मंगलबार नेप्से परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।
नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो सोमबार ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६० स्टकको ५३ हजार ३० पटकको कारोबारमा ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६० रुपैयाँ ८० पैसा बढेर ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल्य १२ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको यूनिलिभर नेपालको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ५८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।