बुलिश बजारः
बुलिश शब्द एक विशेषण हो जुन बजारको अवस्था वा भावनालाई वर्णन गर्न प्रयोग गरिन्छ र यसले शेयरको बढ्दो मूल्यलाई संकेत गर्दछ । जब शेयर बजार कुनै न्युन विन्दुवाट तिव्र गतिमा दिन दिनै वृद्धि हुँदै जाने अवस्था (प्रवृत्ति) बन्छ भने त्यो बुलिश बजार भनेर बुझ्ने गरिन्छ । यदि कसैलाई बुलिशको रूपमा वर्णन गरिएको छ भने, यसको मतलब तिनीहरूले बजार वा विशेष स्टक माथि जाने आशा गरिरहेका हुन्छन् भन्ने कुरा बुझिन्छ । शेयरको बढ्दो मूल्य विशेषता भएको बजार प्रवृत्तिलाई नै बुलिश मार्केट भनेर चिनिन्छ । यसले शेयरको मूल्य वृद्धिको अपेक्षाको संकेत गर्ने भावना वा बजार अवस्थालाई बुझाउँछ ।
बुल बजारः
जब बुलिश शेयरबजारले सबैभन्दा उच्च विन्दु पार गरेर अर्को उच्च विन्दुको रेकर्ड बनाउँछ भने त्यो अवस्थामा शेयर बजार बुल भएको भनेर बुझ्न सकिन्छ । यस्तो बजारलाई केहि समय अन्तरालमा पुकार्नु पर्दा बुल बजार थियो भनेर पुकार्ने गरिन्छ । बुल बजार एक यस्तो बजार हो जहाँ धेरै भन्दा धेरै लगानीकर्ताहरूले शेयरको मूल्य धेरै नै बढ्ने अपेक्षा गर्दछन् र शेयर खरिद बढाउछन् किनकी यसमा बजार प्रति अधिकतम नयाँ तथा साना लगानीकर्ताको धारणा सकारात्मक हुन्छ र अधिक मानिसहरूले शेयर किन्ने गर्छन् ।
बुल शेयर बजारका केही विशेषताहरू
- शेयरको मूल्यले तथा कारोबारले लगातार उच्च रेकर्ड बनाउँछ ।
- उच्च आत्मविश्वास् भएका लगानीकर्ताहरूले बजारको राम्रो भविष्यमा विश्वास गर्छन् र लगानी गर्न उत्साहित हुन्छन् ।
- आर्थिक वृद्धि तथा देशको आर्थिक स्थितिमा सुधार हुन्छ, जसले शेयर बजारलाई सकारात्मक प्रभाव पार्दछ।
- निक्षेप तथा कर्जाको ब्याज दर कम हुँदा लगानीकर्ताहरूले शेयरमा लगानी गर्न रुचि देखाउँछन् ।
- बुल शेयर बजारले प्राय दीर्घकालीन लाभहरू र आर्थिक स्थिरताको संकेत गर्ने गर्दछ ।
नेपालको शेयर बजार पछिल्लो समय बुलिश भएको देख्न सकिन्छ । छोटो समयमै नेप्से परिसूचकमा तिव्र सुधार देखिएको छ । २०८१ असार १७ गते यता ३३ कारोबार दिनमै नेप्से परिसूचक २०५३ बाट बढेर ३०४८ विन्दुसम्म पुगेको देख्न सकिन्छ जहाँ करिब १००० अंकले बजार सुधार भएको हो । यसरी शेयर बजार एक्कासी बुलिश लयमा अगाडि बढ्नुको कारण बारे लेखकको धारणा देहायका बुँदामा उल्लेख गरिएको छः
अहिलेको शेयरबजार तिव्र गतिमा सुध्रिनुको कारणहरुः
१. दुई ठूला दल कांग्रेस र एमालेको संयुक्त र दुई तिहाई सर्मथनको बलियो सरकार बन्नु ।
२. लगानीकर्ताले खासै नरुचाएको माओवादी नेतृत्वको सरकार ढल्नु र अव भविष्यमा माओवादी पुनः सरकारमा आउने सम्भावना न्युन हुने खालका राजनीतिक विश्लेषण हुनु ।
३. विगतदेखि शेयर बजारले रुचाएका बिष्णु पौडेल अर्थमन्त्रीको रुपमा आउनु ।
४. केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिमा भएको केही लचक व्यवस्थाको सकारात्मक प्रभाव पर्नु ।
५. शेयरबजार चत्र (बुल-बियर) जुन नेपालमा हरेक ३–४ बर्षमा देखिएको छ त्यो बियरिश बजार चत्रको समय लगभग अन्तिम अन्तिम हुनु ।
६. अधिक लरलता, घट्दो ब्याजदर र कर्जाको सहज उपलब्धताले लगानीकर्तालाई लगानी गर्न सजिलो हुनु ।
उपरोक्त कुराले शेयरबजारमा के असर गर्यो ?
