विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै नेपाल शिक्षक महासंघले आह्वान गरेकाे हाे । साेहि कारण देशभरका शिक्षकहरु यतिबेला काठमाडौंकाे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सडक नै जाम गरेर प्रदर्शन गरिरहेका छन् ।
शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ नारा लगाइरहेका छन् ।
महासंघले १७ बुँदे माग राख्दै आन्दोलनकाे घोषणा गरेको हाे । महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी/करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको माग राखेका छन् ।
माइतीघर क्षेत्रको सडक खुलाउने ट्राफिक प्रहरीले काेशिस गरिरहेको छ । सवारी आवागमनमा कठिनाइ भएपछि ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको हाे ।