तर,अहिले नेपालको अर्थतन्त्र न चलायमान हुन सकेको छ न त सुधारोन्मुख अवस्थामा नै छ । अर्थतन्त्रमा सुधार ल्याउनु भन्दा पनि अहिलेको समस्या भनेको विग्रिन नदिएर जोगाएर राख्न सक्नु हो र लयमा फर्काउनु हो ।
अहिले देशको अर्थतन्त्र खस्कदै गएको छ । एकातिर पूँजीगत वजेट खर्च हुन सकेको छैन भने अर्को तर्फ चालु खर्चले सीमा नाघिसकेको छ । पूँजीगत खर्च कम हुनु र साधारण खर्च बढ्नु भनेको अर्थशास्त्रीय दृष्टिकोणबाट देशको अर्थतन्त्र कमजोर हुनु हो ।
शेयर बजारको कुरा गर्दा अर्थतन्त्रलाई अलग्याएर कुरा गर्न सकिदैन । किनभने शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । जुन देशको शेयर बजार गतिशील एबं समृद्ध हुन्छ त्यस देशको आर्थिक अवस्था राम्रो भन्न सकिन्छ ।
वर्तमान अवस्थामा नेपालको समग्र अर्थतन्त्र नै कमजोर हुँदै गएको छ । राजस्व उठ्न नसकेको कारणले गर्दा आर्थिक वर्षको प्रारम्भदेखि नै सरकारले आन्तरिक ऋण उठाएको अवस्था छ । पूँजीगत खर्चमा राजस्व बचतको योगदान हुनै सकेको छैन । साधारण प्रकृतिको खर्च संचालन गर्न पनि ऋण लिनु पर्ने अवस्था देखिएको छ ।
सार्वजनिक ऋण बढेर करिव २४ खर्व पुगेको छ । नेपाल जस्तो अतिकम विकसित मुलुकमा प्रतिब्यक्ति ८० हजारको ऋणभार पुग्नु भनेको डरलाग्दो संकेत हो । अर्को तर्फ बैदेशिक अनुदान क्रमिक रुपले प्रत्येक बर्ष घट्दो क्रममा छ । प्रत्येक बर्ष ऋण बढ्दै जानु, लक्ष्य अनुरुप राजस्व असुली हुन नसक्नु, चालु खर्चले पूँजीगत खर्चलाई उछिन्नु , पूँजीगत बजेट भन्दा वित्त ब्यबस्थापनमा बढी बजेट विनियोजन भएको अवस्थालाई अध्ययन गर्दा नेपालको अर्थतन्त्रमा छोटो अवधिमा सुधार ल्याउन सकिने अवस्था छैन । यस्तो कठिन अवस्थामा शेयर बजारमा सुधार आउन नसक्नुलाई स्वभाविक रुपमा लिनु पर्दछ ।
देशको अर्थतन्त्र अहिलेमात्र कमजोर भएको होइन । ०७२ सालको महाभूकम्प, त्यही समयमा भारतले लगाएको नाकावन्दी, कोभिड – २०१९ को संक्रमणले पनि नकारात्मक असर पारेकै हुन् । यिनै कारणहरुले गर्दा राष्ट्रिय अर्थतन्त्र नराम्रासँग खल्वलियो । अहिले फेरी रुस– युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा नै प्रभाव पारेको हुँदा त्यसको बाछिटा नेपाललाई पनि परेको छ । मुलतः ईन्धनमा मूल्यबृद्धि हुन गएकोले नेपाल जस्ता परनिर्भर मुलुकहरुको जीवनयापन कष्टकर बन्दै गएको छ । केही दिन यता ईजरायल-प्यालेष्टाइन बीच भएको लडाइले विश्व नै भयभित भएको अवस्था छ । यसले पनि केही हदसम्म असर पारेकै हुन्छ ।
आर्थिक वर्ष ०८०।०८१ को बजेटमा मूल्यबृद्धिको सीमा ६.५ प्रतिशत निर्धारण गरिए पनि अहिले नै करिव १० प्रतिशतको हाराहारीमा पुगेको अनुमान छ । अर्थतन्त्र कमजोर भएको अनुमान गरेरै होला आर्थिक बृद्धि भने ६ प्रतिशतमात्र राखिएको छ । आर्थिक बृद्धि भन्दा मूल्य बृद्धि बढी देखिनु भनेको अर्थतन्त्रले गतिलिन नसकेको संकेत हो । जस्को परिणामस्वरुप शेयर बजारमा प्रत्यक्ष असर पर्न गएको छ र शेयर बजार खस्कदै गएको अवस्था छ । यसरी शेयर बजार खस्कदै जानुमा तलका प्रकरणमा केही उल्लेख गरिएको छ ।
▪अर्थतन्त्रको बाह्य सूचकहरुमा केही सुधार देखिए पनि समग्रतामा अधिकांश सूचकहरु नकारात्मक नै देखिन्छन् । राष्ट्रिय अर्थतन्त्रमा नै सिथिलता आएको अवस्थामा शेयर बजार उकासिने अवस्था नै रहदैन । अहिले यही भएको हो ।
