बोटलर्स नेपालका दुबै कम्पनीको नाफा घट्यो

May 23, 2024 10:04 AM Merolagani



बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यी दुबै कम्पनीको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स नेपाल लिमिटेड (BNL) ले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ रहेको छ।

१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बोटलर्स नेपाल (तराई) लिमिटेड (BNT) ले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही ९ महिनामा सो कम्पनीले ३६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँबाट घटेर ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा भने ५८ करोड ८८ लाख रुपैयाँबाट घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँ सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ रहेको छ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।