स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेलको लागि प्रयास शुरु गरेपछि त्यस्तो ‘ट्विष्ट’को सम्भावना देखिएको हो । स्रोतका अनुसार झापा ५ मा राप्रपाले सघाएमा झापाकै अरु कुनै क्षेत्र वा अरु कुनै जिल्लामा रास्वपाले राप्रपाले रोजेको क्षेत्रमा सघाउन तयार रहेको प्रस्ताव राप्रपा समक्ष पठाइएको छ । साथै दुवै पार्टीका जिल्ला तहका नेताहरुले यस बारेमा छलफल गरेका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापामा राप्रपा परम्परागतरुपमा बलियो जनाधार भएको पार्टीहरु मध्ये एक हो ।
स्रोतका अनुसार रास्वपाले नेताहरुको प्रस्ताव राप्रपाले कुनै ठोस जवाफ भने दिइसकेका छैनन् । राप्रपाका एक नेताका अनुसार क्षेत्र नं ३ बाट उम्मेदवार रहेका अध्यक्ष लिङदेन चुनावी तालमेलको लागि रास्वपाभन्दा एमालेसँग छलफल गर्ने तयारीमा छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा झापामा राप्रपा र एमाले तालमेल भएको थियो र त्यो सफल पनि भएको थियो । राप्रपाले क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीलाई सघाएको थियो भने एमालेले क्षेत्र नं ३ मा लिङदेनलाई सघाएको थियो । एमालेको सहयोगमा लिङदेनले कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए भने ओली पनि भारी मतान्तरसहित विजयी भएका थिए ।
तर, यस पटकको निर्वाचनमा अहिलेसम्म कुनै पार्टी बीच तालमेल भएको छैन । रास्वपा वरिष्ठ उपाध्यक्ष साहले ओलीका विरुद्ध उम्मेदवारी दिएपछि झापाको मात्रै होइन, देशकै चुनावी माहोल गर्माएको छ । बालेन र ओली दुवै एक अर्कालाई सजिलै हराउने दावी गरे पनि चुनाव नजिकिदैँ जाँदा दुवैले आफूलाई खतरा महसुस गरेको हुन सक्ने राजनीतिक नेता कार्यकर्ताहरु बताउँछन् । त्यस्तै झापाको परम्परागत शक्ति भए पनि पार्टीहरु बीच एक्ला एक्लै प्रतिस्पर्धा गर्दा अध्यक्ष लिङदेनसमेत ‘रिस्क जोन’मा परेको ठहर राप्रपा कार्यकर्ताहरुले गरेका छन् । त्यहीकारण रास्वपाले तालमेलको प्रस्ताव बढाएपछि राप्रपा भने परम्परागतरुपमा रहेको ‘मित्र शक्ति’ एमालेसँग छलफल अगाडि बढाएको बताइएको छ । ‘सम्भवतः यसै साता टुंगो लाग्छ, दुई पार्टी मध्ये एउटासँग सहकार्य हुँदा हामीले छोड्ने क्षेत्र नं ५ नै हो र उनीहरुले छोड्ने क्षेत्र नं ३ नै हो’ राप्रपाका एक नेताले मेरो लगानीसँग भने ।
स्मरण रहोस् झापा क्षेत्र नं ५ राप्रपाका उम्मेदवार लक्ष्मी प्रसाद संग्रौला रहेका छन् भने क्षेत्र नं ३ मा एमालेका हरि राजवंशी र रास्वपाका जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ताको समय सकिएकोले पार्टीहरुबीच सहमती भएर ‘उम्मेदवारी निस्क्रिय’ पारेको घोषणा गरे पनि उम्मेदवारी भने यथावत रहन्छ । पार्टी कार्यकर्ताहरुले भने आफ्ना उम्मेदवारकाे साटो सहमती भएका अर्काे पाटीका उम्मेदवारलाई भोट हाल्न सक्छन् । तर, सम्वन्धित उम्मेदवारीले आफ्नो उम्मेदवारी कायम रहेको बताएमा त्यसलाई नै आयोगले मान्यता दिन्छ ।