सुवास निरौला
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कात्तिक महिनामा अघिल्लो महिनाको तुलनामा कुल शेयर कारोबार रकम घटे पनि दैनिक औसत कारोबारमा भने उत्साहजनक सुधार देखिएको छ।दशैँ र तिहारका कारण लामो सार्वजनिक बिदा परेपछि कात्तिकमा ११ कारोबार दिन मात्रै बजार सञ्चालन भएको थियो।
नेप्सेको अक्टोबर १८ देखि नोभेम्बर १६ सम्मको कार्तिक महिनाको मासिक प्रतिवेदन अनुसार, उक्त अवधिमा ११ कारोबार दिनमा कुल ६ हजार ६२३ करोड ४९ लाख रुपैयाँ (६६ अर्ब २३ करोड) बराबरको शेयर कारोबार भएको छ। अघिल्लो महिना (असोज) मा २० कारोबार दिनमा ९ हजार ६९६ करोड १ लाख रुपैयाँको शेयर किनबेच भएको थियो। अघिल्लो महिनाको तुलनामा कात्तिकको कुल मासिक कारोबार ३१.६९ प्रतिशतले कम हो।
बिदाले घटायो कारोबार दिन, तर दैनिक औसत कारोबार २४% ले बढ्यो
कारोबार रकममा आएको यो गिरावट बजार सुस्त भएर नभई चाडपर्वको बिदाका कारण भएको नेप्सेको तथ्याङ्कले स्पष्ट पारेको छ। असोजको तुलनामा कात्तिकमा नौ दिन कम कारोबार भएको थियो। तर, कारोबार दिनको संख्यालाई आधार मानेर दैनिक औसत कारोबार हेर्दा बजारमा तरलता र लगानीकर्ताको आकर्षण बढेको पुष्टि हुन्छ। असोजमा दैनिक औसत कारोबार ४८४ करोड ८० लाख रुपैयाँ रहेकामा कात्तिकमा २४.२० प्रतिशतले बढेर ६०२ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको दैनिक औसत कारोबार (४८६ करोड २२ लाख रुपैयाँ) को तुलनामा पनि यो २३.८४ प्रतिशतले बढी हो।
कारोबार संख्यामा भने ३९ प्रतिशतको गिरावट
दैनिक औसत कारोबार रकम बढे पनि शेयर किनबेचका क्रममा हुने कारोबार संख्या (नम्बर अफ ट्रान्जेक्सन) मा भने उल्लेख्य गिरावट आएको छ। असोजमा ९ लाख ८४ हजार ७७१ पटक कारोबार भएकोमा कात्तिकमा ३९.५८ प्रतिशतले घटेर ५ लाख ९५ हजार ४७ पटकमा सीमित भएको छ।
यस अवधिमा कारोबार भएका स्क्रिप्टको संख्या पनि ७.०३ प्रतिशतले घटेर ३९७ वटामा झरेको छ। असोजमा ४२७ वटा स्क्रिप्ट कारोबारमा आएका थिए। कारोबार संख्या घट्दा पनि औषत कारोबार रकम बढ्नुले बजारमा ठूला लगानीकर्ताहरूको सक्रियता बढेको र औसत कारोबारको आकार (टिकट साइज) ठूलो भएको संकेत गर्दछ।
कुल कारोबारको झन्डै आधा हिस्सा जलविद्युतमा
कात्तिक महिनाको क्षेत्रगत कारोबारमा जलविद्युत् (हाइड्रोपावर) कम्पनीहरूको एकलौटी बर्चस्व देखिएको छ। यस अवधिमा हाइड्रोपावर समूहको मात्रै ३ हजार ११८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जुन कुल मासिक कारोबारको ४७.१ प्रतिशत हो।
दोस्रो स्थानमा रहेको वाणिज्य बैंक समूहमा १ हजार ३२४ करोड ६ लाख रुपैयाँ (करिब २० प्रतिशत) र तेस्रोमा रहेको उत्पादन तथा प्रशोधन समूहमा ७४३ करोड ३३ लाख रुपैयाँ (करिब ११.२ प्रतिशत) को कारोबार भएको छ।
त्यस्तै, विकास बैंक समूहमा ३३३ करोड १६ लाख, लघुवित्तमा १९८ करोड ७८ लाख, लगानी समूहमा १८० करोड १३ लाख, वित्त समूहमा १७६ करोड ८९ लाख, होटल तथा पर्यटनमा १४६ करोड १९ लाख र जीवन बीमा समूहमा १२५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
