नेप्सेसँगै बढ्यो कारोबार रकम

Oct 28, 2026 03:09 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब स्थिर रहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरकोा शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ६३ हजार ७४४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ भने सुपर खुदी हाइड्राेपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।