प्रिमियममा आईपीओ निष्काशन गर्दै आईएमई लाइफ इन्स्योरेन्स

Jun 09, 2023 08:33 AM Merolagani



आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिनेछ। त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछ। त्यसैगरी, सर्वसाधारण लगानीकर्ताहरुले असार २० गतेदेखि २४ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।