यसकारण अब शेयर बजार बढ्ने नै हाेः कृष्णमणि पराजुलीकाे विचार

Oct 17, 2024 11:14 AM Merolagani



नेपालमा मनाइने चाडवाड मध्ये दशैँं सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाड हो। यो चाड मनाउनकै लागि स्वदेश र विदेशबाट घर फर्किनेहरुको लर्को हुन्छ। दशैँमा आफ्नो क्षमता अनुसार खर्च गरिने भएकोले धेरथोर सबैले खर्च गरेका हुन्छन्। घर आउन नपाउनेहरुले पनि खर्च गर्नको लागि पैसा पठाएका हुन्छन्।

अझ वैदेशिक रोजगारीमा जानेहरुले त ठुलो रकम पठाएका हुन्छन्। वर्षमा करिब १३ खर्ब रुपैयाँ विप्रेषणबाट आउने गरेको छ। अधिकांश रकम दशैँलाई लक्षित गरेर असोज, कात्तिक महिनामा आउने गरेको छ। किनभने यही अवधिमा दशैँ तिहारजस्ता ठुला चाडपर्व पर्दछन् र स्वभावैले बढी खर्च हुने पनि गर्दछ।

दशैँको आगमन हुनुभन्दा केही अघिदेखि नै बजार तात्दै आएको हुन्छ। सामान्य अवस्थाको मूल्यभन्दा महंगो हुँदै गएको हुन्छ। व्यापार व्यवसाय फस्टाउने भनेको यही अवधि हो। कुन वस्तु बिक्री गर्दा बढी फाइदा र धेरै बिक्री गर्न सकिन्छ, त्यस किसिमका सामानले बजार लिएका हुन्छन्।

अहिले आन्तरिक उत्पादन न्यून भए पनि दशैँलाई मध्यनजर गरेर उत्पादन गरेका हुन्छन्। साधारण मानिसले पनि दशैँंको लागि विभिन्न किसिमका खर्चको जोहो मिलाएका हुन्छन्। मूलतः दशैँमा खर्च हुने भनेको नै लत्ताकपडा, खाद्यान्न, माछामासु, दानदक्षिणा, आदि हुन्। यी कुराहरुमा मन फुकाएर खर्च गर्नु पर्ने एक किसिमको परम्परा नै बसेको हुनाले सामान्य मानिस जसको नियमित आय स्रोत केही हुँदैन उनीहरु आर्थिक समस्यामा परेका हुन्छन्। ऋणं कृत्वा घृतं पिवेत् जस्तो बाध्यता हुन्छ उनीहरुलाई र जे जसरी भए पनि खर्च गर्नै पर्दछ दशैँ मनाउन।

दशैँको रौनक आगमन हुनु पहिलेदेखि नै बजार चलमलाउन थालेको हुन्छ। क्रमिकरुपमा आर्थिक गतिविधि बढ्दै गएको हुन्छ। जतिजति दशैँ नजिक आउँछ उतिउति बजार बढ्दै गएको हुन्छ। यो समयमा बजारमा कृत्रिम अभाव सिर्जना गरी व्यापारीहरुले आपूर्ति श्रृंखलामा अवरोध ल्याएका पनि हुन्छन्। सरकारले गर्ने बजार अनुगमन देखावटी मात्र हुन्छ। सरकारको क्षमताले भ्याएको हुँदैन। यसकारण उपभोग्य सामान महंगो हुनाले मूल्यवृद्धि तिब्र गतिमा उचालिएको हुन्छ। हुनेले मन फुकाएर खर्च गर्दछन् भने नहुने ऋण तथा सापटी लिएर भए पनि चाडपर्व मनाएकै हुन्छन्।

दशैँको खर्च व्यवस्थापन गर्नु पर्ने भएकोले यस अवधिमा शेयर बजारले पनि गति लिएको हुन्छ। खास गरेर साना लगानीकर्ता क्रियाशील हुन्छन्। मागभन्दा आपूर्ति बढेको हुन्छ। अर्थात किन्ने भन्दा पनि बिक्री गर्ने बढी देखिन्छन्। यसो हुनुमा खर्च व्यवस्थापन गर्नु पर्ने बाध्यता नै हुन आउँछ। सामान्य मानिससँग भएको अलि अलि शेयर पनि खर्च टार्नको लागि बिक्री गरेका हुन्छन्। यहाँ बिक्रीकर्ताको मुख्य उद्देश्य दशैँ खर्च व्यवस्थापन गर्नु हुन्छ भने खरिदकर्ताको उद्देश्य सस्तोमा शेयर खरिद गरेर केही दिन भित्रमा नै बढ्छ भन्ने आँकलन गरेका हुन्छन्। यस्तो गर्नु कुनै पनि खरिदकर्ताको लागि स्वभाविक पनि हुन आउँछ।

