साइकलमा औषधि बिक्री गर्थे डाबर कम्पनीका संस्थापक, यसरी बनाए विश्वप्रसिद्ध कम्पनी

Jun 21, 2023 06:18 PM Merolagani



डाबर अहिलेकाे समयमा एक प्रख्यात कम्पनी हो, तर यो आयुर्वेदिक औषधिबाट सुरु भएको हो भन्ने बारे निकै कम व्यक्तिहरुलाई मात्र थाहा छ। डाबरको सुरुवात सन् १८८४ मा डा. एसके बर्मनले गरेका थिए।

डा. बर्मन एक आयुर्वेद विशेषज्ञ थिए। उनले कोलकाताबाट काम सुरु गरेका थिए। जसका कारण पूरै परिवार पञ्जाबबाट कोलकाता सर्नु पर्यो। ८० को दशकमा उनले हैजा, कब्जियत र मलेरिया जस्ता औषधिहरुको सूत्र तयार गर्नेबाट आफ्नो काम सुरु गरेका थिए। औषधि बनाएपछि डा. बर्मनले साइकलमा घुमेर बिक्री गर्न थाले।

बिरामीहरूले उनलाई डाबर भन्न थाले। जसमा डाक्टरको ‘डा’ र बर्मनको ’बर’ समावेश थियो। यसरी उनी डाबर भनेर चिनिन थाले। बिस्तारै, उनले औषधिमा थप काम गर्न थाले र पहिलो अनुसन्धान इकाई स्थापना गरे, जसको नाम डाबर राखिएको थियो।

दिल्ली आउने निर्णय गरे

१९०७ मा डा. बर्मनको मृत्यु पछि, उनका छोरा सीएल बर्मनले विरासतलाई अगाडि बढाए र त्यसपछि उनले कारखानालाई दिल्लीमा सार्ने निर्णय गरे। कम्पनीले औषधि बाहेक अन्य उत्पादनहरु पनि बनाउन थाल्यो। ती उत्पादनहरुलाई हेल्थ केयर प्रोडक्ट, हेयर केयर प्रोडक्ट, स्किन केयर प्रोडक्ट र फूड प्रोडक्ट गरी चार वर्गमा विभाजन गरियो। कोलकाताबाट सुरु भएको कम्पनीको यात्रा समयसँगै दिल्लीमा बढ्दै गयो। सन् १९८६ मा डाबर एक सार्वजनिक कम्पनी बन्यो र यसको नाम डाबर इन्डिया लिमिटेड राखियो।

स्वास्थ्य सेवा उद्योगमा ठूलो कदम

सन् १९९३ मा, कम्पनीले ठूलो निर्णय लियो र स्वास्थ्य सेवा उद्योगमा आफ्नो दायरा विस्तार गर्दै हिमाचल प्रदेशमा क्यान्सर उपचार प्लान्ट स्थापना गर्यो। त्यसपछि कम्पनीले अन्तरराष्ट्रियस्तरमा आफ्नो उत्पादनको दायरा विस्तार गर्यो। सन् २००० सम्ममा, कम्पनीको कारोबार बढेर १० अर्ब पुग्यो र आफ्नो क्षेत्रको मार्केट लिडर बन्यो।

डाबरको उत्पादनको आधार आयुर्वेद भएकाले त्यसप्रति जनताको आस्था बढ्दै गयो। कम्पनीले आफ्नो उत्पादनको ट्यागलाइन ‘विज्ञानमा आधारित आयुर्वेद’ राखेको छ। यस बाहेक ‘लिभ बेटर विथ डाबर’ पनि राखिएको थियो। यी ट्यागलाइनहरुको सकारात्मक प्रभाव कम्पनीको नाफा र जनतामा पनि पर्यो।

सन् १९९७ सम्म कम्पनीको कमाण्ड बर्मन परिवारका एक न एक व्यक्तिको हातमा थियो। सन् १९९८ मा कम्पनीले पहिलो पटक परिवारबाहेक अन्य व्यक्तिलाई सीईओको जिम्मेवारी दियो। कम्पनीले त्यसको फाइदा पनि पायो। कम्पनीको कारोबार सन् २००० मा पहिलो पटक १० अर्ब नाघ्यो।

धेरै कम्पनीहरू अधिग्रहण गरे

डाबरले धेरै कम्पनीहरू खरिद गर्यो। सन् २००५ मा, कम्पनीले ओडोनिल उत्पादन गर्ने बलसारा समूहलाई १४३ करोडमा अधिग्रहण गर्यो। सन् २००८ मा, डाबरले फेम केयर फार्मा प्राप्त गर्यो। २०१० मा, डाबरले होबी कस्मेटिक कम्पनी किन्यो, जुन डाबरले अधिग्रहण गरेको पहिलो विदेशी कम्पनी थियो। डाबरले २०११ मा अजन्ता फार्माको ३० प्लसलाई प्राप्त गरेर प्रोफेशनल स्किन केयर बजारमा प्रवेश गर्यो।

बनाइरहेको छ २५० भन्दा बढी हर्बल प्रडक्ट

डाबरले हाल २५० भन्दा बढी हर्बल प्रडक्टहरू उत्पादन गरिरहेको छ। कम्पनीका आफ्नै ८ वटा ब्राण्ड छन्। कम्पनीले हेल्थ केयर क्षेत्रमा च्यवनप्रस, मह, पुदिनहारा, लाल तेल, हनिटसलगायतका धेरै उत्पादनहरु उत्पादन गर्दै आएको छ। त्यसैगरी, पर्सनल केयर क्षेत्रमा अमलाबाट मेल र रातो पेस्ट बनाइरहेको छ।

(अनुवादित)




comments powered by Disqus