झापा इनर्जीको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Sep 05, 2025 11:26 AM Merolagani



झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते), शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशतले हुन आउने ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले २८ हजार ५१४ कित्ता शेयर सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज (भदौ २० गते) देखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज ३ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४७ हजार ३३३ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ६ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दर बाँडफाँट गर्नेछ। त्यसैले, लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ११ कित्त प्राप्त गर्न २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८२ बैशाख १७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ बैशाख १६ गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

सौर्य उर्जा आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७५ साल असोज ६ गते, नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भई सञ्चालनमा रहेको छ।

कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय विर्तामोड वडा नं. ४, झापा, तथा सौर्य उर्जा उत्पादन केन्द्र शिवसताक्षी नगरपालिका वडा नं. ४ मा रहेको छ।

कम्पनीले सौर्य उर्जा, जलविद्युत तथा अन्य उर्जा सम्बन्धि आयोजना निर्माण, उत्पादन, बिक्री वितरण सम्बन्धि विभिन्न कार्यहरु गर्नेछ।

कम्पनीले नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट २०७९ बैशाख ११ गते ग्रीडमा आवद्ध १० मेगावाटको सौर्य विद्युत आयोजना विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको छ र उक्त अनुमतिपत्र बहाल मिति २२ वर्ष बाँकी रहेको छ।

कम्पनीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा १० मेगावाट क्षमताको ग्रीडमा आवद्ध सौर्य विद्युत आयोजना, शिवसताक्षी, झापा निर्माण गरी सञ्चालन गरिरहेको छ।

उक्त आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.६६ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पूँजीको २५ प्रतिशत अर्थात ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर सर्वसाधारणहरुको निमित्त छुटयाईएकोले कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओ निष्काशनको मुख्य उद्देश्य आयोजनाको कर्जा भुक्तानी गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

प्राथमिक शेयर निष्काशन तथा बिक्रीबाट प्राप्त हुने रकम कम्पनीले माछापुच्छ्रे बैंकको अगुवाईमा र हिमालयन बैंक (साबिकको सभिल बैंक) को सहभागितामा लिएको सह– वित्तिय कर्जा चुक्ता गर्न प्रयोग गर्नेछ। २०८१ चैत्र मसान्तसम्ममा माछापुच्छ्रे बैंक र हिमालयन बैंकमा ५६ करोड ५५ लाख रुपैयाँ दीर्घकालिन कर्जा तिर्न बाँकी रहेको छ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १ करोड ३१ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ३ लाख ४८ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १२ पैसा थियो भने प्रतिशेयर आम्दानी ५० पैसा थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा १ करोड ७५ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ८४ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९३ पैसा ऋणात्मक हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम (२७) मा भएको व्यवस्था अनुसार कम्पनीमा १ जना महिला सहित ११ जना सञ्चालक रहेको सञ्चालक समिति हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट निर्वाचित हुने ७ जना, व्यवसायिक विशेषज्ञ सञ्चालक २ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित हुने २ जना रहने व्यवस्था रहेको छ।

हाल कम्पनीमा संस्थापक समूहबाट मनोनित ७ जना र व्यवसायिक बिशेषज्ञ स्वतन्त्र सञ्चालक २ जना रहेको छन्। सर्वसाधारणमा शेयर निष्काशन गरे पश्चातको पहिलो साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरूबाट २ जना सञ्चालक नियुक्त गरिनेछ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लाल प्रसाद साँवा लिम्बु रहेका छन्। त्यस्तै, कम्पनीको प्रबन्ध सञ्चालक सुवास भटट्राइ रहेका छन् भने अन्य सञ्चालकमा द्धिराज शर्मा शिवाकोटी, पवित्रा देवि महतरा, रामचन्द्र उप्रेती, नरहरी फुयाल र नारायण प्रसाद पोखरेल रहेका छन्। कम्पनीका स्वतन्त्र सञ्चालक भिम बहादुर लिवाङ्ग र दिपेन्द्र प्रसाई रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य सौर्य उर्जा उत्पादन गर्ने र सोका लागि उत्पादन गृह तथा आवश्यक पुर्वाधार निमार्ण गर्ने रहेको छ। कम्पनीले आफ्नो आयमा हुने प्रवाहको आधारमा नयाँ आयोजनाहरुको खोजी गरि नयाँ सौर्य उर्जा उत्पादन तथा जलविद्युत आयोजनाहरुको निर्माण गर्दै जाने लक्ष्य लिएको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १२ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।