तेस्रो त्रैमाससम्ममा ४४ हाइड्रोपावर घाटामा, ५३ वटाको नेटवर्थ नकारात्मक, कुन कम्पनीकाे वित्तीय अवस्था राम्राे?

May 16, 2024 06:39 PM Merolagani



चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ८७ हाइड्रोपावर कम्पनीमा ४४ वटा हाइड्रापावर कम्पनी घाटामा देखिएका छन्। विद्युत उत्पादन नै नथालेका र उत्पादन सुरु गरेपनि खर्च बढी रहेका धेरै हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका हुन्।

विद्युत उत्पादन सुरु नगर्दै सर्वसाधारणमा आइपीओ जारी गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि अझै वर्षाैसम्म केहि कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्था देखिदैन।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साहस उर्जाले सबैभन्दा धेरै ४७ करोड रुपैयाँ नाफा कमाएको छ भने चिलिमे हाइड्रोपावरले ४६ करोड र सानिमा हाइड्रोपावरले ३१ करोड रुपैयाँ नाफा कमाएको छ।

यता, अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा धेरै १ अर्ब २९ करोड रुपैयाँले घाटामा देखिएको छ भने अरुण काबेली हाइड्रोपावर ३४ करोड र त्रिशुली जलविद्युत ३० करोड रुपैयाँले घाटामा देखिएको छ।

  • विद्युत बिक्रीबाट अपरले सबैभन्दा धेरै कमाउँदा १० हाइड्रोको छैन आम्दानी

चैतसम्ममा अपर तामाकोशी हाइड्रोपावरले बिद्युत बिक्री गरेर सबैभन्दा धेरै ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ भने शाहास उर्जाले २ अर्ब २ करोड रुपैयाँ र ग्रिन भेन्चरले १ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ।

यता त्रिशुली जलविद्युत, पाँचथर पावर, बरुण हाइड्रोपावर, सानिमा मिडल तमोर, रसुवागढी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, मध्य भोटेकोशी हाइड्रोपावर, शुभम् पावर, मिन्छेनियम हाइड्रोपावर र भिजन लुम्बिनी हाइड्रोपावरले विद्युत उत्पादन गरी आम्दानी गर्न थालेका छैनन्।

  • ५२ कम्पनीको रिजर्भ नकारात्मक, पूँजीले थिचिदै

चैतसम्मको तथ्याँक अनुसार अपर तामाकोशीको चुक्ता पूँजी सबैभन्दा धेरै २१ अर्ब १८ करोड रुपैयाँ देखिएको छ। यस्तै चिलिमे हाइड्रोपावरको ७ अर्ब ९८ करोड, रासुवागढी हाइड्रोपावरको ६ अर्ब ८४ करोड र मध्य भोटेकोशीको ६ अर्ब रुपैयाँ रहेको छ।

यता कुथली बुखरी हाइड्रोपावरको चुक्ता पूँजी सबैभन्दा कम १२ करोड रुपैयाँ छ भने सुभम् पावरको २० करोड र अपर स्याड.गे हाइड्रोपावरको २२ करोड रुपैयाँ रहेको छ।

अहिले पटक पटक हकप्रद बिक्री गर्दा केहि हाइड्रोपावर पूँजीको भारले थिचिदै गएका छन्। पूँजी अत्याधिक बढाएपछि ती हाइड्रोपावरको वित्तीय अवस्था खस्किदै गएको देखिन्छ। 

८७ हाइड्रोपावर कम्पनीमा ५२ वटा हाइड्रोपावर कम्पनीको रिजर्भ ऋणात्मक रहेको देखिएको छ भने ३५ वटाको मात्रै सकारात्मक छ।

चैतसम्ममा बुटवल पावरको रिजर्भ सबैभन्दा धेरै ३ अर्ब ६२ करोड रुपैयाँ छ भने अपर तामाकोशीको ७ अर्ब ७८ करोड रुपैयाँले ऋणात्मक छ।

  • ४५ कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक, ५३ वटाको नेटवर्थ नै नकारात्मक

तेस्रो त्रैमाससम्ममा ४५ वटा हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक देखिएको छ। तथ्याँक अनुसार मान्डु हाइड्रोपावरको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २१ रुपैयाँ ६५ पैसा छ भने रुरु हाइड्रोपावरको १८ रुपैयाँ ५३ पैसा र शाहास उर्जाको १८ रुपैयाँ २१ पैसा रहेको छ।

यता, माया खोला हाइड्रोपावरको प्रतिशेयर आम्दानी ३० रुपैयाँले नकारात्मक छ भने हिमालयन पावर पार्टनरको २५ रुपैयाँ र त्रिशुली जलविद्युतको २२ रुपैयाँले ऋणात्मक छ।

५१ वटा हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ नकारात्मक छ भने ३४ हाइड्रोपावरको सकारात्मक छ। चैतसम्ममा बुटवल पावरको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै २०६ रुपैयाँ ३६ पैसा छ भने शाहास उर्जाको १७४ रुपैयाँ ९५ पैसा छ।

  • १५ कम्पनीको शेयरमूल्य ५०० माथि, १३ वटाको २०० तल

बिहीबार सम्ममा १५ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५०० रुपैयाँ माथि देखिएको छ जसमा कुथली बुखरी हाइड्रोपावरको सबैभन्दा धेरै प्रतिकित्ता १ हजार ५९ रुपैयाँ ५० पैसा रहेको छ भने मान्डु हाइड्रोपावरको ९६४ रुपैयाँ ९० पैसा छ।

यता हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा कम प्रतिकित्ता १३२ रुपैयाँ छ भने नेश्नल हाइड्रोपावरको १४६ रुपैयाँ रहेको छ।