कुन वाणिज्य बैंकले कति दिन सक्छ लाभांश ?

Aug 28, 2025 11:05 AM MeroLagani



नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंकले लगानीकर्ताको हात खाली गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको सञ्चालन अनुमति दिएका २० वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकका लगानीकर्ताले कुनै लाभांश पाउने अवस्था छैन ।

नेपाल राष्ट्र बैंकले पुँजी कोष कायम गर्न नसकेको र खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको बैंकहरुलाई लाभांश वितरण गर्न रोक लगाउने गरेको छ । चौथो त्रैमासिक वित्तीय विवरण अनुसार हिमालयन, बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंककको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी छ । खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएका यी बैंकहरुले लाभांश वितरण गर्न पाउने छैनन् । अर्को तर्फ वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक भएका वाणिज्य बैंकले समेत लाभांश वितरण गर्ने छैनन ।

हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक र एनआइसी एसिया बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक रहेका कारण लाभांश वितरण गर्न सक्ने छैन । चार वटा वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक रहेका बैंकमध्ये नेपाल बैंकको खराब कर्जा भने ५ प्रतिशत माथि रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी सकारात्मक भए पनि खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेका कारण लाभांश वितरण गर्ने अवस्थामा छैनन । नेपाल बैंकको प्रति शेयर वितरणयोग्य प्रति शेयर आम्दानी १ रुपैयाँ ४४ पैसा मात्रै छ भने प्राइम कमर्सियल बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी १४ रुपैयाँँ ३३ पैसा छ ।

अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी एभरेष्ट बैंकले ३८ दशमलब २७ प्रतिशतसम्म लाभांश बाँड्न सक्छ भने कृषि विकास बैंकले २० दशमलब ७७ प्रतिशत लाभांश बाँड्न सक्छ । यता सानिमा बैंकले २० दशमलब ४७ प्रतिशत लाभांश बाँडन सक्ने क्षमता रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ दशमलब ८५ प्रतिशत लाभांश बाँड्न सक्छ । नबिल बैंकले १७ दशलब ६४ प्रतिशत, ग्लोबल आईएमई बैंकले १४ दशमलब ११ प्रतिशत, सिद्धार्थ बैंकले १३ दशमलब २२ प्रतिशत, लक्ष्मी सनराईज बैंकले १२ दशमलब ३४ प्रतिशत, नेपाल एसबीआई बैंकले ११ दशमलब २९ प्रतिशत र एनएमबी बैंकले १९ दशमलब ४ प्रतिशत लाभांश बाँड्न सक्नेछ । माछापुच्छे् बैंकले ९ दशमलब २३ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले ५ दशमलब २५ प्रतिशत र प्रभु बैंकले ४ दशमलब ४४ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । यो तथ्यांक अपरिस्कृत वित्तीय विवरणमा आधारित रहेको हुँदा लेखा परिक्षण गरिएको परिस्कृत वित्तीय विवरण प्रकाशित हुँदा भने लाभांश क्षमतामा केही तलमाथि हुनसक्ने सम्भावना भने कायम नै रहेको छ ।

बुधबारको बजार मूल्य अनुसार वाणिज्य बैकहरुमध्ये सबैभन्दा महंगो मूल्यमा एभरेष्ट बैंकको शेयर कारोबार भइरहेको छ । सबैभन्दा धेरै लाभांश क्षमता भएको एभरेष्ट बैंकको शेयर ७ सय ५० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । नेप्सेमा सबैभन्दा सस्तो मूल्यमा भने कुमारी बैंकको शेयर कारोबार भइरहेको छ । कुमारी बैंकको शेयर बुधबार झन्डै २ सय ४ रुपैयाँमा कारोबार भयो ।

नेटवर्थको आधारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै नेटवर्थ भने सरकारी स्वामित्व धेरै रहेको नेपाल बैंकको रहेको छ । नेपाल बैंकको नेटवर्थ २ सय ५९ रुपैयाँ ८१ पैसा छ भने बैंकको शेयर नेटवर्थ भन्दा पनि केही रुपैयाँ तल २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।