पूर्ववतः सरकारका बेला निर्माण सुरु भएका झन्डै आधा दर्जन विकासे आयोजनाहरु बालेन सरकारकै पालामा सञ्चालनमा आउनेछन् ।
करिब ४२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माणको अन्तिम चरणमा छ । उक्त आयोजना तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे सरकारले अघि बढाएको थियो । नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न थालिएको थियो । हालसम्म आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

चैत दोस्रो हप्तासम्म नेपालले नयाँ प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाह(बालेन) पाउँदैछ । त्यसपछि आगामी बैशाखसम्म नागढुंगा सुरुङ सञ्चालनका लागि अहिले सेवा प्रदायक छनौटलगायतका काम सम्पन्न गरेर आयोजना सञ्चालनमा ल्याइने छ । त्यसबेला नयाँ सरकारले नै आयोजना सञ्चालनको अभिभारा लिनेछ ।
त्यस्तै, नागढुंगा–मुग्लिन सडक विस्तारको काम पनि अहिले चलिरहेको छ । उक्त सडक विस्तारको काम एक-डेढ वर्षभित्र सम्पन्न भइसक्नेछ । दुईखण्ड गरी कुल ९४ किलोमिटरको उक्त सडक विस्तारको काम एक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । जसलाई सम्पन्न गरी सञ्चालनमा ल्याउने दायित्व पनि बालेन सरकारको हुनेछ ।
त्यस्तै, मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्ड(जामुने–पोखरा) को निर्माण कार्य पूरा हुन सकेको छैन । सडक विभागकाअनुसार, उक्त खण्डको काम एक वर्षभित्र सम्पन्न गराएर सडक सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सो खण्डको आबुँखैरनी देखि जामुनेसम्मको पूर्वीखण्डको काम भने गत २०८२ असारमा सम्पन्न भइसकेको छ । पश्चिम खण्डको सडक विस्तारको काम एक वर्षभित्र सम्पन्न हुँदा सरकारमा बालेन शाह रहनेछन् ।
त्यस्तै, नयाँ सरकारकै पालामा नारायणगढ–बुटवल सडक विस्तारको काम सम्पन्न हुनेछ । चिनिँया निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको सडक विस्तारको काममा निकै ढिलाइ हुँदै आएको छ । कुल ११४ किलोमिटरको उक्त सडक दुई खण्डमा विस्तारको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पटक पटक गरी हालसम्म चार पटकसम्म म्याद थप गर्दै आएको छ ।
साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताका साथ २०७५ फागुन ९ गतेदेखि निर्माण सुरु भएको थियो । हाल उक्त परियोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति छ । यो सडक विस्तारको काम जतिसक्दो छिटो सम्पन्न गर्ने दायित्व बालेन सरकारको रहनेछ ।
एक वा बढीमा डेढ वर्षभित्र नारायणगढ बुटवल सडक विस्तारको काम सम्पन्न हुने सडक विभागको लक्ष्य छ । यो सडक विस्तारको काम सम्पन्न गरी सञ्चालनमा ल्याउने बेला बालेन सरकार रहनेछ ।
त्यस्तै, रुपन्देहीस्थित सिद्धबाबा सुरुङमार्ग परियोजना पनि नयाँ सरकारको ५ वर्षे कार्यकालमा पूरा हुनेछ । चिनिँया चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले निर्माणको जिम्मा पाएको उक्त सुरुङ आयोनजाको समग्र भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले आगामी एक वर्ष अर्थात सन् २०२७ मार्चभित्र सम्पन्न गर्ने सम्झौता छ । त्यस बेलासम्म नयाँ सरकारले यो परियोजना छिटो सम्पन्न गर्न आवश्यक पहल गर्ने देखिएको छ ।
त्यस्तै, निर्माणधीन सुर्यविनायक–नगरकोट सडक विस्तारको काम पनि आगामी एक वर्षभित्र सम्पन्न हुनेछ । हालसम्म सडक विस्तारको काम ८० प्रतिशत सम्पन्न भइसकेको र एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढेको छ । यो सडक विस्तार कार्य पनि आगामी सरकारले जतिसक्दो छिटो सम्पन्न गर्न पहल गर्नुपर्नेछ ।
बजेट अभाव र ठेकेदारको लापरबाहीका कारण यो सडकखण्ड लामो समयदेखि अधुरो रहँदै आएको छ । त्यस्तै, ऐतिहासिक धरहराको बाँकी काम सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने र पार्किङ खुलाउने काम पनि अब बन्ने सरकारले गर्नेछ ।
हुन त राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा समेत गतिहीन अवस्थाका राष्ट्रिय गौरवका आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्न नीतिगत सुधार गर्ने उल्लेख गरिएको छ । तसर्थ, पनि नयाँ सरकारकै पालामा हुलाकी राजमार्ग, काठमाडौं तराइ द्रुतमार्ग, मदन भण्डारी राजमार्गलगायतका कनेक्टिभिटीहरु निर्माण हुनेछन् ।