हरेक पटकको ‘सकारात्मक समाचार’लाई पछिल्लो समय शेयर लगानीकर्ताले शेयर बेच्ने रणनीतिको रुपमा लिएका छन् भने जेठ १५ मा प्रस्तुत हुन लागेको बजेटलाई नै टार्गेट गरेर लगानीकर्ताहरुले शेयर किनबेच नै कम गरेको लगानीकर्ताहरु बताउँछन् । सबै लगानीकर्ता जेठ १५ मा प्रस्तुत हुन बजेटलाई कुरेर बस्दा खेरि पछिल्लो केही दिनदेखि कारोबार रकम समेत औसत भन्दा कम मात्रै आउने गरेको छ । औसत ८ अर्बभन्दा माथिको कारोबार भइरहेकोमा विगत केही कारोबार दिन देखि ८ अर्ब रुपैयाँको समेत कारोबार भेटन सकिरहेको छैन । मंगलबारको कारोबार पनि कारोबार समयमा झन्डै ९ अंकले बढेको बजार अन्तिम समयमा झिनो शून्य दशमलब ८५ अंकले बढेर बन्द भयो भने कारोबार रकम समेत ६ अर्ब ५२ करोड रुपैयाँमा सीमित भयो ।
शेयर बजार अहिले घट्न पनि नसकेको र बढ्न पनि नमानिरहेको अवस्थामा रहेका छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजेटमा पुँजीगत लाभकरका विषयमा विभिन्न सञ्चार माध्यममा थरिथरिका सूचना आउँदा यसले लगानीकर्तालाई ‘पर्ख र हेर’को अवस्थामा भएको बताए । अब बजेट आउनु अगाडि एक कारोबार दिन बजार यस्तै गरी बित्ने भए पनि बजेट पछिको बजारले भने लय समाप्ने अपेक्षा रहेको उनले बताए ।
अहिले विगत केही दिनदेखि शुरुको कारोबार समयमा बजार राम्रो बढे पनि बन्द हुने बेला भने घटेर नै बन्द हुने क्रम दोहोरिरहेको छ । गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुँदा होस् व मार्जिन कर्जाको जोखिम भार १ सयमा झार्दा होस, बजार समयका पहिलो केही समय बढ्ने अनि अन्तिममा घटेर बन्द भएको छ ।
नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालका अनुसार पछिल्लो समय ब्रोकरको लिमिटमा मात्रै भर पर्ने शेयर कारोबारी बढ्दा यसले बजार बढाउन सहयोग पुग्न नसकेको बताए । अहिले शेयर बजारमा कारोबार गर्ने लगानीकर्ता सीमित छन् र पैसा पनि सिमित छ । विशेषगरी उधारोमा कारोबार गर्ने बढी हावी भएको देखिन्छ । बढ्दाखेरि सानो नाफामा बेच्ने घट्दा खेरी फेरि किनी हाल्ने प्रवृत्तिको ट्रेडर हावी भएकाले बजार बढ्न नसकेको उनले बताए ।
बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा ‘ट्रेड’ गर्न खुला गर्नुपर्ने माग लगानीकर्ताको छ । हालै नेपाल इन्भेष्टर्स फोरमको टोलीले नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई भेटेर प्रमुख रुपमा तीन वटा माग अगाडि सारेका थिए । व्यक्तिगत तर्फ मार्जिन कर्जाको १५ करोडको सीमा हटाउने, लघुवित्तको लाभांश घोषणा गर्दाको १५ प्रतिशतको सीमा खारेज गर्ने र तरलता फालाफाल भएको अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थालाई राम्रा कम्पनीहरुको शेयर कारोबार गर्न खुला गर्नुपर्ने माग फोरमले जोडतोडका साथ उठाएकाे छ । फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार नवनियुक्त गभर्नर पुँजी बजारप्रति एकदमै सकारात्मक रहेका छन् र बजेट लगत्तै पुँजी बजारले नयाँ उचाई छुनेमा उनी आशावादी देखिएका छन् । अझ एक कदम अगाडि बढेर उनले भने–‘सम्भवतः नवनियुक्त गभर्नरकै कार्यकालमा पुँजी बजारले नयाँ उचाई छुनेछ ।’
विशेषत सूचीकृत कम्पनीहरुले हरेक वर्ष बोनस र हकप्रदको नाममा शेयर संंख्या थपिंदा शेयरको आपूर्ति पक्ष एकदमै बलियो हुँदै गएको छ तर त्यो आपूर्तिलाई उपभोग गर्ने गरी बजारमा माग सिर्जना नहुनु नै वर्तमान समयमा शेयर बजार बढ्न नसक्नुकाे कारण रहेको लगानीकर्ताको बुझाई रहेको छ । फोरम महासचिव लम्साल बजारमा शेयरको माग पक्षलाई बढाउने गरी बैंक तथा वित्तीय संस्थालाई शेयर किनेर ट्रेड गर्न दिने नीति लिएमा त्यसले शेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताए । वित्तीय संस्थालाई खराब वित्तीय अवस्था भएका कम्पनीहरु किन्न रोक लगाइने हुँदा त्यसपछि भने वित्तीय रुपमा सवल भएका कम्पनीको शेयर माग बढ्ने हुँदा त्यसले बजारमा स्वच्छ विकासमा टेवा पुग्ने उनले दाबी गरे ।