बुधबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्न निर्देशन दिएको हो । यसअघि अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो। औसत दुई हप्ताको औसत निक्षेपको ४ प्रतिशतले हुन आउने रकमको ९० प्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको शून्य व्याज दरमा राष्ट्र बैंकमा राख्नुपर्ने रकम बढ्नेछ जसले गर्दा बैंकहरुको लागतमा केही मात्रामा वृद्धि हुनेछ यसको असर बैंकहरुले प्रकाशित गर्ने आधार दरमा पर्ने बताइएको छ ।
सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नु पर्ने भएको छ। यसअघि ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो। लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत संशोधन गरेको नीतिलाई बुधबार सर्कुलरमार्फत बैंकहरुलाई निर्देशन दिएर लागू गरेको हो ।