शेयर बजारमा एफआइआइ र एफडिआइलाई बजेटले खुला गर्ने, के हो एफआइआइ र एफडिआइ ?

May 26, 2024 11:26 AM merolagani

सुवास निरौला

आउने १५ गते सार्वजनिक हुन लागेको आगामी आर्थिक वर्षको बजेटले फोरन इन्टिच्युसनल इन्भेस्टमेन्ट(एफआइआइ)र फोरन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडिआइ) खुला गर्ने व्यापक चर्चा शेयर बजारमा भइरहेको छ।

दोस्रो बजारमा चर्चा मात्रै चलेको छैन, एफआइआइ र एफडिआइ खुला हुने भन्दै वाणिज्य बैंकहरुको शेयर किन्ने क्रम समेत व्यापक बढेको छ। वाणिज्य बैंकमा उनीहरूले लगानी बढाउने आंकलन गर्दै अहिलेदेखि नै लगानीकर्ताहरूले वाणिज्य बैंकहरुको शेयर बटुलिरहेका छन्। खासगरि फोरन इन्टिच्युसनल इन्भेष्टर्सले शेयर बजारमा लगानी गर्दा फन्डामेन्टल र लिक्विड शेयरमा बढी लगानी गर्ने गर्छन्। अहिले फन्डामेन्टल्लि राम्रा भनेका वाणिज्य बैंकहरु छन्। अझ उनीहरूको मूल्य समेत सस्तो छ। जसका कारण वाणिज्य बैंकको शेयरमा लगानीकर्ताहरूले अहिलेदेखि नै लगानी बढाउँदै लैजान थालेका छन्। जसका कारण दोस्रो बजारमा केही दिन यता वाणिज्य बैंकको शेयर मूल्य समेत बढ्दै गइरहेको छ। गएको दुई सातामा सबैभन्दा बढी मूल्य बढ्ने समूहमा वाणिज्य बैंक परिरहेको छ।

हुन त यस अघि नेपाल राष्ट्र बैंकले समेत दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गर्ने विदेशी लगानीकर्ताले केन्द्रीय बैंकको अनुमति लिनु नपर्ने निर्देशन जारी गरिसकेको छ। “धितोपत्र बजारमा सूचिकृत कम्पनीमा हुने विदेशी लगानी” केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ। तर केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उसको अनुमति लिनु नपर्ने भनेको भए पनि अरू कसैको अनुमति लिनु पर्ने भए लिनु पर्ने भनेको छ।

त्यस अर्थमा विदेशी लगानीकर्ताले सूचीकृत कम्पनीहरूमा लगानी गर्नु पूर्व उद्योग विभागको अनुमति लिनु पर्ने हुन्छ। जुन व्यवस्था अहिले छैन। जसको कारण त्यस्तो लगानी नेपालमा आउन सकेको छैन। तर बजेटले सो विषय उल्लेख खुल्ला गरिदिए उद्योग विभागको समेत अनुमति लिनु नपर्ने अवस्था हुन सक्छ। जुन नेपाली शेयर बजारको लागि निक्कै हितकर हुने बजारका जानकारहरू बताउँछन्। “यसरी खोल्ने चर्चा निक्कै सुनिएको छ। त्यसैले गर्दा अहिले बैकिङ सेक्टरमा चार्म देखिन थालेको छ। बजेटले बाटो खोलेको खण्डमा शेयर बजारलाई राम्रै हुन्छ। अहिले शेयर बजारमा डिमाण्ड छैन। उनीहरू आए शेयरको डिमाण्ड भने पक्कै बढ्छ” भिजन सेक्युरिटीजका सञ्चालक राजकुमार तिम्मलसिनाले मेरो लगानीसँग भने।

दोस्रो बजारमा सबै जसो मुलुकले फोरन इन्स्टिच्युनल इन्भेष्टर्सकाे लागि खुला गर्ने गरेका छन्। छिमेकी राष्ट्र भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेशलगायत देशमा पहिलेदेखि नै खुला छ। पाकिस्तान र श्रीलङ्कामा आर्थिक सङ्कट देखिएको भएपनि त्यहाँ विदेशी लगानीकर्तालाई दोस्रो बजारमा कारोबार गर्न खुला गरिएको कारणले पनि त्यहाँको बजार चरम आर्थिक मन्दीमा समेत धेरै घटेन। आर्थिक मन्दीको असर केही समय श्रीलङ्कामा देखिदा त्यहाँको शेयर कारोबार मापक  सूचक सिएससि अलमा परेको थियो। तर त्यो असर केही समय मात्रै रह्यो। त्यसपछि बजारले पुनः आफ्नो लय समायो। उता पाकिस्तान आर्थिक रूपले निक्कै जटिल अवस्थामा रहँदा समेत त्यहाँको शेयर बजार आफ्नै लयमा छ। त्यस्तै अवस्था बङ्गलादेशको समेत देखिन्छ।

नेपालमा भने शेयरको माग बढाउने गतिला इन्भेष्टर्स नभएको कारण दोस्रो बजारमा माग बढ्न सकेको छैन। माग नबढेकै कारण शेयर सूचक पनि केही वर्ष यता सुस्त छ। माग त बढेको छैन नै अर्को तर्फ माग सिर्जना गर्न सक्ने अवस्था समेत बन्न सकेको छैन। किनकि नेपाल राष्ट्र बैंकले लगाएको १५/२० करोडको नीतिले बैंकहरुले शेयरमा पर्याप्त ऋण प्रवाह गर्न सक्दैनन्। अर्को तर्फ नेपालमा आफ्नै ल्याकतमा इन्भेस्टमेन्ट गर्न सक्ने ठूला इन्भेस्टमेन्ट कम्पनी समेत छैनन्। भएका इन्भेस्टमेन्ट कम्पनी पनि बैंककै भरमा छन्। ब्रोकर कम्पनीले मार्जिन लेण्डिङ अझै सुरु गरेका छैनन्। राम्रो शेयर खरिद गर्न सक्ने बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अङ्कुश लगाएको छ। उनीहरूले आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशत लगानी त गर्न पाउँछन् तर बिक्री गर्ने बेलामा भने २० प्रतिशत मात्रै बिक्री गर्नु पर्छ। त्यो पनि शेयर किनेको एक वर्ष व्यतीत भएपछि मात्रै। सेकेण्ड सेकेण्डमा मूल्य परिवर्तन हुने शेयर बजारमा एक वर्ष पछि के हुन्छ त्यो आजै अनुमान लगाउन गाह्राे छ। सोही कारण अहिले बैंक शेयर बजारमा त्यति आकर्षित छैनन्। भर्खरै मात्रै बिक्री गर्न पाइने एक प्रतिशतको सीमा बढाएर २० प्रतिशत केन्द्रीय बैंकले पुर्‍याएको छ। त्यसले अलि अलि दोस्रो बजारमा आकर्षण बढ्न सक्ने अनुमान गरिँदै छ।

यही बीचमा बजेटले सो विषय खुला गरिदिए नेपाली बजारको लागि निक्कै लाभदायी हुने जानकारहरू बताउँछन्।        

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।