३ सातापछि २००० विन्दुमाथि उक्लियो नेप्से

Sep 13, 2023 03:13 PM Merolagani



नेप्से परिसूचक ३ सातापछि २००० विन्दु माथि उक्लिएको छ। गत भदौ ७ गते २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, सोपश्चात निरन्तर २००० विन्दुभन्दा तल बन्द भइरहेको थियो। भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक २००० को विन्दु पार गरेको हो।

बुधबार नेप्से परिसूचक ३९.४८ अंक बढेर २००७.०६ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७५ स्टकको ३६ हजार ४५ पटकको कारोबारमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तैगरी, यस दिन समता घरेलु लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन थ्रीस्टार हाइड्रोपावरको मूल्य भने सर्वाधिक ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तैगरी, यस दिन सोल्टी होटल र एभरेष्ट बैंकको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।