३२ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक राष्ट्र बैंकले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट गर्न खोज्दा बजारमा निरन्तर रुपमा गिरावट आएको छ । विगत दुई वर्षदेखि निरन्तर रुपमा राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक देखिँदा पुँजीबजार लगानीकर्ता मारमा परेका छन् । पुँजीबजार लगानी कर्ताहरुले सरकार र नेपाल राष्ट्र बैंकको अस्थिर नीतिको कारण मनोबल कमजोर भएको बताउँदै आएका छन् ।
राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको भन्दै आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा महामारीको असर न्यूनिकरण गर्न अवलम्वन गर्ने शेयर बजारलाई कडाई गरेको थियो । आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४-१२ को नीति लिएको थियो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोड सीमा हटाएपनि १२ करोडको सीमा कायमै राखेको छ । शेयर बजार ४-१२ को नीतिको कारण संकटमा परेको लगानीकर्ताहरुको दाबी छ । पछिल्लो समय वर्तमान सरकार शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने पक्षमा सकात्मक देखिएपनि राष्ट्र बैंक आफ्नो अडानमा कायम राखेको छ ।
अर्थमन्त्री डा.प्रकाशरण महतले समेत सार्वजनिक कार्यक्रमहरुमा १२ करोडमा सीमा हटाउनुपर्ने बताउँदै आएका छन् । अर्थमन्त्रीले समेत नेपाल राष्ट्र बैंकले पुँजीबजार र अर्थतन्त्रको माइक्रो म्यानेजमेण्ट गर्ने काम गर्न नहुने बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति गत साउन ७ मा आएपछि नेप्से परिसूचक ८ साउनबाट घट्न थाल्यो । मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार घटाउने बताए पनि सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि नेप्से घट्न लागेको थियो ।
गत साउन ७ गतेदेखि असोज २ गते मंगलवारसम्म नेप्सेपरिसूचक २४१.९२ अंकले गिरावट आएको छ । पुँजीबजार लगानीकर्ता तथा जानकारहरुले पुँजीबजारको पछिल्लो गिरावटको प्रमुख कारण राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्नुभएको जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहनुभइएका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेण्टको कारण शेयर बजार माथि उठ्न नसकेको दाबी गरे ।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितोकर्जामा १२ को नीति लिने मात्रै नभएर बैंकहरुको प्रोडक्ट कम्पनी नै किटान गरेर कर्जा दिनु भन्नु गलत भएको बताए । उनले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुको शेयर कर्जाका प्रोडक्टहरुमा समेत चासो दिने गरेको भन्दै राष्ट्र बैंकप्रति असन्तुष्टि जनाए ।
उनले राष्ट्र बैंकले नै शेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेण्ट गर्नेकुरा गलत भएको बताए । पौडेलले पुँजीबजारमा कति लगानी गर्ने भन्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो भएको पनि टिप्पणी गरे ।
उनले नियमनकारी निकायहरुले यस्तो गर्दा पुँजीबजार तलमाथि हुनु लगानीकर्ताहरुको विमति भएको बताए । उनले १२ करोडको शेयर धितोकर्जाको सीमा व्यक्तिगत लगानीकर्ताको लागि प्राप्त भएपनि संस्थागत लगानीकर्ताहरुको हकमा लागू गर्नु नेप्से परिसूचक गिरावटको प्रमुख कारण रहेको बताए । उनले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा व्यक्तिगतको लागि १२ करोड ठिक भएको भन्दै संस्थागत लगानीकर्ताको लागि पनि एउटै नीति लागू राम्रो नभएको उल्लेख गरे ।
सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आईपीओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु प्रिमियमतर्फ लागेको बताए । पौडेलले संस्थागत लगानीकर्तालाई शुन्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्नेमा जोड दिए । लगानीकर्ता पौडेलले शेयर बजार घट्नै हुँदैन भन्ने मास साइक्लोलोजी हुनुले बजारको आधारभुत ज्ञान छैन भन्ने बुझ्नुपर्ने बताए । उनले पुँजीबजार घट्ने र बढ्ने प्रकृया प्राकृतिक भएको बताए ।
त्यस्तै,नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताए । उनले पुँजीबजार लागनीकर्ताहरु पुँजीबजारको माइक्रो म्यानेजमेण्टको विषयमा कन्सिस्टेन्सी (एकरुपता) हुन आवश्यक रहेको बताए । उनले पुँजीबजारको विकास र बिस्तारको लागि लगानीकर्ताहरुको व्यवहारमा सोचमा र हाम्रो फिलोसोफीमा कन्सिस्टेन्सी आउनुपर्ने बताए ।
उनले धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता आफ्नो टिममा रहेको बताए । उनले समग्र अर्थतन्त्रमा देखिएको निराशाले शेयर बजारमा कन्फिडेण्टमा कमी देखिएको बताए । अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा चाँडै ब्रेक थ्रु हुने बताए । उनले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने बताए । अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए ।
निर्वाचनपछि बनेको नयाँ सरकारले पुँजी बजारप्रति देखाएको चासोले लगानीकर्ताहरूको मनोबल बढाएपनि बजेट तथा मौद्रिक नीतिपछि लगानीकर्ताहरु चरम निराशामा रहेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठककै निर्णयमा पुँजीबजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने भनेसँगै लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढेपनि पछिल्लो तीन महिना शेयर बजार उच्च रुपमा गिरावट आएको छ । सरकारले नेपाली पुँजीबजारको थप विकास र बिस्तारको लागि विगतमा गरेका कडा नीति परिमार्जन गरी लगानीकर्ताको मनोबल उच्च बनाउन आवश्यक देखिएको छ ।