केही दिनदेखि बढिरहेको शेयर बजार बजेट टार्गेट हो ? यसो भन्छन् बजारका जानकार

May 20, 2024 04:04 PM merolagani

सुवास निरौला

वैशाखको अन्तिम सातादेखि शेयर बजार बढ्दो क्रममा छ। पछिल्लो समय १९ सय ६३ अंकबाट बढ्न सुरु गरेको दोस्रो बजारको कारोबार मापक सूचक नेप्से सोमबार दुई हजार ९२ अंकमा उक्लिएर बन्द भयो ।

गएको १५ दिनको अवधिमा सूचकले एक सय २९ अंकको फड्को मारिसकेको छ। केही लगानीकर्ताले पछिल्लो समय शेयर बजार बढ्दै जानुको कारणको रुपमा नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीतिलाई औल्याएका छन् भने केहीले बजेट टार्गेट भनिरहेका छन्। तर बजार आउने केही दिन अझै बढ्दो लयमा नै रहने अनुमान केहीको छ। “मौद्रिक नीतिकाे पाटोबाट हेर्दा अहिले सबै कुरा बजारलाई सपोर्ट गर्ने नै छन्,” नेपाल स्टक ब्रोकर एसोसिएसनका निबर्तमान अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने।

उनका अनुसार ब्याजदर घट्दो अवस्थामा छ। तरलता पर्याप्त छ। यसले पनि बजारलाई माथि लैजान सहयोग गरिरहेको छ। अर्को तर्फ  हालै मात्रै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्‍यो। जसमा उसले ऋण बिस्तार गर्न भन्दै लचिलो नीति लिएको छ। त्यसैगरि केन्द्रीय बैंकले संस्थागत लगानीकर्ताका रुपमा रहेका बैंक वित्तीय संस्थालाई २० प्रतिशतसम्म शेयर बिक्री गर्न छुट दिएको छ। जबकि पहिले एक प्रतिशत मात्रै थियो। प्राथमिक पूँजीको ३० प्रतिशत शेयर किन्न पाउने तर बिक्री भने एक प्रतिशत मात्रै गर्न पाउने व्यवस्थाले बैंक वित्तीय संस्था दोस्रो बजार प्रति त्यति धेरै आकर्षित थिएनन्। तर अब २० प्रतिशत बिक्री गर्न पाउने नयाँ व्यवस्थाले उनीहरूलाई शेयर बजारमा लगानी गर्न प्रेरित गर्ने छ। जसले गर्दा  बजार सकारात्मक बाटाेमा हिँड्न थालेको देखिन्छ।

तर शेयर बजारको वार्षिक चक्रको तथ्याङ्कले भने बजेट पूर्व शेयर बजार बढ्ने गरेको देखाउँछ। त्यसले गर्दा पनि केहीले भने बजेटलाई नै शेयर बजारले टार्गेट गरिरहेको विश्लेषण बजारमा गरेका छन्। शेयर बजारमा सिजनल शेयर खरिद बिक्री गर्ने लगानीकर्ता हुने गर्छन्। जसले वर्षमा दुई पटक शेयर बजारमा खरिद आदेश बढाउने गर्छन्। बजेट पूर्व सिजनल वायर शेयर बजार प्रवेश गर्छन्। बजेट पूर्व प्रवेश गरेका लगानीकर्ता मौद्रिक नीति पछि बाहिरिने गर्छन्। मौद्रिक नीति पछि बाहिरिएका लगानीकर्ता फेरि दसैँ तिहार र छठ पर्व पछि बजार प्रवेश गर्छन्। छठ पर्व पछि बजार पसेका लगानीकर्ता फागुनको अन्तिमसम्म निस्की सक्छन्। सिजनल बायरले वर्षमा यही दुई पटक शेयर बजारमा राम्रो पैसा खन्याउँछन्। अहिले बजेट आउन धेरै समय छैन। एक साता पछि बजेट सार्वजनिक हुन्छ। किनकि नेपालको संविधानमा नै जेठ १५ गते बजेट ल्याउनु पर्ने मिति किटान गरेको छ। जस कारण सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गर्दै आएको छ।

बजेट अघि शेयर बजारमा लगानीकर्ता प्रवेश गरेसँगै शेयर सूचक पनि माथिल्लो बिन्दु तर्फ जाने गर्छ। जुन वैशाखको अन्तिम सातादेखि नै सूचक बढ्दो लयमा गइसकेको छ।

गत वर्षहरूका तथ्याङ्कले पनि बजेट अघि शेयर बजार बढ्ने गरेको प्रमाणित गर्छन्। गत वर्ष पनि बजेट अघि लगानीकर्ता शेयर बजार प्रवेश गरेका थिए। जसका कारण शेयर बजार बढेको थियो। गत वर्ष जेठ १ गतेदेखि शेयर बजार बढ्न सुरु गरेको थियो। वैशाखको अन्तिमसम्म १८१८.३१ बिन्दुमा रहेको सूचक जेठ लागे सँगै बढ्न सुरु गरेको थियो। त्यसपछि बजार एकै पटक मौद्रिक नीति आए पश्चात् मात्रै घटेको थियो। गत वर्ष जेठदेखि बढेको बजार २२२७ अंकसम्म उक्लिएर घट्न सुरु गरेको थियो। यसरी जेठमा बढ्न सुरु गरेर साउन अन्तिम पछि घट्न सुरु हुने क्रम गत वर्ष मात्रै देखिएको होइन, त्यस भन्दा अघिल्ला वर्षहरूमा पनि बजारले त्यस्तै प्रदर्शन गरेको तथ्याङ्कमा देखिन्छ। सोही कारण लगानीकर्ताले अहिले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेको विश्लेषण गरेका हुन्।

अहिले किनेको शेयर मौद्रिक नीति सार्वजनिक हुनु भन्दा अघिसम्म वा केहीले मौद्रिक नीति पश्चात् बिक्री गर्ने गरेका छन्। किनकि लगानीकर्ताले बजेटमा शेयर बजारको विषयमा केही सम्बोधन हुन्छ भन्ने अपेक्षा गर्दै शेयर किन्ने क्रम बढाउने गर्छन्। बजेटले शेयर बजारको विषयमा सम्बोधन नगरे लगानीकर्ता पुनः मौद्रिक नीति प्रति अपेक्षा राख्न सुरु गर्छन्। मौद्रिक नीतिमा शेयर बजार सम्बन्धमा राम्रो सम्बोधन भए शेयर बजारको बढ्दो लयले निरन्तरता पाउने गर्छ। बजेट अघि नै शेयर किनेका लगानीकर्ताले शेयर होल्ड नै गरी राख्छन्। तर नीतिले शेयर बजारलाई थप कसेमा लगानीकर्ताले शेयर बिक्री गर्न थाल्छन्। जसले गर्दा माग भन्दा बढी आपूर्ति हुन थालेपछि बिस्तारै सूचक तल झर्न सुरु गर्छ। जेठमा शेयर बजार पसेका लगानीकर्ता मौद्रिक नीति पछि बाहिरिन थाल्छन्।

तर अहिले बढिरहेको बजार बजेट केन्द्रित नभएको मैनालीको जिकिर छ। “बजेट पछि पनि अहिलेको बढ्दो लयले नै निरन्तरता पाउँछ भन्ने मेरो अनुमान छ। किनकि अहिले मौद्रिक पाटोले शेयर बजारलाई निक्कै सहयोग गरिरहेको छ। जसले गर्दा तुरुन्तै शेयर घट्ने अवस्था कमै देखिन सक्छ। बीचमा सानो तिनो करेक्सन भने हुन सक्छ” मैनालीले भने।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।