शुक्रवार चार कम्पनीले सूचना निकालेको यो पहिलो पटक भने होइन। पछिल्लो समय हरेक दिन कम्पनीहरूले संस्थापक शेयर बिक्रीको सूचना निकाल्दै आइरहेका छन्। संस्थापक शेयर बिक्री गर्न त्यति सहज भने छैन। जसले गर्दा शेयर बिक्री गर्ने सूचना निकाल्नु पर्ने बाध्यता कम्पनी र शेयरधनीलाई हुने गर्छ।
संस्थापक शेयर बिक्री गर्न सबैभन्दा पहिले जुन कम्पनीको शेयर हो। सोही कम्पनीको शेयरधनीलाई पहिलो प्राथमिकता दिनु पर्छ। शुक्रवार सूचना आएका चारवटै कम्पनीले आफ्नै कम्पनीका शेयरधनीलाई शेयर बिक्री गर्न सूचना निकालेका थिए। उनीहरूले सूचना निकाले पश्चात् कम्पनीकै साबिक शेयरधनीले शेयर किन्ने भए वा मूल्य मिलेमा शेयर बिक्री हुन्छ। अन्यथा कम्पनी भन्दा बाहिरका मानिसलाई शेयर बिक्री गर्नु पर्ने हुन्छ। जुन पहिलो प्रक्रियाका लागि शुक्रवार कम्पनीहरूले कम्पनीकै साबिक शेयरधनीको लागि ३५ दिने सूचना निकालेका हुन्। शुक्रवारको सूचना अनुसार चार कम्पनीको कुल ४ लाख दुई हजार ११७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ। जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० हजार ९८० कित्ता, कुमारी बैंक लिमिटेडको ५ हजार ४९९ कित्ता, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार ८४० कित्ता र प्रभु बैंकको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो।
यसरी बिक्रीमा आएका संस्थापक शेयर सहजै बिक्री भने हुने गरेका छैनन्। अर्को तर्फ बजार घटेका कारण साबिक शेयरधनीहरूले धमाधम शेयर बिक्री गरिरहेका छन्। तर उनीहरूले शेयर बिक्री गर्न खोजे पनि बिक्रीकर्तालाई भने खासै मुनाफा हुने गरेको छैन। लघुवित्त कम्पनीका शेयरधनीलाई थोरै नाफा हुने गरेको भएपनि वाणिज्य बैंकहरुको संस्थापकलाई भने निक्कै मर्का पर्दै आएको छ। किनकि बर्षाै अघि प्रति कित्ता एक सय रुपैयाँका दरले शेयर किनेका शेयरधनीले अहिले एक सय २० रुपैयाँमा शेयर बिक्री गर्न पनि हम्मे हम्मे पर्ने गरेको छ। बर्षौसम्म लगानी गरेर पनि प्रतिफल नआउने र निक्षेपमा राख्ने जति पनि वार्षिक लाभांश नआउने भएपछि संस्थापक शेयरधनी धमाधम बाहिरिन थालेको बिक्री प्रबन्धकहरू बताउँछन्।
संस्थापकले आउने दिनमा थप लगानी गर्दा मुनाफा नआउने देखेपछि अहिले हकप्रद शेयर समेत किन्न छाडेका छन्। जसले गर्दा धेरै कम्पनीले नबिकेको हकप्रदलाई लिलामीमा चढाउनु पर्ने अवस्था छ। अङ्ग्रेजी वर्षको जुलाई महिनामा मात्रै सात कम्पनीमा संस्थापक शेयर लिलामीमा आएका छन्। जसमा चार कम्पनीका संस्थापक शेयरमा अहिले पनि आवेदन दिन सकिन्छ। नेपाल क्लियरिङ हाउस, एनएमबि बैंक, महिला लघुवित्त वित्तीय संस्था, सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी खुला छ भने जुलाईमा आएका नागरिक लगानी कोष, सूर्यदोय ओमी लघुवित्त र नेपाल इन्फास्ट्रकचर बैंकको लिलामी भने बन्द भइसकेका छन्।
कतिपय कम्पनीको यस्तो लिलामीमा समेत पर्याप्त आवेदन नपर्दा लिलामीलाई दोहोर्याउनु परेको अनुभव बिक्री प्रबन्धक सुनाउँछन्।
कुनै समय नेपालमा बैंक वित्तीय संस्था खोल्ने होड नै चलेको थियो। प्रतिष्ठा कै लागि भएपनि बैंक वित्तीय संस्था खोलिन्थ्याे। जसको कारण धेरै जसोले बैंक वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गरे। कसैले बुझेरै लगानी गरे भने कसैले बुझ्दै नबुझी शेयरमा लगानी गरे। तर यति बेला आएर भने बुझेर लगानी गर्ने र नबुझेरै लगानी गर्ने दुबैलाई संस्थापक शेयर घाँडो हुन थालेको छ। जसले गर्दा अहिले संस्थापक शेयर बिक्रीका लागि बढी आएका हुन्। यसरी संस्थापक शेयर बिक्रीको बाढी आउनु त्यति बेला राम्रो मानिन्थ्यो जति बेला संस्थापक शेयर बिक्री कर्ताले राम्रै मुनाफा आर्जन गर्ने स्थिति हुने थियो। तर आजित भएर शेयर बिक्रीका लागि आउनु भने पक्कै पनि दोस्रो बजार र लगानीका हिसाबले राम्रो होइन।