निर्जीवन बीमा कम्पनीले चैतसम्म साढे ३ अर्बको शेयर किने, अझै पौने ३ अर्बको खरिद गर्न सक्ने

May 21, 2024 11:33 AM MeroLagani

निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब भन्दा बढी रकम शेयर बजारमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले लगानी गर्ने गरेका छन् । निर्जीवन बीमा कम्पनीले कुल लगानीयोग्य रकमको १० प्रतिशत रकम नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गर्न सक्छन।


लगानी विविधिकरण अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थामा निर्जीवन बीमा कम्पनीको ठूलो लगानी रहेको छ । सरकारको ऋण वा बचत पत्र, घरजग्गा, बैंक तथा वित्तीय संस्था र अन्य सूचीकृत कम्पनीले जारी गर्ने डिबेन्चरहरु, कृषि उत्पादन, पर्यटन उद्योग, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्र, इन्भेष्टमेन्ट कम्पनीको शेयर, सूचीकृत नभएका अन्य पब्लिक कम्पनी गरी विभिन्न शीर्षकमा बीमा प्राधिकरणले बीमा कम्पनीको सञ्चित रकम लगानी गर्न दिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको ६३ अर्ब ५५ करोड १५ लाख रुपैयाँको पोर्टफोलियोमा ३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् । जुन कुल लगानी पोर्टफोलियोको ५ दशमलब ६३ प्रतिशत हुन आउँछ । अहिलेको निर्जीवन बीमा कम्पनीको पोर्टफोलियो हेर्दा अझै २ अर्ब ७७ करोड रुपैयाँ शेयर बजारमा लगानी गर्न सक्ने देखिन्छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले शेयर बजारमा लगानी गरेकाे छ। कम्पनीको ८ अर्ब १० करोड रुपैयाँको लगानी पोर्टफोलियोमा झन्डै १० प्रतिशत अर्थात ७९ करोड ४२ लाख रुपैयाँ लगानी शेयर बजारमै गरेकाे छ । बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार राष्ट्रिय बीमा कम्पनीले शेयर बजारमा गर्न सक्ने अधिकतम रकम हो ।

शेयर लगानी प्रतिशतको आधारमा राष्ट्रिय बीमा कम्पनीपछि क्रमैसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेका इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले बढी रकम शेयर बजारमा लगानी गरेका छन् । यी कम्पनीहरुले आफ्नो लगानी पोर्टफोलियोको ५ प्रतिशतभन्दा बढी रकम शेयर बजारमा लगानी गरेका छन । निर्जीवन बीमा कम्पनीहरुमध्ये नेप्सेमा सूचीकृत नभएको दी ओरियन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सको शेयर बजारमा लगानी छैन । नेप्सेमा सूचीकृत १२ वटा निर्जीवन बीमा कम्पनीमध्ये शेयरमा सबैभन्दा कम लगानी भने एनएलजी इनस्योरेन्सको रहेको छ । कम्पनीको २ अर्ब ७४ करोड ८२ लाख रुपैयाँको लगानी पोर्टफोलियोमा ४ करोड १० लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी रहेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले ४ करोड १० लाख रुपैयाँदेखि ७९ करोड ४२ लाख रुपैयाँसम्म लगानी गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५९ करोड २ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ कराेड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३७ करोड ८९ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ३६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।