▪ राष्ट्रिय राजनीति प्रभावकारी हुन सकेको अवस्थामा सरकारले जारी गर्ने नीतिहरु कार्यान्वयन गर्न सहज हुन्छन् । भिन्न भिन्न सिद्धान्त, विचार बोकेका दलहरुको संयोजनबाट बनेको सरकारले जारी गरेका नीतिहरु कार्यान्वन गर्न गाह्रो परेका हुन्छन् भने अर्को तर्फ कार्यान्वयनमा आए पनि सफल भएका हुँदैनन् । नीतिहरु केवल नीतिका रुपमा मात्र देखिन्छन् । सरकारको ध्यान उपयुक्त नीति निर्माण गर्नु भन्दा पनि कसरी सत्तामा पुग्ने र टिकी रहने नै हुने भएकोले नेपालको शेयर बजार उपेक्षित हुँदै गएको अहिलेको अवस्था हो ।
▪ अन्तर्राष्ट्रिय जगतमा नै शेयर बजार खस्कदै गएको र त्यसको प्रभाव नेपालजस्ता मुलुकहरुमा पर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । किनभने हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुन सकिरहेको छैन र अहिले पनि परनिर्भरको अवस्थामा नै गुज्रिरहेको छ । केही न केही मात्रामा नेपालको शेयर बजारमा परेकै छ । अमेरिकाका ३ ओटा बैंकहरु कोल्याप्स भएका समाचारहरुले पनि नेपालको शेयर बजारलाई भावनात्मक प्रभाव पारेकै हो ।
▪ मुलतः कुनै पनि सरकारले शेयर बजारलाई सकारात्मक रुपमा हेरेको देखिएन । सुधार गर्ने तर्फ प्रयाश नै भएन । शेयर बजारलाई जुवाको खालजस्तो ठानियो । उच्च पदस्थ राजनीति नेतृत्वले नै यस प्रकारको अभिब्यक्ति दिएपछि शेयर बजारप्रति सर्वसाधारणको धारण नकारात्मक हुने भइनै हाल्यो । विश्वासको संकट सिर्जना भएको कारणले गर्दा पनि शेयर बजार खस्कदै गएको अवस्था हो ।
▪ नेपालमा वित्तीय शिक्षाको अभावरहेको देखिन्छ । जसको कारणबाट शेयर बजार प्रभावकारी बन्न सकिरहेको छैन । वास्तवमा भन्ने हो भने शेयर बजार भनेको अरु उत्पादनमूलक क्षेत्र सरह नै हो । जसरी कुनै औद्योगिक उत्पादनले उत्पादनमा अतिरिक्त प्रतिफल दिएको हुन्छ त्यसरी नै शेयर बजारले दिएको हुन्छ । तर, यसलाई उत्पादनमुखी क्षेत्रको रुपमा स्वीकार नगरिएको हुनाले अहिलेको अवस्था आएको देखिन्छ ।
▪ शेयर बजार भनेको जोखिमको क्षेत्र हो भन्ने एक प्रकारको धारणा विकास भएको पाइन्छ । तर, त्यस्तो भने होइन । जोखिम त जुनसुकै लगानीमा भइनै हाल्छ । जोखिम नै नमोली प्रतिफल प्राप्त गर्छु भन्ने कुरा मुर्खता मात्र हो । मुख्य कुरो भनेको जोखिमलाई कसरी न्यूनिकरण गर्ने र लगानीबाट कसरी अधिकतम प्रतिफल प्राप्त गर्ने विषय नै हुन् । त्यसकारण जोखिमको उपयुक्त ब्यबस्थापन गरेर त्यसबाट फाइदा लिन सक्नु नै लगानीकर्ताको विवेकशीलता एबं कार्यकुशलता हो ।
▪ नेपालको पूँजी बजारको ईतिहास त्यति लामो देखिदैन । यसलाई आफ्नो ब्यबसाय एबं बृत्ति बनाएर लागेको संख्या पनि त्यति ठूलो छैन । त्यसैले शेयर बजारमा देखिएका समस्या निराकरण गर्नको लागि सामुहिक आवाज पनि कमजोर भएको देखिन्छ । यसमा लागेका कतिपय लगानीकर्ताहरु जता भिड देखियो उतै दगुर्ने प्रणालीको विकासले गर्दा पनि शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर लगानीकर्ताले कम्पनिको संरचना, वित्तीय ब्यबस्थापन एबं वित्तीय विवरण , लगानीको श्रोत, नाफाको संभावना, कम्पनिको आर्थिक अवस्था एबं क्षमताजस्ता क्षेत्रको बिना अध्ययन लगानी गर्दा शेयर बजार खस्किएकै हो । यस्ता कुरामा ध्यान पुर्याएर लगानी गर्नु पर्दछ ।
