ब्रोकरले लिमिट टाइट गर्न थालेको लगानीकर्ताको गुनासो, ब्रोकर भन्छन् 'उच्च विन्दुमा फसेको उधारो उठाउन सकिएन'

Sep 04, 2024 06:10 AM Merolagani



सुवास निरौला

दोस्रो बजारमा भेटिएका लगानीकर्ता विकास थापा (नाम परिवर्तित) ले तीन हजारको बिन्दुबाट शेयर बजार खस्किन थालेपछि ब्रोकरहरूले लिमिट टाइट गर्न थालेको गुनासो गरे।

“जहिलेबाट शेयर बजार खस्किन थाल्यो। त्यस बेलादेखि ब्रोकरहरूले लिमिट टाइट गर्न थालेका छन्,” थापाले मेरो लगानीसँग भने।

हुन त थापा दोस्रो बजारका निक्कै ठूलो कारोबार गर्ने खेलाडी होइनन्, तैपनि उनी २० लाख रुपैयाँको हाराहरीमा सर्ट टर्म ट्रेड गर्ने दोस्रो बजारका शेयर  कारोबारी हुन्। उनले पछिल्लो समय आफ्नो भन्दा बढी ब्रोकरको पैसा चलाए। तर अहिले ब्रोकरले उनलाई टाइट गर्न थालेको बताए। उनको भनाई अनुसार पहिले २० लाख सम्म सजिलै लिमिट दिने गरेका ब्रोकरले अहिले १० लाख दिन पनि अप्ठ्यारो मान्ने गरेका छन् ।

थापा जस्तै प्रेसरमा धेरै लगानीकर्ता पर्न थालेको छन्। यस अघि ब्रोकरले दिने गरेको  लिमिटले नै कारोबार रकम समेत ह्वात्तै बढेर ३० अर्ब नजिक पुगेको थियो। तर जब ब्रोकरले लिमिट टाइट गर्न थाले तबदेखि कारोबार रकम खुम्चिएर १० अर्बमा झरेको छ। के साँच्चै ब्रोकरले लिमिट टाइट गर्न थालेको हो भन्ने प्रश्न नेपालकै सबैभन्दा धेरै शेयर कारोबार गराउने ब्रोकर कम्पनी नासा सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत मदन पौडेललाई राख्दा पौडेल भन्छन्, “उधारोमा शेयर किन्न दिने मुलुक नेपाल मात्रै हो। यति धेरै उधारो बढ्यो कि हिसाब गर्नै नसक्ने अवस्था आउन थालेपछि लिमिट टाइट नगरौँ भन्दा पनि गर्नै पर्ने बाध्यता आएकै हो। तर बजारमा भनेजस्तो गरी नियमित कारोबार गर्नेलाई टाइट गरिएको अवस्था होइन। हिसाब मिलाउँदै जानेले अहिले पनि माग अनुसार कै लिमिट पाइरहेका छन्। तर अलि धेरै उधारो बसेकाहरूको भने हिसाब मिलान गर्नु पर्ने अवस्था छ।”

पछिल्लो समय सर्ट टर्म ट्रेडरले जति पैसा बनाइरहेका थिए। त्यो क्रम भने पुरै रोकिएको छ। सर्ट टर्म कारोबार गर्नेले पैसा बनाउन सकिरहेका छैनन्। उनीहरूको पैसा माथिल्लो मूल्यमा गएर अड्किन थालेको छ। जसले गर्दा केही सर्ट टर्म कारोबारीले त स्टप लस नै गर्नु पर्ने अवस्था आउन थालेको छ। ब्रोकरको उधारो मिलाउनै पर्ने बाध्यताले पनि धेरैले घाटामा शेयर बिक्री गर्न थालेका छन्। जसले गर्दा पनि सेलिङ प्रेसर सुरु भएको अनुमान बजारमा हुन थालेको छ।

ठूला र पुराना ब्रोकरले मात्रै होइन पछिल्लो समय आएका नयाँ ब्रोकरले समेत अहिले ग्राहकलाई दिने उधारो कम गर्न थालेको सुनाए। “अहिले हामीले ग्राहकलाई दिने उधारोलाई निक्कै कम गरेका छौ। अहिले जसले धितोमा शेयर राख्न चाहन्छ उसलाई र जसले क्यास सेटलमेन्ट गर्न सक्छ उनीहरूलाई मात्रै बढी उधारो सुबिधा दिइरहेका छौ,” सन सेक्युरिटिजका सञ्चालक कृष्ण गिरीले मेरो लगानीसँग भने।

किन उधारो दिन कम गर्न थाले ?

ब्रोकरले उधारो कम गर्नुको मुख्य कारण भनेको बजार घट्दो लयमा जानु नै हो। उधारो अचाक्ली बढ्नु अर्को कारण रहेको ब्रोकरहरू बताउँछन्। थेग्नै नसक्ने गरेर उधारो बढेपछि उधारो कारोबार रोक्नै पर्ने स्थिति आएको ब्रोकरहरू बताउँछन्। अर्को तर्फ फेस्टिभ सिजन सुरु हुनुले पनि उधारो कम दिन थालिएको बताइएको छ। खासगरि फेस्टिभ सिजन सुरु भएपछि बजारमा प्रेसर पर्ने अनुमान ब्रोकर कम्पनीले गरिरहेका छन्। फेस्टिभ सिजनमा बजार साइड वेजमा जान्छ भन्ने ब्रोकरहरूको अनुमान छ।

यति बेला बजारमा शेयर किन्न भन्दा बेच्न आउने बढी हुन्छन्। किनकि चाडबाडमा सबैलाई पैसाको आवश्यकता हुन्छ। जसले बजारलाई साइड वेजमा लैजान्छ। त्यसले गर्दा उधारोमा शेयर किन्नेले यति बेला नाफा बनाउन सक्ने सम्भावना निक्कै कम हुन्छ। जसले गर्दा उधारो निक्कै लामो समय अड्किन सक्ने भएकोले पनि ब्रोकर कम्पनीहरूले दिने उधारो कम गर्न थालेका हुन्।  




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।