बजारले दुई हजारको विन्दुबाट तीन हजारको विन्दुमा पुग्दा कारोबार रकम र बजार पूँजीकरणमा नयाँ रेकर्डहरू कायम गरेको थियो ।
तीन हजारबाट नेप्से फर्केर २७३९.४६ मा आइपुगेकाे छ । याे बीचमा करिव तीन सय अंककाे करेक्सन आइपुगेकाे छ । अब करेक्सन सकिएकाे अनुमान लगानीकर्ताले गर्न थालेका छन् ।
बजारले नयाँ उचाई बनाउनु पूर्व बजारमा राम्रो करेक्सनको अवश्यकता महसुस गरिएकाे थियाे । बजारले करिब ३ सय अंकको करेक्सन पछि फकर्ने सुरसार गरिरहेकाे लगानीकर्ताले बताएका छन् ।
यो विन्दुमा आएको करेक्सनले बलियो आधार बनाएको छ । शेयर बजार भनेको निरन्तर बढ्दैन । कहिले बढ्छ । कहिले घट्छ । बजारमा हुने घटबढबाट नै अवसर खोज्नु पर्ने लगानीकर्ता राज कुमार पाण्डेले बताए ।
बजार दुई हजारबाट बढ्दै गर्दा लगानीकर्ताले उच्च प्रतिफल समेत प्राप्त गरेका छन । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदरले शेयरमा लगानी गर्ने लगानीकर्ताहरु उत्साहित छन ।
अर्कातिर बजार बढ्दा लगानीकर्ताहरुमा आफ्नो लगानी जोखिममा छ कि भन्ने आशंका पनि गरेको पाइन्छ । आफूले उच्च मूल्यमा खरिद गरेको शेयर भ्यालु घट्ने हो कि भन्ने त्रासमा लगानीकर्ताहरु रहेको पाइन्छ । जसले गर्दा लगानीकर्ताले नाफा बुक गर्दै थप लगानीको रणनीतिमा लाग्दा पछिल्लो समय बजारमा दबाव परेको पाण्डेको बुझाई छ ।
शेयर बजार अत्यन्त संवेदनशील छ । सानो कुराले पनि बजारबाट लगानीकर्ताको ठूलो नोक्सानी हुनसक्ने प्रति सरोकारावाला निकायहरु सचेत हुन पर्नेमा जानकारहरुको जोड छ ।
शेयर बजारको माग र आपूर्ति अनुसारको उतारचढाव हुनु नियमित प्रकृया भएको प्राविधिक विश्लेषक विनोद महर्जनले बताए । बजारमा कहिले काही करेक्सन हुँदै बढेमा स्थायित्व कायम हुने उनको बुझाई छ । १८ सयदेखि २२ सयको विन्दुमा एकुमुलेसन भयो । बजार निरन्तर हजार अंक बढेको छ । यो अन्तरालमा धेरैलाई राम्रो नाफा आर्जन भएको छ । अब अर्को चरणको एकुमुलेशन भएपछि पुन: बजारले राम्रो गति समाउने महर्जनको विश्वास छ ।
अहिले शेयर बजारको पहुँच धेरै लगानीकर्ताहरु बीचमा पुगेको छ । बजारमा सबै लगानीकर्ताहरु एकै नासको हुदैनन् । अहिले बजारमा लगानी गर्ने लगानीकर्ताहरुले लगानी गर्दै गरेको कम्पनीको बारेमा जानकारी राखेर कारोबार गर्ने भएको कारण बजारमा स्थायित्व कायम गर्न सहयोग पुग्ने लगानीकर्ता दीपक कार्कीले बताए । बढ्दो बजारमा नवप्रवेशी लगानीकर्ताहरुले पर्याप्त सूचना बिना नै बजारमा लगानी गर्ने हुँदा स्थायित्व नरहने हो कि भन्ने डर उत्पन्न भने रहने छ । यस्तो अवस्थामा सरोकारवाला निकाय नयाँ लगानीकर्तालाई सुसूचित गराउँदै बजार स्थायित्व गराउन तर्फ उन्मुख हुनुपर्नेमा कार्कीको जोड छ ।
यता ब्रोकर एसोशियसन नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले बजारमा लगानी गर्ने लगानीकर्ताहरु सचेत भएर लगानी गर्नुपर्नेमा जोड दिएका छन । लगानीकर्ताले लगानी गर्दै गरेको कम्पनीको विश्लेषण गर्ने, शेयर मूल्य बढी रहेको कम्पनीको भन्दा पनि अन्डरभ्यालुड कम्पनीको शेयर खरिद गर्ने हो भने बजारमा स्थायित्व कायम हुने उनको विचार रहेको छ। यदि सधै बजारमा ओभरभ्यालु मात्र भएका कम्पनीको शेयर कारोबार भएको खण्डमा बजारमा स्थायित्व ल्याउन मुस्किल पर्ने रानाभाटको भनाई छ ।
त्यस्तै, बजारलाई स्थायित्व बनाउनको लागि सरोकारवाला निकायहरुले विशेष ध्यान पुर्याउनु पर्ने लगानीकर्ता ऋतुजंग जिसीको बुझाई छ । बढदो बजारमा लगानीकर्ताको सम्पत्ति अझै जोखिममा रहेको हुन्छ । यो अवस्थामा बजारमा नियामकहरुले करोबार गराउने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)लाई विश्वासनिय र भरपर्दो बनाउन पर्नेमा जोडदिए । टिएमएसमा अझ सुधार गर्दै जाने हो भने बजारमा स्थायित्व आफै कायम हुने जिसीको बुझाई छ । सम्बन्धित निकायले बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई सचेत बनाउदै प्रोत्साहन गर्नेतर्फ ध्यान पुर्याउने हो भने बजारमा स्थायित्व स्वंयम कायम हुने उनको दाबी रहेको छ।
राज्यको आर्थिक वृद्धिका मेरुदण्डको रुपमा रहेको शेयर बजार बढ्नु सबैका लागि सकारात्मक पक्ष हो। जहाँ सम्बन्धितहरुले उचित लाभ आर्जन गर्न सक्दछन । तर, बजारमा सन्तुलन ल्याउन सकिएन भने सर्वसाधारणको लगानी जोखिममा पर्ने सम्भावना उच्च रहन्छ ।