- कारोबार रकमले पहिलेको उच्च रेकर्ड तोड्यो ।
- छोटो समयमै नेप्से परिसूचकमा तिव्र सुधार देखियो । ३३ कारोबार दिनमै नेप्से परिसूचक करिव १००० अंकले सुधार भयो ।
- लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको छ ।
- निष्कृय लगानीकर्ता सकृय भएका छन् । केही मात्रामा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।
- अघिल्लो बुल बजारमा फसेका लगानीकर्ताको महंगो शेयरको मूल्यमा साँवा आएको छ ।
- बजार दिन दिनै हरियो देख्दै जाँदा लगानीकर्ता लोभी हुँदै गएका छन् ।
- शेयरबजार परिसूचक हाइ हाइ हुदै गएकोले जोखिम धेरै बढेता पनि करेक्सन कुर्नेहरु उच्च मूल्यमै शेयर खरिद गरिरहेको देख्न सकिन्छ ।
अब के गर्ने ?
- कमसल शेयर उच्च मूल्यमा बिक्री गर्ने सुवर्ण अवसर हो ।
- आईपीओको शेयर पनि उच्च मूल्य बिक्री गर्ने सुवर्ण अवसर हो ।
- शेयर बजारबाट पैसा निकालेर आफ्ना तथा परिवारका थाति रहेका आवश्यकता पुरा गर्ने सुवर्ण अवसर हो ।
- बजारबाट पैसा झिकेर राम्रो घर, गाडी वा सन्ततीको लागि राम्रो शिक्षा दिक्षा वा स्वास्थ्य र घुमफिर, मनोरन्जनमा खर्च गर्ने सुवर्ण अवसर हो ।
- आफ्नो पोर्टफोलियोमा झारपात उखेल्ने, गोडमेल गर्ने वा भनौ छाँटकाँट गर्ने सुवर्ण अवसर हो ।
- आफ्नो पोर्टफोलियोलाई “शुन्य लागत” बनाउने सुवर्ण अवसर हो ।
- पोर्टफोलियोलाई शून्य लागत बनाउन सकिएन भने पनि “पार भ्याल्यु लागत” बनाउने सुवर्ण अवसर पनि हो ।
- बुलिश बजारमा बीच बीचमा आएका करेक्सनहरुमा उहि पूँजीमा पोर्टफोलियमा भएको कम्पनीको कित्ता बढाउने (कम्पनीले बाेनस शेयर नदिएपनि आफुले नै सृजना गर्ने) सुवर्ण अवसर हो ।
- बुल बजारमा कित्ता थप्दै जानु भनेको आफ्नो पोर्टफोलियोलाई महंगो बनाउदै लैजानु हो र बियरिश बजारमा कित्ता थप्नु भनेको आफ्नो पोर्टफोलियोलाई सस्तो बनाउँदै लैजानु हो ।
- यर्थाथमा बुलिश बजारमा कमाउनु भनेको खल्तीमा पैसा आएपछिलाई मात्र मानिन्छ । नत्र त्यो बढेको अंकको मात्र भर हुन्न ।
- माध्यम् खालका लगानीकर्ताको मनोविज्ञान ठूला खाले लगानीकर्ताले भुट्ने भएकोले कर्जा लिएर ठूलो रमक हाल्नु धेरै जोखिम मोल्नु हो ।
- जो शेयरबजारमा केही गर्न सक्दैन हेरेर मात्र बस्छ, उस्ले केवल अरुले कमाएको आरिस गर्छ ।
- मात्र मनोवैज्ञानिक प्रभावले तिव्र बृद्धि भएको शेयरबजारलाई टेवा दिन कम्पनीको सकारात्मक वित्तीय सूचकले, मुलुकको आर्थिक गतिविधिले र सरकारले जनताको बुलिश मनोभावनालाई बचाई राख्न सकेन भने त्यो बृद्धि दिगो हुँदैन ।
निश्कर्ष
शेयरबजार तिव्र गतिमा बढ्नु नराम्रो होइन तर सवै सेक्टर सोही अनुपातमा नबढेर कुनै निश्चित सेक्टर वा केही कम्पनीको शेयर मुल्यमात्र बढिरहँदा कुनै कुनै कम्पनीको शेयर मुल्यमा बबल सृजना हुने र त्यो व्रस्ट हुँदा उच्च मूल्यमा खरिद गर्ने नयाँ तथा साना लगानीकर्ता बढी जोखिममा पर्ने हुन्छन् । शेयर बजारमा विकृत कारोबारहरुले प्रसय पाउन थाल्यो भने नियमक निकायले नियन्त्रण गर्न बाध्य हुन्छ जसको परिणाम स्वरुप शेयरबजार गिर्न सक्छ र उच्च मूल्यका खरिदकर्ता सबैभन्दा धेरै जोखिममा पर्दछन् ।
(लेखक गुरागाँई शेयर बजारका अध्येता हुन्)