त्यो आरोप उनका विरोधिहरुले नभएर महालेखा परीक्षकको प्रतिवेदन–२०८२ मा लगाइएको छ ।
प्रतिबेदनमा मेयर बालेनले विभिन्न ५ वटा शीर्षकमा त्यस्तो अनियमितता गरेको दावी गरिएको छ ।
महालेखाका अनुसार गत वर्ष फ्रान्सको पेरिसमा भएको ७७ औँ कान्स फिल्म फेस्टिफलमा जांदा बालेन एक्लैको भ्रमण खर्च भन्दै दुईवटा भौचर बनाएर झण्डै २ लाख रुपैंया भुक्तानी लिइएको छ । त्यो अनुसार भौचर नं. ४२६२०८१/०१/३१ मार्फत रु १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा खर्च भएको देखाइएको छ । पुनः सोही फेस्टिभलका लागि भौचर नं. ५०९१–२०८१/०३/०२ मार्फत प्रमुखको नाममा रु ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च भएको भन्दै भुक्तानी दिइएको छ ।
त्यस्तै सोही कार्यक्रममा गएका मेयर शाहका प्रमुख सल्लाहकारद्वय सुनील लम्साल र कुमार व्यञ्जनकार समेतको भ्रमण खर्च भुक्तानी भन्दै भौचर नं. ५७२३–२०८१/०३/१८ मार्फत रु २० लाख ४९ हजार १६५ भ्रमण खर्च भुक्तानी दिइएको छ । एउटै शीर्षकमा खर्च गर्दा पनि दुईवटा अलग अलग भौचर बनाउनुलाई पनि महालेखाले शंकास्पदरुपमा लिएको छ ।
पदाधिकारी तथा कर्मचारीहरूको वैदेशिक भ्रमणमा ‘स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५’ को गम्भीर उल्लङ्घन भएको भन्दै महालेखाको प्रतिवेदनमा निर्देशिकाले तोकेको मनोनयन प्रक्रिया र खर्च व्यहोर्ने प्रावधान विपरीत महानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेको लेखा परीक्षणले देखाएको उल्लेख छ ।
प्रमुख बालेन र सल्लाहकार सुनिल लम्साल ब्राजिलको साउथ पाउलोमा ‘मेट्रोपोलिस बोर्ड अफ डाइरेक्सन मिटिङ’ मा सहभागी हुनका लागि हवाई भाडा खर्च बापत भौचर नं. ५७२२–२०८१/०३/०२ बाट रु १० लाख २३ हजार भुक्तानी गरिएकोमा पनि महालेखा परिक्षकको कार्यालयले आपत्ति जनाउंदै त्यसलाई भ्रष्टाचारजन्य कसुर मानेको छ ।
यस्तै काठमाण्डौ महानगरपालिकाका कर्मचारी,सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको नेपालका विभिन्न स्थान, भारत र बंगलादेशमा शैक्षिक अध्ययन अवलोकन भ्रमणका लागि ‘नेपाल साभ्मि टुर्स एण्ड ट्राभल प्रा.लि.’ लाई भौचर नं. ६७०–०८०/९/२ बाट रु १९ लाख ७४ हजार ६७५ भुक्तानी गरिएको छ । महालेखा परिक्षकको कार्यालयले भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पालना नभएको भन्दै आपत्ती जनाएको छ । महानगरपालिकाले भुक्तानी गरेका कतिपय भ्रमण खर्चहरू यसै प्रावधानको विपरीत पाइएको प्रतिवेदनमा छ ।