पछिल्ला ७ करोवार दिनमा बजार २५४.७१ अंकले बढी सकेको छ । मंसिर २१ गते १८५२ को विन्दुमा रहेकाे बजार पुस ३ गते मंगलबार २१०६ को विन्दुमा आएर बन्द भएको छ । निरन्तर रुपमा राम्रो कारोबार रकम सहित बढेको सूचकले लगानीकर्तालाई थप उत्साहित बनाएको छ । बजार सन्तुलित रुपमा बढेको छ ।
अहिले कहिले एउटा सेक्टर र कहिले अर्काेकाे सेक्टरकाे शेयर मूल्य बढेकाे छ । लगानीकर्ता पनि बजार अनुसार दैनिक सेक्टर परिवर्तनको रणनीति अपनाउन थालेका छन् । लगानीकर्ताहरुले एउटा समूहबाट नाफा सुरक्षित गरेर सोही पैसा अन्य सेक्टरमा लगानी गर्दा बजारको पैसा बजारमा नै रहेको छ । यसले गर्दा बजार थप सन्तुलित रहेको लगानीकर्ताहरुको भनाइ छ ।
नेप्से सूचकमा सर्किट लागेर बन्द भएको दिन बजारमा जीवन बीमा उप समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । त्यसपछि लगानीकर्ताहरुले इन्स्योरेन्स कम्पनीहरु र हाईड्रोपावर हुँदै सबै सेक्टरमा आकषर्ण बढाएको तथ्यांकले देखाएको छ ।
मंसिर २४ गते जीवन बीमा कम्पनीहरु लगानीकर्ताको रोजाईमा पर्यो । दोस्रो दिन २५ गते निर्जीवन बीमा कम्पनीमा २.११ प्रतिशतले बढ्याे । त्यसैगरी मंसिर २६ गते लगानीकर्ताको रोजाईमा हाईड्रोपावर कम्पनी पर्यो । यस दिन हाईड्रोपावर सेक्टर ८.६३ प्रतिशतले बढेर बन्द भयो । यो अवधिमा हेर्दा लगानीकर्ताहरु हाईड्रोपावर कम्पनी, होटल तथा टुरिजम, विकास बैंक हुँदै माईक्रोफाइनान्स कम्पनीहरुमा बढी झुम्मिएको देखिएको हो ।
यद्यपि लगानीकर्ताहरुले एक सेक्टरबाट अर्को सेक्टर परिवर्तन गर्दा दोस्रो सेक्टर खासै करेक्सन हुन मानिरहेको छैन । त्यसैले पनि लगानीकर्ताहरु आँखा चिम्लेर लगानी गर्दैछन भन्ने अनुमान लगाउन सकिन्छ ।