नेप्से कार्यालय खुल्यो तर शेयर बजार किन खुलेन ? कारण यस्तो

Oct 06, 2025 01:37 PM merolagani



सोमबार नियमित झैँ नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कार्यालय खुल्यो। तर नियमित शेयर किन बेच हुने दोस्रो बजार भने बन्द गरियो।

जबकि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘काठमाडौँ जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्ने निर्देशन आइतबार नै जारी गरेको थियो। सोही कारण सोमबार नेप्से कार्यालय खुलेको हो।

 

कार्यालय खुले पनि सबै कर्मचारी नेप्सेमा उपस्थित छैनन्। प्रमुख कार्यकारी अधिकृतले भने सोमबार हाजिर गरेको नेप्सेका एक अधिकारीले पुष्टि गरे। नेप्से मात्रै होइन नेपाल धितोपत्र बोर्ड समेत आजबाट खुलेको छ। सोमबार सबै जसो सरकारी कार्यालय खुलेका छन्। कार्यालय खुलेका कारण सिंहदरबारमा समेत चहल पहल बढेको छ।

कार्यालय खुल्ने तर शेयर कारोबार किन बन्द भयो ? कसको निर्देशनमा शेयर कारोबार रोकियो ? त्यसको जबाफ नेप्सेले दिएको छैन। नेप्सेले आफ्नो फेस बुक पेजमा भोलि देखि मात्रै शेयर बजार खुल्ने मात्रै भनेको छ। तर के कारणले बन्द भएको भनेर खुलाएको छैन। सबै कार्यालय खुल्दा शेयर कारोबार किन बन्द भएको भन्ने प्रश्न गर्दा नेप्सेका एक उच्च अधिकारीले भने गृह मन्त्रालयको सूचनाको आधारमा नै शेयर कारोबार बन्द गरिएको जानकारी दिए। “आइतबार र सोमबार गृह मन्त्रालयले सूचना नै जारी गरेर बिदा दिएको छ। फेरि हिजो निक्कै अबेर मात्रै कार्यालय खोल्ने भनेर सूचना आयो। हामीले बिहान गृह मन्त्रालयसँग परामर्श गर्दा आज बिदा नै हो भन्ने कुरा आएकोले पनि आज कारोबार बन्द नै गर्ने निर्णय गरिएको हो” ती अधिकारीले मेरो लगानीसँग भने।

ती अधिकारीले गृहको परामर्श अनुसार नै बन्द गरिएको भने पनि नेप्सेले अनलाइन सिस्टममा दुई दिन बिदा भनेर पहिले नै सेटिङ गरिसकेको थियो। सोमबार खोल्दा त्यसलाई फेरि रिसेट गर्नु पर्ने हुन्थ्यो। अर्को तर्फ नेप्सेका सबै कर्मचारी आइसकेका छैनन्। उता बिदाको दिनमा खोल्दा शेयर बजारमा हुने घट/बढको अपजस आउने डरले नेप्सेले सोमबार कारोबार बन्द गरेको बुझिएको छ।

बिना कारण नेप्सेले एक दिन शेयर बजार बन्द गर्दा लगानीकर्ता भने रुष्ट देखिएका छन्। लगानीकर्ताले सामाजिक सञ्जालमा “सरकारी बिदा खारेज हुँदा पनि नेप्सेले सूचना निकालेर कारोबार किन बन्द गर्‍यो ? नेप्से नेपाल सरकारको अण्डरमा हो कि हैन ? कि कर्मचारीको मनलाग्दी हो ? Nepal Stock Exchange - NEPSE Securities Board of Nepal HelloSarkar” लगानीकर्ता नवराज अधिकारीले फेस बुकमा लेखेका छन्।  




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।