▪ शेयर बजारमा जोखिममात्र पनि हुँदैन । त्यसमा राम्रो फाइदा पनि हुन्छ । जोखिम र प्रतिफल संगसंगै हुने हुंदा कुशल ब्यबस्थापनको माध्यमबाट जोखिम न्यूनिकरण गर्दै प्रतिफल बढाउने तर्फ ब्यबसायिक गतिबिधि केन्द्रित गर्नु पर्दछ । यी कुरामा ध्यान हुन नसक्दा शेयर बजार भिडतन्त्र भएको अहिलेको अवस्था हो । आधारभूत विषयहरुको अध्ययन नै नगरी जथाभावी गतिबिधि अघि बढाउंदा जोखिमयुक्त वातावरण सिर्जना हुनु कुनै नौलो कुरो होइन । बुझ्नु पर्ने कुरा के छ भने जोखिम नभएको क्षेत्र नै हुँदैन । केही न केही जोखिम भएकै हुन्छ । त्यसैले भन्ने गरिन्छ नो रिस्क नो गेन । जोखिम नलिने हो भने फाइदा पनि लिन सकिदैन । यो पनि ब्यबसासायिक संगठन नै हो भन्ने बुझ्नु पर्दछ । शेयर बजारको ब्यबसायिकता नबुझेको हुनाले नै अहिलेको अवस्था सिर्जना भएको हो ।
▪अर्को कुरा तपाईं हामीले शेयर बजारबाट फाइदा लिन सकेनौं भने जोखिममात्र देखेका हुन्छौं र शेयर बजार खत्तम रहेछ भन्ने हल्ला पनि गरेका हुन्छौं । तर, आफ्नो अकर्मन्यता वा कमीकमजोरीबाट आएको दुष्परिणामको लेखाजोखा गरेकै हुंदैनौं । यस प्रकारको वातावरणमा शेयर बजार खस्कदै जाने नै हुन्छ ।
▪ अहिले शेयर बजार यसरी खस्कदै जानुमा मुलतः सरकारको उपेक्षा नै हो । शेयर बजार सट्टा बजार हो, जुवा जस्तो खेल हो , ठूला लगानीकर्ताको खेल मैदान हो, केही विचौलियाहरुको चलखेलबाट चलेको छ भन्ने एक प्रकारको भाष्य निर्माण भएको पनि देखिन्छ । जे जस्तो बजार हल्ला भए पनि लगानीकर्ताले विचार पुर्याएर शेयर बजारमा लाग्ने हो भने फाइदा नै हुन्छ । यदि जथाभावी लगानी गर्ने हो भनेत अरु ब्यबसायिक क्षेत्रबाट पनि त कहाँ फाइदा लिन सकिन्छ र ? । शेयर बजार पनि त्यस्तै हो ।
▪ शेयर बजारमा यस्तो वातावरण सिर्जना हुनुमा मुख्य गरेर सरकारको कमजोरी हो । यस्ता अवान्छित वातावरणलाई निरुत्साहित गरेर बजारलाई सफा बनाउने काम सरकारले गर्नु पर्ने हो । सरकारले सुधारात्मक काम केही नगरे पनि शेयर बजारको अवस्था बारे कहिले जानकारी दिएको देखिदैन । सरकार मौन रहदा शेयर बजारमा कमजोर हुने नै भयो ।
शेयर बजारलाई सुधार गर्न सरकारले कुनै ठूलो लगानी गर्नै पर्दैन । केवल लगानीकर्ता आश्वस्त हुने वातावरण सिर्जना गरे पुग्दछ । तर, सरकार भने बजारमा आवश्यकता भन्दा बढी आपूर्ति भएको कारणले गर्दा शेयर बजार खस्किएको भन्ने भनिरहेको छ । यसकारणले गर्दा पनि शेयर बजार खस्कदो अवस्थामा भएको देखिन्छ ।
शेयर बजारमा सुधार नआउने भने होइन । अहिलेको मुख्य कारण भनेको अन्तर्राष्ट्रिय अर्थतन्त्र नै कमजोर भएको अवस्थामा त्यसको असर नेपालको शेयर बजारमा पनि परेको छ । सुधारको लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अन्य सम्बन्धित जिम्मेवार निकायहरुले शेयर बजारलाई खस्कन नदिनको लागि आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी निभाउनु पर्दछ । शेयर बजार भनेको एक प्रकारको रिमोट कन्ट्रोल जस्तो सेन्सेटिभ हो, यसो एक क्लिक गर्ने वित्तिकै बजारमा सुधार आइहाल्छ । यो नै आजको आवश्यकता हो ।