परिसूचक सामान्य बढ्दा पनि १५८ कम्पनीको मूल्य घट्यो
कात्तिक महिनामा नेप्से परिसूचक सामान्य रूपमा हरियो बनेको छ। असोजको अन्तिम कारोबार दिन २ हजार ६३४.१७ अंकमा रहेको नेप्से ०.५६ प्रतिशतले बढेर कात्तिकको अन्तिम कारोबार दिन २ हजार ६४८.९० अंकमा बन्द भएको छ।
यद्यपि, समग्र परिसूचक बढे पनि बजारको आन्तरिक अवस्था भने कमजोर देखिएको छ। सूचीकृत ३०५ कम्पनीमध्ये आधाभन्दा बढी अर्थात् १५८ कम्पनीको शेयर मूल्य घटेको छ। ११५ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको मूल्य स्थिर रह्यो।
यस अवधिमा बेनी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४७.३१ प्रतिशत (प्रतिशेयर रु. ५२०) ले बढेर ८७३ रुपैयाँ पुगेको छ। स्वेतगंगा हाइड्रोपावरको १७.४७ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १३.७३ प्रतिशत मूल्य बढेको छ। उता, चिर्ख्वा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै २५.९९ प्रतिशत, माउन्टेन इनर्जीको १५.३५ प्रतिशत र मञ्जुश्री फाइनान्सको १४.१६ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोपावरको सर्वाधिक कारोबार
कात्तिकमा कारोबार रकम र शेयर कित्ता दुवैका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रह्यो। कम्पनीको २४६ करोड ३८ लाख रुपैयाँ बराबरको ७४ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ। दोस्रोमा रहेको ग्रीन भेन्चर्सको १५९ करोड ३६ लाख र तेस्रोको शिवम् सिमेन्टको १५८ करोड ६० लाख रुपैयाँको कारोबार भयो। कारोबार संख्याका आधारमा भने बेनी हाइड्रोपावर २६ हजार २०४ पटक किनबेच भई शीर्ष स्थानमा रह्यो।
बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँ
मासिक अवधिको अन्त्यमा समग्र शेयर बजारको कुल बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.५६ प्रतिशतको वृद्धि हो।
कुल बजार पूँजीकरणमा वाणिज्य बैंक समूहको हिस्सा सबैभन्दा बढी १२ खर्ब २० अर्ब २४ करोड रुपैयाँ रहेको छ। हाइड्रोपावर समूहको बजार पूँजीकरण ८ खर्ब ९८ अर्ब ७९ करोड र उत्पादन तथा प्रशोधन समूहको ३ खर्ब ८६ अर्ब ६० करोड रुपैयाँ छ।
कम्पनीगत रूपमा नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) १ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँको बजार पूँजीकरणसहित शीर्ष स्थानमा छ। दोस्रोमा विशाल बजार कम्पनी (१ खर्ब ६१ अर्ब) र तेस्रोमा नबिल बैंक (१ खर्ब ५५ अर्ब ९७ करोड) रहेका छन्।
तीन नयाँ धितोपत्र सूचीकृत
यसै महिना नेप्सेमा तीनवटा नयाँ धितोपत्र थपिएका छन्। जसमा एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्डको १ करोड इकाइ, सुपर मादी हाइड्रोपावरको ३४ लाख ७२ हजार ८७५ कित्ता र माण्डु हाइड्रोपावरको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस शेयर सूचीकृत भएका हुन्। योसँगै कात्तिक मसान्तसम्म नेप्सेमा सूचीकृत शेयरको कुल चुक्ता पूँजी ९ खर्ब ५५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।