आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट वाचन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे मन्त्रिपरिषदको बैठकले बजेट पारित गर्ने छ । मन्त्रिपरिषदले पारित गरेपछि अर्थमन्त्रीले संसदमा सो बजेट प्रस्तुत गर्नेछन् ।
लक्ष्य भन्दा कम राजस्व र कम वैदेशिक सहायता उपलब्ध भएको एवम् सुस्त गतिमा अगाडि बढिरहेको अर्थतन्त्रलाई गतिशिल बनाउने गरी बजेट ल्याउनुपर्ने जिम्मेवारी अर्थमन्त्रीको काँधमा छ । योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको सिलिङ दिएकाले त्यसकै वरिपरि रहेर अर्थात १७ खर्बको हाराहारीमा नयाँ बजेट आउने बताइएको छ ।
चालु खर्च नै भेट्न मुश्किल हुने गरी मात्र चालु आवमा राजश्व संकलन भएकाले सरकारले कर्मचारीको तलब भत्ता बढाउने, सामाजिक सुरक्षा भत्ता बढाउने लगायतका प्रचारमुखी कार्यक्रम बजेट नसमेटिने भएको छ ।
चालु आवका लागि माओवादीको तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट पेश गरेकोमा एमालेबाट अर्थमन्त्री भएकाले विष्णु पौडेलले त्यसलाई मध्यावधिक समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब पुर्याएका थिए । जनार्दन शर्माले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखे पनि अर्थतन्त्रमा पर्याप्त आर्थिक गतिविधि नहुँदा २ प्रतिशतभन्दा कम मात्रै आर्थिक वृद्धि हुने आंकलन राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।