भिजन लुम्बिनी उर्जाको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Nov 02, 2023 10:56 AM Merolagani

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज (कात्तिक १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३५ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १९ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

सो निष्काशनपश्चात बाँडफाँट भई बाँकी रहेको शेयर सहित तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको ९५ हजार ६२५ कित्ता र कर्मचारीहरुका लागि ३८ हजार २५० कित्ता शेयर छुट्याई २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर १ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल २ लाख ७ हजार ५२८ आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा ५ कित्ता बाँकी रहन्छ। सो ५ कित्ता शेयर पनि २ लाख ७ हजार ५२८ आवेदकमा नै बाँडफाँट गरिन्छ। त्यस अनुसार सोमध्ये ५ लगानीकर्ताले कम्पनीको थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। आवेदन दिँदा १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्ने भएकोले ११ कित्ता शेयर प्राप्त गर्न २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इन्फोमेरिक्सले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई २०७९ पुस २९ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० पुस २८ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अनुसार २०७५ असोज २६ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भई आफनो कारोबार संचालन गर्दै आइरहेको कम्पनी हो। कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, वुटवल महानगरपालिका वडा नं.६, गुरुद्धापथ, बुटवलमा रहेको छ भने का.म.न.पा. वडा नं. १० बुद्धनगर, काठमाण्डौंमा कर्पोरेट कार्यालय स्थापना गरी नियमित प्रशासनिक कार्य सञ्चालन गरिरहेको छ।

नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट मिति २०७७ असार १५ गते २५ मेगावाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो।

कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका साविक घाचोक, सार्दिखोला, पुरानचौर र माछापुच्छ्रे गा.वि.स भई बग्ने खोलाको पानी उपयोग गरी २५ मेगावाट क्षमताको सेतिनदी जलविद्युत आयोजना निर्माण गर्दै आइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मिति देखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा (२५,००० किलोवाट) खरिद बापत वर्षा याममा प्रति किलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र सुख्खा याममा प्रति किलोवाट घण्टा ८ रुपैयाँ ४० पैसा विद्युत खरीद दर रहेको छ। साथै व्यापारीक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागु हुनेगरि प्रत्येक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले ८ पटकसम्म मुल्य बृद्धि दिई विद्युत उर्जा खरिद दर कायम गरिएको छ।

कम्पनीको विद्युत उत्पादन हुने सम्भावित मिति २०८० माघ २९ गते रहेको छ। आयोजनाको कुल लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पुँजीको २० प्रतिशत अर्थात ३८ करोड २५ लाख रुपैयाँ बराबर प्रति शेयर अंकित मुल्य १०० रुपैयाँको ३८ लाख २५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको (आयोजना प्र्रभावित क्षेत्रका वासिन्दाका लागि छुट्टयाइएको समेत) निमित्त छुटयाईएको छ। कम्पनीबाट निर्माणका लागि अगाडी सारिएका आयोजनाको विकासका लागि पूँजी संकलन गर्नु आईपीओ निष्काशनको मुख्य उद्देश्य रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले आईपीओ निष्काशन गरी संकलित रकममध्ये २५ करोड ४७ लाख ९ हजार १०० रुपैयाँ सिभिल वर्कसका लागि, ७ करोड १५ लाख ११ हजार ३२६ रुपैयाँ हाइड्रो मेकानिकल कार्य गर्न र ५ करोड ६२ लाख ७९ हजार ५७४ रुपैयाँ ट्रान्समिसन लाईनको कार्य गर्न प्रयोग गरिनेछ।

चालु आर्थिक वर्षमा ९० करोड १५ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९० करोड १५ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा पुग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले असार मसान्तसम्ममा ६० करोड ८५ लाख रुपैयाँ सञ्चित नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षमा कम्पनीले १ अर्ब २४ करोड सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८५ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको १० प्रतिशत, सर्वसाधारणको १० प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम (२७)(१) अनुसार यस कम्पनीमा १ (एक) जना महिला संचालक सहित बढीमा ११ (एघार) जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको छ। समूह ‘क’ को तर्फबाट हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट मनोनित भई आएको १ जना सदस्य सहित मनोनित/निर्वाचित ७ (सात) जना र समूह ‘ख’ को तर्फबाट २ जना र २ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था रहेको छ।

कम्पनीको नियमावलीको नियम २८ मा भएको व्यवस्था अनुसार सञ्चालकको पदमा नियुक्त हुनका लागि आफनो नाममा कम्तीमा १०० कित्ता शेयर लिएको हुनु पर्नेछ तर स्वतन्त्र सञ्चालक र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा उपरोक्त व्यवस्था लागु हुने छैन।

कम्पनीमा संस्थापक शेयरधनीको रुपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक, रिलायन्स लाईफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाईनान्स, मल्टीपर्पस फाइनान्स, लुम्बिनी मेडिकल कलेज, न्यू होराइजन इंग्लिस सेकण्डरी स्कुल, मुक्तिनाथ क्यापिटल, युनाइटेड टेक्निकल कलेज प्रा.लि., भिजन लुम्बिनी लिमिटेड लगायत बैंकिङ्ग क्षेत्र, जलविद्युत क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि उद्योग तथा ब्यापार क्षेत्र एवं व्यबस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन्।

हाल कम्पनीको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा जगत बहादुर पोखरेल रहेका छन्। त्यसैगरी, कम्पनीको अन्य सञ्चालकहरुमा लेखनाथ पाण्डे, ज्ञानेन्द्र प्रसाद कसजु श्रेष्ठ, दीपक बहादुर शाक्य, विनोद ज्ञवाली, सन्तोष पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी, सुदिप सिंह अधिकारी, प्रजन्य विक्रम पोखरेल र तेज कुमार गुरुङ रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, अन्य जलविद्युत आयोजनाहरुमा लगानी र जलविद्युत कम्पनीहरुको धितोपत्रमा लगानी गरी नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।

आफ्नै नाममा रहेको कास्की जिल्लामा अवस्थित २५ मेगावाट सेतीनदी जलविद्युत आयोजना निर्माणको चरणमा छ। कम्पनीले मुख्य रुपमा यहि परियोजनामा लगानी गर्ने योजना बनाएको छ।

सेतीनदी जलविद्युत आयोजनाको निर्माण पश्चात कम्पनीको आयमा हुने प्रवाहको आधारमा नयाँ आयोजनाहरुको खोजी गरि नयाँ जलविद्युत आयोजनाहरुको निर्माण गर्दै जाने लक्ष्य रहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्से ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२१ रुपैयाँ ७८ पैसादेखि ३६५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।