एसईईको परिक्षाफलमा देखाइएको तमासा, बिद्यार्थी हाेइनन् नन ग्रेड ल्याउने शिक्षामन्त्री,सचिव र हाकिमहरू हुन्

Jun 27, 2024 05:08 PM Merolagani

बाबुराम ढकाल

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसईईको परिक्षाफल प्रकाशित भयो । परिक्षा दिएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये २ लाख २२ हजार ४७२ अर्थात ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए ।

२ लाख ४२ हजार ३१३ जना विद्यार्थी अर्थात परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले कक्षा ११ मा पढ्न पाउने छैनन् । त्यसको लागि फेरि परिक्षा दिनु पर्नेछ ।

नेपालमा विद्यार्थीको भविश्यमाथि सरकार र शिक्षाविद्हरुले कसरी खेलवाड गरिरहेका छन् भन्ने कुराको एउटा दृष्टान्त शिक्षा प्रणाली र परिक्षा प्रणालीहरु हुन् । र, यसपटकको एसईईको नतिजाले उनीहरुको हैसियत र नियतमाथि फेरि प्रश्न उठाइदिएको छ ।

किनकी, केही वर्ष अघिदेखि एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट)को नाम परिवर्तन गरेर एसईई (सेकेण्डरी एजुकेशन इक्जामिनेसन) बनाइयो । त्यतिबेला शिक्षाविदहरु र सरकारले के तर्क दिएका थिए भने एसएलसी प्रणालीमा विद्यार्थी धेरै फेल भए, पास नहुने विद्यार्थीहरुले केही न केही नम्बर ल्याएका हुन्छन् र उनीहरुमा केही न केही क्षमता हुन्छ । त्यसैले विद्यार्थीलाई फेल भनेर उनीहरुका अन्य क्षमताहरुलाई दमन गर्नुभन्दा ग्रेडिङ सिस्टम गर्ने, कसैलाई फेल नगर्ने, क्षमता अनुसारको पढन पाउने व्यवस्था गर्ने । त्यो अनुसार केही वर्ष परिक्षा संचालन र परिणाम प्रकाशित गरियो । तर, यसपटक फेरि पास-फेलको नीति लिइयो र अधिकांश विद्यार्थीलाई फेल गरियो । थोरै विद्यार्थीमात्र पास भए ।

यदि पास फेलको नीति नै लागू गर्नु थियो भने एसईई किन लागू गरियो ? एसएलसी किन खारेज गरियो ? एसएलसीको मोडलबाटै एसईई परिक्षा संचालन गर्ने हो भने त्यसको के औचित्य ? अनि अहिले उठिरहेको १० कक्षाको साटो कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम विन्दु मान्ने विषय के हुन्छ ? के त्यसको औचित्य पनि अब सकिन्छ ? के माध्यमिक शिक्षा प्रणालीको सुधारको लागि भन्दै अहिलेसम्म भए गरेका बहसहरुको औचित्य समाप्त भएको हो ? विहिबार प्रकाशित एसईईको परिक्षाफलले एकैपटक धेरैवटा प्रश्न उठाइदिएको छ । आफूलाई शैक्षिक क्षेत्र सुधारको मसिहा ठानिरहेकी शिक्षा मन्त्री सुमना श्रेष्ठसहित शिक्षामन्त्रालयका अधिकारीहरुले यी प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्छ ।

परिक्षा प्रणालीमा गाईजात्रा भएको यो नै एउटा घटना भने होइन । यस्ता गाईजात्राहरु एसईईदेखि विद्यावारिधिसम्मका परिक्षाहरुमा देखिदैं आएका छन् । प्रविणता प्रमाणपत्र तह खारेजी र प्लस २ प्रणाली लागू गर्ने क्रममा दशकौंसम्म गाईजात्रा नै मच्चाइयो । अनि स्नातक तह २ वर्षे गर्ने कि ३ वर्षे वा ४ वर्षे गर्ने, सेमेस्टर प्रणाली लागू गर्ने कि वार्षिक परिक्षा प्रणाली लागू गर्ने, ग्रेडिङ प्रणाली लागू गर्ने कि परम्परागतरुपमा अंकको आधारमा पास फेल गर्ने जस्ता विषयहरुमा एक से एक वहसहरु हुँदै आएका छन् । धेरै जसो अवस्थामा क्रान्तिकारी बन्दै नयाँ प्रणाली लागू गर्ने र केही वर्षमै ‘होइन, यो भन्दा त पुरानै ठीक रहेछ’ भन्दै फेरि यथास्थितिमै फर्कने प्रवृत्तिले देशको समग्र विकासको मोडालिटीलाई नै १ कदम अगाडि २ कदम पछाडिको अवस्थामा पुर्याईदिएको छ । सेमेण्टर प्रणालीमा गैसकेको स्नातक तहलाई फेरि वार्षिक परिक्षा प्रणालीमा फर्काउँदै ४ वर्षे कोर्सलाई ३ वर्षमा झार्ने बारेमा त्रिभुवन विश्वविद्यालय भित्र र बाहिर चलिरहेको बहस तथा एसएलसीको मोडलमा विहिबार प्रकाशित एसईईको परिक्षाफल प्रकाशनले त्यहीकुरा स्पष्ट पार्छ ।

