दुई दिनको वृद्धिपछि पुनः घट्यो नेप्से

Apr 10, 2024 03:14 PM Merolagani



पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक, बुधबार भने घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनमा करिब ३२ अंक बढेर बन्द भएको नेप्से, यस दिन १० अंक घटेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक १०.३० अंक घटेर २०२५.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६१ हजार ४२० पटकको कारोबारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सिंगटी हाइड्रोको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १९ रुपैयाँ घटेर १७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको कारोबार रकम ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।