बिक्री आम्दानी घटेपछि सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

May 11, 2024 05:55 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिक्री आम्दानी घटेका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८०.२२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९९.३९ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड २६ लाख रुपैयाँ सञ्चित छ।