ठूला व्यवसायीक कारोबारीले भारतीय शेयर बजारमा लगानी गर्न थाले, सरकार र राष्ट्र बैंकका कारण भारत लागेको तर्क

Feb 20, 2024 06:24 AM merolagani

सुवास निरौला

यति बेला भारतीय शेयर बजार बुम छ। सोमबार मात्रै भारतको नेशनल स्टक एक्सचेन्जको कारोबार मापक सूचकले अल टाइम हाइको रेकर्ड कायम गर्‍यो।

साताको पहिलो दिन सोमबार निफ्टि २२ हजार एक सय ५७ अंकमा उक्लियो। भारतीय शेयर बजार सोमबारदेखि शुक्रवारसम्म खुल्ने गर्छ। सोही कारण साताको पहिलो दिन भनिएको हो। यस अघि निफ्टिको अलटाइम हाइ रेकर्ड २२ हजार एक सय १५ थियो। जुन गत जनवरि १५ मा बनाएको थियो। उक्त रेकर्ड सोमबार टुटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ। अर्को तर्फ भारतको प्रमुख शेयर बजार बम्बे स्टक एक्सचेन्जको कारोबार मापक सूचक सेनसेक्स तीन सय अंक बढेर ७२ हजार सात सय ३० पुगेको छ।  

यति बेला विश्वका शेयर कारोबार भारतीय शेयर बजारमा ओइरिँदै गएपछि भारतीय शेयर बजारले उचाइ लिन पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विश्वका शेयर कारोबार भारतीय शेयर बजारतर्फ आकर्षित हुँदै गर्दा नेपालका ठूला व्यवसायीक घराना र ठूला शेयर कारोबारी पनि भारतीय शेयर बजार तर्फ लम्किन थालेको बताइएको छ।

ठूला कारोबारी भारततर्फ लम्किएका कारण केही ब्रोकर कम्पनीहरूको दैनिक कारोबारमा समेत ठूलो धक्का लागेको बताइएको छ। “हाम्रो कम्पनी मार्फत केही ठूला कारोबारीले राम्रै शेयर कारोबार गर्दै आइरहेका थिए। तर अहिले स्वाट्टै उनीहरूको कारोबार घट्यो। पहिले त  हामीलाई नयाँ आएका ब्रोकरले क्लाइन्ट खोसे भन्ने लाग्यो। तर पछि बुझ्दै जाँदा होइन रहेछ। उनीहरूले भारतीय बजारमा कारोबार गर्न थालेको थाहा पाइयो,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

ती ब्रोकरका अनुसार अहिले नेपालमा भन्दा भारतको शेयर बजार निक्कै राम्रो देखिएको छ। फेरि त्यहाँको बजारले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। अर्को तर्फ भारतमा आउँदै गरेको निर्वाचनको प्रभाव पनि सकारात्मक देखिन थालेको छ। यस पटक पुनः नरेन्द्र मोदी नै प्रधानमन्त्री रहे त्यहाँको बजारले एक लाख अंक काट्ने अनुमान गरिँदैछ। त्यसका करण पनि नेपाली व्यवसायी र लगानीकर्ता त्यता तर्फ मोडिएका हुन्।

नेपालमा सरकार र नेपाल राष्ट्र बैंकले शेयर बजार प्रति देखाएको रवैयाका कारण पनि व्यवसायी सरकार र राष्ट्र बैंकसित रुष्ट छन्। किनकि भर्खरै मात्रै सरकाले नेपालका ठूला उद्यमी अरुण चौधरीलाई धरपकड गर्‍यो। अर्को तर्फ राष्ट्र बैंकले मौद्रिक समीक्षामा शेयर बजारमा कुनै लचकता दिएन। त्यसले गर्दा शेयर बजार सरकार र राष्ट्र बैकको प्राथमिकतामा नपर्ने निष्कर्ष लगानीकर्ताले निकालेका छन्। हुन त यस अघि बाटै उनीहरूले भारतीय शेयर बजारमा कारोबार गर्न भने थालिसकेका ती ब्रोकरले बताए

भारतमा भने विदेशी लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न रेड कार्पेट ओछ्याएर स्वागत गर्ने गरिएको र बजारमा यहाँको भन्दा बढी सुबिधा र फिचर हुने भएकोले पनि उनीहरू त्यतै तिर अभ्यस्त हुन थालेका छन्। केहीले भारतीय ब्रोकर कम्पनीलाई काम गर्ने जिम्मा दिएका छन् भने केहीले भने नेपाल मै बसेर अनलाइन मार्फत भारतीय शेयर बजारमा लगानी गर्दै आइरहेको दाबी ती ब्रोकरको छ।

नेपालमा इक्युटीको मात्रै  कारोबार हुने र शेयर बजारबाट कमाउन बजार बढ्नु पर्ने बाध्यता हुन्छ। तर भारतमा भने त्यस्तो अवस्था छैन। आफूलाई शेयर बजार बढ्छ भन्ने लागे शेयर किन्न सकिन्छ भने घट्छ भन्ने लागे आफूसित नभएको शेयर पनि सर्ट सेल गर्न सकिन्छ। अर्को तर्फ दैनिक कारोबार गर्नेलाई इन्ट्रा डे को सुबिधा छ भने अप्सनको समेत व्यवस्था त्यहाँ छ। तर यी सबै सुबिधा नेपालमा छैन। जसले गर्दा पनि व्यवसायी त्यता तर्फ आकर्षित भएको अनुमान गर्न सकिन्छ। 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।