८ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार, बागमती प्रदेशको हिस्सा दुई तिहाई, मोटर बीमाबाट सबैभन्दा धेरै शुल्क संकलन

Apr 03, 2024 07:24 AM Merolagani

चालु आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले सवा २६ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । 

 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार ८ महिनामा १४ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु निर्जीवन बीमा कम्पनीले गरेर २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो अघिल्लो आवको फागुन महिनाको भन्दा झन्डै ३० प्रतिशतले बढी हो ।

कुल निर्जीवन बीमा बजारमा सबैभन्दा धेरै ब्यापार शिखर ईन्स्योरेन्सले गरेको छ । शिखरले ८ महिनामा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ संकलन गर्दा सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ संकल गर्दै तेस्रो स्थानमा रहेको छ । यस्तै, आईजीआई प्रुडेन्सियलले २ अर्ब ३० करोड २३ लाख, नेको ईन्स्योरेन्सले २ अर्ब १२ करोड, हिमालयन एभरेष्टले २ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रदेशगत हिसाबले कुल निर्जीवन व्यवसायको ६५ प्रतिशतभन्दा बढी हिस्सा बागमती प्रदेशले ओगटेको छ । २६ अर्ब २६ करोड रुपैयाँको व्यवसायमध्ये १७ अर्ब २५ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय बागमती प्रदेश एक्लैले गर्ने गरेको छ । बागमती प्रदेशमा मुलुकको संघीय राजधानी काठमाडांैं समेत रहन्ु र राजधानीमा आर्थिक क्रियाकलाप धेरै हुँदा बीमा व्यवसायमा पनि त्यसको असर देखिएको हो । बागमती पछि लुम्बिनीले ९ दशमलब १५ प्रतिशत, कोशीले ८ दशमलब ८५ प्रतिशत र मधेशले ६ दशमलब ६७ प्रतिशत ओगटेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरा समावेश रहेको गण्डकी प्रदेशले भने कुल व्यापारको ५ दशमलब ६५ प्रतिशत मात्रै हिस्सा ओगेटेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेक्का जोखिम, कृष तथा बाली, लघु र विविध बीमा गरी आठ शीर्षकमा निर्जीवन बीमा लेख जारी गर्ने गरेका छन् । सरकारले सवारी साधन नबीकरण गर्दा तेस्रो पक्ष बीमा अनिवार्य गरेकाले विभिन्न बीमालेखमध्ये मोटर बीमाबाट सबैभन्दा धेरै ३१ दशमलब १४ प्रतिशत बीमा शुल्क संकलन हुने गरेको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म मोटर बीमाबाट ८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । मोटर बीमापछि धेरै बीमा शुल्क आर्जन गर्नेमा सम्पत्ति बीमा रहेको छ । कुल निर्जीवन बीमा बजारमा सम्पत्ति बीमाबाट निर्जीवन बीमा कम्पनीहरुले २४ दशमलब ५० प्रतिशत बीमा शुल्क आर्जन गरेका छन् । तथ्यांक अनुसार सम्पत्ति बीमाबाट मात्रै ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो ठूलो बीमा शुल्कको स्रोत इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा रहेको छ । फागुन मसान्तसम्म बीमा कम्पनीहरुले यो शीर्षकमा १५ दशमलब ३१ प्रतिशत बीमा शुल्क संकलन गरेका छन् । यो शीर्षकमा ४ अर्ब १० करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

त्यसपछि सामुद्रिक बीमाबाट ५ दशमलब ०६ प्रतिशत, हवाई बीमाबाट ६ दमलब ५९ प्रतिशत, कृषि तथा बाली बमिाबाट ५ दशमलब ६१ प्रतिशत बीमा शुल्क संकलन हुने गरेको छ । कुल निर्जीवन बमिा बजारमा निर्जीवन लघु बीमा हिस्सा शून्य दशमलब ४४ प्रतिशत मात्रै रहेको छ । चालु आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ बराबरको निर्जीवन लघु बीमा कारोबार गरेका छन ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।