सोझै भन्नु पर्दा आज प्रकाशित रिजल्टमा ननग्रेड (एनजी) भन्दै फेल भएका भनिएका २ लाख ४२ हजार ३१३ जना विद्यार्थीहरु होइन, यथार्थमा फेल भएका शिक्षामन्त्री, शिक्षा सचिवहरु हुन्, शिक्षा मन्त्रालयका हाकिमहरु हुन्, शिक्षाविद्हरु हुन् । तिनीहरुको असक्षमता र नालायकीपनले त्यत्रो विद्यार्थीहरुको मेहनत र एक वर्षको समय खेर गयो । अभिभावकहरुले विद्यार्थीमाथि गरेको अर्बाैं लगानी खेर गएको छ । र फेरि त्यो लगानी गर्नु पर्ने वाध्यता आइलागेको छ ।

एसईईको परिक्षाफल प्रकाशन पछि अभिभावक र विद्यार्थीहरुले भोग्नु पर्ने आतंकको त कुनै हिसाव किताब नै छैन । त्यस्तो आतंक संचारमाध्यमहरुदेखि लिएर प्लस टु पढाई हुने शिक्षण संस्थाहरुले गरिरहेका हुन्छन् । विज्ञापन दिएको आधारमा शिक्षण संस्थाहरुले ताई न तुई किसिमले सार्वजनिक गर्ने तथाकथित उत्कृष्ट प्लस टुहरुका महिमागानले विद्यार्थी र अभिभावकलाई भ्रमित बनाइरहेको हुन्छ भने प्लस टुका संचालकहरुलाई मनपरि शुल्क लिन प्रेरित गरिरहेको हुन्छ । ‘टपर पढाई हुने कलेज’को विज्ञापन आतंक केही वर्ष यता ‘वोर्ड फस्ट प्रथा’को खारेजीसँगै केही हदसम्म कमी आएको छ । तर, त्यो आतंक अहिले ‘उत्कृष्ठ प्लस टु’ को नाममा परिवर्तन भएको छ र त्यो आतंकको सर्जक प्लस टुहरु भए पनि माध्यम भने संचारमाध्यमका साहुजीहरु भैरहेका छन् ।

एसएलसी (अर्थात नाम मात्रको एसईई) परिक्षामा तामासे बनेका शिक्षामन्त्री र शिक्षामन्त्रालयका अधिकारीहरु, शिक्षाविद्हरुले उत्कृष्ठको नाममा संचारमाध्यम र प्लसटुका साहुजीहरुले सृजना गर्ने भ्रमको आतंकलाई रोक्ने आँट गर्न सक्छन् ? विश्वांस मान्ने एउटै गतिलो आधार छैन ।

एसईईमा बहुसंख्यक विद्यार्थी फेल हुनु, यो वा त्यो वाहानामा प्लस टु र कलेजहरुले विद्यार्थी र अभिभावकमा आतंक सृजना गर्नु तथा सरकार र शिक्षाविद्हरुका गैरजिम्मेवार नीति र व्यवहारका कारण नेपालको उच्च शिक्षा विजोक अवस्थामा पुगिसकेको छ । प्लस टु गरेपछि नेपाल बस्नै हुन्न भन्ने मान्यताको विकास गरिएको छ र त्यस्को पछाडिका कारणहरुका सर्जकहरु पनि तिनै पात्रहरु नै हुन् ।

चर्चा गर्नु नपर्ने विषय के हो भने जुन देशको शिक्षा प्रणाली भद्रगोल हुन्छ, त्यो देश कहिल्यै समुन्नत हुँदैन । विश्वविद्यालयहरुका परिक्षा पद्धति र समग्र अवस्थाहरु मात्रै होइन, एसईईको परिणामले पनि देश बन्दै छैन भन्ने कुरालाई पुष्टि गरेको छ । तर, यसबारेमा गहन चिन्तन बहस गर्ने, कहिले कस्ले ?

comments powered by Disqus

एसईईको परिक्षाफलमा देखाइएको तमासा, बिद्यार्थी हाेइनन् नन ग्रेड ल्याउने शिक्षामन्त्री,सचिव र हाकिमहरू हुन्

Jun 27, 2024 05:08 PM

बाबुराम ढकाल

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसईईको परिक्षाफल प्रकाशित भयो । परिक्षा दिएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये २ लाख २२ हजार ४७२ अर्थात ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए ।