर्वाधारको सूची बनाई सोही अनुसार सबै ब्रोकरहरूलाई पूर्वाधार तयार पारेर आउन तुरुन्तै निर्देशन दिन सक्दछ । नयाँ ब्रोकरहरूले विद्युतीय कारोबार प्रणाली सञ्चालनका लागि आवश्यक हुने डाटा सेन्टर तथा यसको व्याकअपका लागि आवश्यक हुने डिजास्टर रिकभरी लगायतका आवश्यक विभिन्न फ्रेम वर्क  र पूर्वाधारहरू तयार पारेको जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ । यसरी आवश्यक पूर्वाधार तयार गरेको जानकारी पाएपछि नेप्सेले आफ्नो मापदण्ड अनुसारको विद्युतीय कारोबार प्रणाली सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार भएको वा नभएको जाँच गर्ने छ र सबै पूर्वाधार मापदण्ड अनुसार तयार भएको पाएमा नेप्सेले विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने व्यवस्था गर्नुका साथै तुरुन्तै नयाँ ब्रोकरहरूलाई नयाँ दलाल सदस्यता प्रदान गर्न सक्नेछ।

यो प्रक्रियालाई नेप्सेले फास्ट ट्र्याकमा लान चाहे अहिले नेप्सेले नयाँ ब्रोकरहरूलाई पूर्वाधार तयार पार्न तुरुन्तै सूचना दिन सक्नेछ र अहिलेकै संरचनामा नयाँ ब्रोकरहरूले विद्युतीय कारोबार प्रणालीको व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएको कम्पनी वाइकोलाइ पूर्वाधार तयार पार्न निर्देशन दिएको खण्डमा एकै हप्ता भित्र आवश्यक सबै पूर्वाधारहरू तयार पार्न सक्ने जानकारी वाइकोका प्रतिनिधिले दिएको छन्।

यसरी तयार परेको संरचनालाई टेष्टिङ गर्न लगभग थप एक हप्ता लाग्ने छ र चाँडो भन्दा चाँडो कार्य गर्ने हो भने नेप्सेले यो सबै काम लगभग १५/२० दिन भित्रमा पुरा गर्न सक्नेछ।  सो अनुरूप यदि यही आर्थिक वर्ष भित्र लगानीकर्ताहरूले नयाँ ब्रोकरहरूबाट लगानी गर्न पाए नेप्सेले पनि छिटो छरितो काम गर्न सक्ने रहेछ भन्ने प्रमाणित हुनेछ । तर यदि नेप्सेले सदस्यता प्रदान गर्ने तथा विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने डाटा सेन्टर तथा डिजास्टर रिभरकीको जाँच परीक्षण गर्ने काम गर्नलाइ नै २/३ महिना लगाइदिएमा पुनः एक पटक पक्का यकिन हुनेछ किन नयाँ नेप्से किन जरुरी रहेछ र कसरी नेप्सेकै अधीनमा भएको सम्पूर्ण कामहरू गर्नलाई समेत यत्रो समय लाग्ने रहेछ । धितोपत्र बोर्डले फास्ट ट्र्याकमा सम्पन्न लाइसेन्स दिइसकेको परिपेक्षमा नेप्सेले नयाँ ब्रोकरहरूलाई सदस्यता प्रदान गर्न कति कति दिन लगाउँछ ? नेप्सेको नेतृत्व तथा व्यवस्थापन लगायत यस सम्बद्ध कार्य गर्ने सबै कर्मचारीहरूको परीक्षणको घडी सुरु भएको छ।