नेप्से सामान्य अंक नकारात्मक, कारोबार रकम पनि सामान्य घट्यो

Jun 22, 2026 03:13 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से सामान्य अंक नकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन भने नकारात्मक भएर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३५३ स्टकको ९० हजार ८६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको ८१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन्। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ भने करिब २९ करोड रुपैयाँको १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अंकका आधारमा यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५६.२१ अंक घटेको छ।