यो अवधिमा चलायमान हुने शेयर बजार क्षणिक हो। तत्कालको समस्या सुल्झाउन बिक्रीकर्ताले केही कम मूल्यमा बिक्री गरे पनि निरन्तर रुपमा शेयर बजार ओरालो नलाग्न सक्छ। यहाँ के कुरा बुझ्नु पर्दछ भने चाडवाडको शेयर बजार अर्थतन्त्रमा आएको सुधारको कारणले गर्दा उकालो लागेको हुँदैन र सुधार नभएको कारणले पनि ओरालो लागेको हुँदैन। यो अवधिको शेयरको प्रकृति अलि फरक किसिमको हुने गर्दछ। देशको अर्थतन्त्र र कम्पनीको अवस्था भन्दा पनि बिक्रीकर्ताको बाध्यता र खरिदकर्ताको उद्देश्यमा भर परेको हुन्छ। त्यसकारण दशैँको शेयर बजारलाई आँकलन गरेर भविष्यको अपेक्षा गर्नु स्वभाविक नभए पनि दशैँ पछिको शेयर बजार क्रमिक रुपमा बढ्ने नै हुन्छ। किनभने दशैँ पछि आर्थिक क्षेत्र लगायत उद्योग तथा व्यवसायहरु सञ्चालनमा आउँछन्। यसको प्रभाव शेयर बजारमा स्वतः परेको हुन्छ।

जहिले पनि शेयर बजार सेन्सेटिभ नै हुन्छ। सानोतिनो घटना, परिवर्तन, नीति तथा कार्यक्रमले धेरै तलमाथि ल्याउने गर्दछन्। अहिले शेयर बजार उचालिनुको कारण दशैँ तिहारजस्ता चाडपर्वको प्रभाव नै हो। पूँजीबजार प्रभावकारी नभए पनि शेयर बजारले गतिलिन सक्ने यस्तै अवस्थामा हो। नेपालको पूँजी बजार अहिले पनि कमजोर नै छ। त्यसकारणले गर्दा शेयर बजार कसरी अघि बढ्छ भन्ने कुरा अनिश्चित नै हुन्छ। कुनै कम्पनीको शेयर मूल्य बढ्नु पर्ने कुनै कारण नहुँदा पनि बढेको हुन्छ भने कतिपय कम्पनीको बढ्नै पर्ने आर्थिक सूचाकांक देखिए पनि बढेका हुँदैनन्। भनिन्छ यस्तो हुनु भनेको ईन्साइडर टे«डिङ तथा चलखेल नै हो। यस प्रकारका समाचारहरु पनि आई नै रहेका हुन्छन् र कतिपय अवस्थामा मुद्दा पनि चलेको अवस्था छ।

चाडपर्वको समयमा लामो बिदा हुने र आर्थिक गतिविधि नहुनाले उत्पादनशील क्षेत्र पनि निष्क्रिय भएको हुन्छ। विकास निर्माणका कार्यहरु सञ्चालन भएका हुँदैनन्। तर, अनुत्पादक गतिविधिहरु भएका देखिन्छन्। पूँजीगत खर्च बढाउन नसकिने र अनुत्पादक तथा उपभोग खर्च बढ्दा अर्थतन्त्रमा असर परेको हुन्छ।

अहिले शेयर बजार बढिरहेको भए पनि सँधै यही अवस्थामा रही रहन्छ भन्न सकिँदैन। किनभने अझै पनि अर्थतन्त्रका अधिकांश सूचकहरु कमजोर नै रहेका देखिन्छन्। शेयर बजार सकारात्मक हुनको लागि त देशको समग्र आर्थिक प्रणालीमा सुधार आउनु पर्दछ। तबमात्र शेयर बजार स्थायी र दिगो हुन सक्दछ। चाडपर्वमा सकारात्मक देखिने शेयर बजार तदर्थ अथवा अस्थायी हो।

चाडपर्वको अघिको शेयर बजारले बिक्रीमा दबाब दिएको हुन्छ भने चाडवाड पछिको शेयर बजारले लगानी खोजेको हुन्छ। तर, लगानीकर्ता आकर्षित हुन भने केही समय लाग्ने नै हुन्छ। चाडबाड पछिको सामान्य अवस्थामा शेयर बजार बढेकै हुन्छ यदि अन्य कुरा यथावत रहन्छन् भने। बुझ्न पर्ने कुरा के छ भने लामो समयसम्म शेयर बजार बन्द भएको हुनाले खरिदकर्ता र लगानीकर्ता दुबै अत्यधिक तिर्खाएका हुन्छन्। त्यसकारण अबको शेयर बजार भनेको बढ्ने नै हो। यसलाई निरन्तरता दिन सम्बन्धित सबै पक्षले सकारात्मक भूमिका खेल्नु नै पर्दछ। यो अवधिमा खरिद गरिएको शेयरबाट निश्चय नै अपेक्षित उपलब्धि प्राप्त गर्न सकिने नै हुन्छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।