सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिनु अघि कस्तो छ लघुवित्त? हेरौँ

Jul 19, 2024 10:10 AM Merolagani



सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले आज (साउन ४ गते) देखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

 

एफपीओमा कसरी र कहिलेसम्म आवेदन दिने?

लघुवित्तले निष्काशन गरेको एफपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

लघुवित्तको एफपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गर्दा कुल ४ हजार ६७२ आवेदकले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा ९.५४५० कित्ता शेष रहन्छ। बाँकी रहेको ९.५४५० कित्ता शेयर पनि सोही ४ हजार ६७२ आवेदकमा नै वितरण गरिने भएको हुनाले ९ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न, लगानीकर्ताले न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्ग नेपालले प्रदान गरेको उक्त रेटिङ्गले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले लघुवित्तलाई २०८० भदौ ५ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ भदौ २ गतेसम्म बहाल रहनेछ।

कस्तो लघुवित्त हो?

सूर्योदय वोमी लघुवित्त कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित लघुवित्त कम्पनीको हो। लघुवित्तको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय बनेपा–१३, साँगा काभ्रेपलाञ्चोक बागमती प्रदेशमा रहेको छ।

यस लघुवित्त २०६८ जेठ २६ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०६८ फागुन २५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०६८ फागुन १९ गतेदेखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ। लघुवित्तका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था, बैंकिङ्ग क्षेत्र, जलविद्युत क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन्। “घ” वर्गको लघुवित्त संस्थामा विभिन्न क्षेत्रमा लघुवित्त कारोबार सञ्चालन गरेको अुनभव प्राप्त संस्थापक र कर्मचारीहरु रहेका छन्।

लघुवित्तको व्यावसायिक योजना अनुसार स्वःसक्षमता र दिगोपनालाई अझ बलियो बनाउदै ५५ जिल्ला भित्र १९२ शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गरी त्यस क्षेत्रका १ लाख ८३ हजार २६६ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।

एफपीओ जारी गर्नुको उद्देश्य

साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस संस्थाको कुल चुक्ता पूँजीको ७०.३६ प्रतिशले हुन आउने संस्थापक समूहको र २९.६४ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको शेयर कायम रहेको हुनाले बैंंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर)का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुटयाउनु पर्ने हुँदा एफपीओ निष्काशन गरेको हो।

निष्काशनबाट प्राप्त हुने कुल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिनेछ?

थप साधारण शेयर निष्काशन गरी प्राप्त हुने पुँजी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम “घ” वर्गको वित्तीय संस्थाले गर्न पाउने कार्यको अधिनमा रही वित्तीय संस्थाको व्यावसायिक प्रयोजनमा उपयोग गरिनेछ। थप साधारण शेयर निष्काशन गरी प्राप्त हुने रकम लघुवित्तको नियमित कारोबार एवं आर्थिक कारोवारहरु विस्तार एवं वृद्धि गर्न उपयोग गरिनेछ।

चालु आर्थिक वर्षमा ३२ करोड ६४ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३२ करोड ६४ लाख ३४ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १९ पैसा पुग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको सञ्चित नाफा २२ करोड ९५ लाख रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण रहेको छ।

सञ्चालक समितिको संरचना

लघुवित्तको सञ्चालक समितिमा ७ जना सञ्चालक रहका छन्। जसमध्ये ४ जना संस्थापक शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन् भने २ जना सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन्। बाँकी १ जना भने स्वतन्त्र सञ्चालक रहेको छ।

लघुवित्तको सञ्चालक समितिका अध्यक्ष लेखनाथ खनिया रहेका छन्। त्यस्तै, अन्य सञ्चालकहरुमा संस्थापक समूहतर्फबाट बिन्दीया श्रेष्ठ प्रधान, अनन्त कुमार श्रेष्ठ र दधि राम पौड्याल रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट शिव प्रसाद मिश्र र कमल भण्डारी रहेका छन्। लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधव प्रसाद भट्ट रहेका छन्।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी, नायव कार्यकारी अधिकृत प्रमेश आचार्य मुख्य प्रबन्धक रविन्द्र तिमल्सेना र वरिष्ठ प्रबन्धक निरा अधिकारी रहेका छन्।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।